लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा कुलोको पहिरोले कच्ची धन्सार भत्कँदा चार जना घाइते भएका छन्।
लमजुङ प्रहरीका अनुसार गएको साउन १२ गते राति चितिखोलाबाट भाटबेशीतर्फ ल्याएको कुलो भत्किएर पहिरो जाँदा स्थानीय विष्णु दत्त सुवेदीको दुई तले ढुङ्गा माटोले बनेको कच्ची धन्सार पूर्ण रूपमा क्षति भएको छ। उक्त धन्सार भित्र मानिसहरू सुतिरहेको अवस्थामा पहिरोले पुरेको थियो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले पुरिएका सबै मानिसहरूको उद्धार गरी तत्काल उपचारका लागि चिसंकू स्वास्थ्य चौकी रामबजार पठाएको थियो।
घटनामा घाइते हुनेहरूमा लमजुङको मर्स्याङदी गाउँपालिका-१ नायू घर भई हाल मध्यनेपाल नगरपालिका-७ भाटबेशी बस्ने ५० वर्षीया शुक माया विक (शरीरमा भित्री चोट, अवस्था मध्यम), ५९ वर्षीय टिक बहादुर विक (बाहिर चोट नभएको, अवस्था गम्भीर), १५ वर्षीया बिनिता विक (भित्री चोट, अवस्था गम्भीर) र १६ वर्षीया अस्मिता विक (भित्री चोट, अवस्था मध्यम) रहेका छन्।
सामान्य उपचारपछि चारै जना घाइतेलाई थप उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको छ। घाइतेहरूसँगै विष्णु दत्त सुवेदी पनि अस्पताल गएका छन्।
यसैबिच, उक्त धन्सारमा एउटा बाख्रा समेत पुरिएको आशङ्का गरिएको र यस विषयमा थप खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित: १२ श्रावण २०८३ ०५:५९ मंगलबार





