१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

बिना हल्लीखल्ली नवलपुरमा जारी एउटा भेला: ‘महिला नै पहिला’

तस्बिर: देशव्यापी महिलावादी भेला। तस्बिर: दिनेश सुवेदी/नागरिक

-घर चलाउने महिलाले देश चलाउन सक्छिन्।

-कथामा रानी, परिवारमा जननी तर राजनीतिमा छैनन् नि ?

-‘तिम्रो घर मैले चलाउनुपर्छ तर देश तिमीले चलाउँछौ भनेर कसरी विश्वास गरूँ ?’

-चौरासीमा महिला हुनुपर्छ पहिला।

-आसन, भाषण, शासनमा हुनुपर्छ महिला।

भर्खरै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारीमा महिलाको प्रतिनिधित्व सन्तोषजनक हुन नसकेको गुनासोसहित महिलावादी अभियन्ताहरूको देशव्यापी महिलावादी भेला सुरु भएको छ। न चुनाव, न त कुनै दलको अधिवेशन। न सुरक्षाकर्मीको कुनै उपस्थिति, न त कुनै हल्लाखल्ला। बुधबारदेखि नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ स्थित पद्मालयमा सातै प्रदेशका करिब ५ सय महिलावादीहरूको उपस्थितिमा दुईदिने देशव्यापी महिलावादी भेला चलिरहेको छ।

भेला बिहीबारसम्म चल्नेछ। देशभरका महिलावादी अभियन्ताहरूको उपस्थितिमा जारी भेलामा विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्। अन्तरपुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा आउँदो २०८४ को निर्वाचनमा ‘महिला नै पहिला’ भन्ने उद्देश्य अनुसार २०८० देखि २०८४ सम्मका लागि अनुपम अभियान सुरु गरिएको हो। खास गरी यो अभियानले न्यायोचित समतामूलक समाज निर्माण गर्न टेवा पुर्‍याउने लक्ष्य लिएको छ, जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहनेछ।

‘घर चलाउने महिलाले देश चलाउन सक्छिन्। २०८४ मा महिला हुनुपर्छ पहिला।’ स्वतःस्फूर्त रूपमा एउटा अनुपम अभियानमा लागेका महिलाहरूले नवलपुरको पद्मालयमा उत्सव मनाए। ठूला दलहरूको राष्ट्रिय सम्मेलनको झल्को दिने अनुपम अभियानले सबै दल विशेषका महिलालाई एउटै ठाउँमा जोडेको छ। यतिबेला सहरदेखि गाउँसम्म, महिला जनप्रतिनिधिसम्म एकबद्धता बढ्दो छ। हजारौँ महिलाहरू गोलबद्ध भई सुरु गरिएको यो अभियानलाई नेतृत्व अन्तरपुस्ता महिलावादी मञ्चले गरेको छ।

विभिन्न गीत–कवितासँगै स्वतःस्फूर्त अभियानमा आएका विभिन्न तहका जनप्रतिनिधि र अभियन्ताहरूले गत वर्ष हस्ताक्षरसहित राजनीतिक खबरदारी गरेका थिए। संस्थागत विधान, चुनाव, अधिवेशन बिना गठन गरिएको अनौपचारिक समूहले ताप्लेजुङदेखि दार्चुलासम्म, झापादेखि कञ्चनपुरसम्म अनि पहाडको रोल्पा, रुकुमदेखि तराईको दाङसम्म अनुपम अभियान सञ्चालन गरिरहेको छ। अभियानमा हजारौँ महिला समूहहरूले समर्थन र ऐक्यबद्धता व्यक्त गरिरहेका छन्।

अभियानको सुरुवात नागरिक आवाजका संस्थापक एवं महिलावादी महिला रीता थापाले गरेकी हुन्। उनले जीवनको उर्जाशील समय महिला सशक्तीकरण र शान्ति निर्माणमा खर्चिएकी छन्। उनले भर्खरै सम्पन्न निर्वाचनमा दलहरूले प्रत्यक्षतर्फ महिलालाई अवसर नदिएकोमा गुनासो गरिन्। ‘पितृसत्ताको नाङ्गो नाच छ। महिलालाई समानुपातिकतर्फ थन्क्याउनु गलत हो।’ अवसर पाएमा महिलाले गर्न सक्छन् भन्ने उदाहरण दिँदै उनले भनिन्, ‘जनआन्दोलनपछि महिलाको नेतृत्वमा सम्पन्न निर्वाचनको शान्तिपूर्ण सफलताले “घर चलाउने महिलाले देश चलाउन सक्छिन्” भन्ने नारालाई पुष्टि गरेको छ।’

बुधबार सुरु भएको देशव्यापी महिलावादी भेलामा सहभागी महिलाहरूले ‘२०८४ मा महिला नै पहिला’ भन्ने अभियान आफूलाई लागेको बताउँदै उत्साहित भएको बताए। अघिल्लो वर्ष यात्रै यात्रामार्फत अभियान सञ्चालन गरेका अभियन्ताले गत एक वर्ष राजनीतिक खबरदारी गरेको नागरिक आवाजका कार्यालय प्रमुख डा. सुसन रिजालले बताए।

‘अभियानले सार्थकता पाउँदै गएको छ। हामी उत्साहित छौँ। अभियानको उद्देश्य महिलाहरूका लागि मिशन २०८४ नै हो। मुख्य दलका केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित महिलाको अर्थपूर्ण सहभागिताका लागि ज्ञापनपत्र समेत बुझाइएको छ।’

७७ जिल्लामा सुरु गरिएको अभियानका लागि २ सय ३६ कार्यक्रम सम्पन्न गरिएका थिए भने उक्त अभियानमा हजारौँ महिलाको सहभागिता भएको आयोजकले बताएका छन्। राज्यका सबै तहहरूमा महिलाको समानुपातिक र प्रतिनिधिमूलक/अर्थपूर्ण सहभागिता बढाउन सहयोग गर्ने तथा नेपालमा विकास कार्यलाई आत्मनिर्भर र सम्मानजनक बनाउन सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ। दुई दिनसम्म चल्ने भेलामा जनआन्दोलन अभियन्ता लगायतसँग प्यानल छलफल, कार्यपत्र प्रस्तुति, अघिल्ला वर्षहरूको गतिविधि तथा भर्खरै सम्पन्न निर्वाचनको समीक्षा लगायतका कार्यक्रमहरू हुनेछन्।

प्रकाशित: १२ चैत्र २०८२ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App