२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सिद्धपोखरी पुनर्निर्माणमा जनश्रमदानको लर्को

तस्बिर: कृष्ण किसी/नागरिक

भक्तपुरका धेरै ऐतिहासिक पोखरीहरुमध्ये सवैभन्दा आकर्षक अनि चर्चित पोखरीको नाम हो सिद्धपोखरी । यही सिद्धपोखरी अहिले पुननिर्माणको क्रममा छ । पोखरीको चारैतिरको पेटी पुननिर्माण कार्य अहिले धमाधम चलिरहेको छ ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित सिद्धपोखरीको पेटी पुनर्निर्माण कार्यमा स्थानीयवासी, विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागितासँगै जनश्रमदानको लर्को लागेको छ । ऐतिहासिक पोखरीको पेटी पुननिर्माणमा जनश्रमदान गर्न दैनिक मानिस जाने गरेका हुन् ।

पोखरीको पेटी स्थानीय कृष्णबहादुर दुगुजूको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिको अगुवाईमा पुनः निर्माण भइरहेको हो । यसका लागि उपभोक्ता समितिले दक्ष कामदारहरु राखेर दैनिक काम गराइराखेको छ । तर पनि बाँंकी अदक्ष कामदारहरुका लागि उपभोक्ता समितिले सार्वजनिक रुपमा जनश्रमदानको आह्वान गरेको थियो । त्यही आह्वान अनुसार उपभोक्ता समितिलाई पूर्व जानकारी अनुमति लिइ दैनिक जनश्रमदान गर्नेहरु त्यहाँं पुग्ने गरेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष दुगुजूले आवश्यकता अनुसार जनश्रमदान गर्नेहरुलाई पालो दिंदै आएको जनाए । हाम्रो आह्वान अनुसार पहिला उनीहरुले हामीलाई सम्पर्क गरेका हुन्छन्, उनले नागरिकसँंग भने, अनि त्यसपछि आवश्यकता अनुसार हामी उनीहरुलाई बोलाउँंछौं ।

दैनिक केकस्तो संख्यामा अदक्ष जनश्रमदान गर्ने मानिस चाहिन्छ त्यही अनुसारको इष्टमेट गरेर जनश्रमदान गर्न चाहनेहरुलाई श्रमदान गर्न दिने गरेको उनले सुनाए । उनका अनुसार श्रमदान गर्न विशेष गरेर भक्तपुर नगरका विभिन्न संघसंस्था, स्कुल कलेजका विद्यार्थी, स्काउट, टोल कमिटीलगायतबाट समूह समूहमा आइ श्रमदान गरिरहेका छन् । उनीहरुले त्यस क्रममा दिउँंसो खाजासम्म आफूहरुले नै ल्याई आउने गरेको उनले सम्झे । 

सिद्धपोखरी वरपरको पेटी संरक्षण तथा पुनर्निर्माणका लागि सुरु गरिएको अभियानमा नगरवासी उत्साहपूर्वक सहभागी भएका छन्, स्थानीय समाजसेवी लक्ष्मीनारायण राजलवट भन्छन्, बिहानैदेखि स्थानीय युवा, ज्येष्ठ नागरिक, सामाजिक अभियन्ता तथा विभिन्न टोल सुधार समितिका सदस्यहरू श्रमदानमा जुटेका देखिन्छन् ।

स्थानीयवासी सिद्धपोखरी भक्तपुरको ऐतिहासिक पहिचान र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताउँंछन् । यही भावनाका साथ समुदाय स्वयं पुनर्निर्माण अभियानमा सहभागी भएको उनीहरूको भनाइ छ ।

पुनर्निर्माण कार्यअन्तर्गत क्षतिग्रस्त पेटी मर्मत, ढुंगा बिछ्याउने, सरसफाइ तथा संरचनागत सुधारका कामहरू भइरहेको छ । अभियानमा सहभागीहरूले श्रमदानमार्फत सम्पदा संरक्षणमा नागरिकको प्रत्यक्ष योगदानले विकास निर्माणमा स्थानीय स्वामित्वको भावना बलियो बनाएको बताएका छन् ।

भक्तपुर नगरपालिकाले पनि ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै सिद्धपोखरी क्षेत्रको दीर्घकालीन संरक्षण तथा सौन्दर्यीकरणका लागि आवश्यक सहयोग गरिरहेको जनाएको छ । यसका लागि नगरपालिकाले आवश्यक मात्रामा बजेट राख्ने योजनाका साथ काम भइरहेको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँंछन् । हाललाई ८५ लाख बजेटबाट काम भइरहेको जनाइएको छ । पोखरीको पुननिर्माण कार्य भदौ महिनाभित्र सम्पन्न गर्ने योजना राखिएको छ ।

इतिहासविद्हरूका अनुसार सिद्धपोखरी भक्तपुरको महत्वपूर्ण ऐतिहासिक सम्पदा हो । प्राचीनकालदेखि धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा रहेको यस पोखरीले भक्तपुरको पहिचान बोकेको छ । यो पोखरी हेर्नकै लागि मात्रै भक्तपुर मात्रै नभई काठमाडौं, ललितपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाहरुबाट पनि दैनिक सयौं मानिसहरु आउने गर्दछन् ।

जनश्रमदानमार्फत भइरहेको पुनर्निर्माण कार्य सम्पन्न भएपछि सिद्धपोखरी क्षेत्र थप सुरक्षित, व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरिएको छ । सम्पदा संरक्षणमा स्थानीय समुदायको उल्लेखनीय सहभागिताले भक्तपुरमा सामुदायिक सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गरेको सरोकारवालाहरूको भनाइ छ ।

पोखरीको पेटी पुननिर्माण सुरु गर्नुअघि पोखरीमा रहेको पानी पोखरी वरिपरिका अन्य पोखरीहरुमा पानी तानेर पठाइएको थियो । पोखरीको पानी सुकाउन मात्रै दुई महिना पाँंच दिन लागेको उपभोक्ता समितिका पदाधिकारीहरुले बताए । यहाँंको पोखरीको पानी मात्रै नभई माछाहरु पनि अन्य पोखरीहरुमा सारिएको थियो । अहिले पोखरीमा पानी सुकाइएकाले पोखरी भित्रको हिलो माटो पनि निकालेर फाल्ने काम भइरहेको छ ।

प्रकाशित: ११ असार २०८३ १९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App