२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

भोकसँग जुध्दै होल्डिङ सेन्टरका सुकुम्बासी परिवार

बिरामी भएर ओछ्यानमा थलिएका शक्तिमान। तस्बिरः गणेश/नागरिक

कोहलपुरको नयाँ बसपार्कस्थित टर्मिनल भवनको तेस्रो तलामा आइतबार दिउँसो ३३ वर्षीय शक्तिमान घर्तीमगर ओछ्यानमै थलिएका थिए। शरीर कमजोर देखिन्थ्यो, अनुहारमा चिन्ता झल्किन्थ्यो। नजिकै उनकी श्रीमती भूमिसरा घर्तीमगर ११ महिनाकी बालिकालाई काखमा च्यापेर ल्याइएका सामान मिलाउँदै थिइन्। ११ वर्षीय छोरा भने अन्य बालबालिकासँग भवनको कुनातिर खेलिरहेका थिए।

शनिबार मात्रै डुडुवा क्षेत्रको सुकुम्बासी बस्ती खाली गराइएपछि उनीहरू नगरपालिकाले व्यवस्था गरेको होल्डिङ सेन्टरमा आइपुगेका हुन्। घर छाड्ने बेला बोकेर ल्याएको थोरै चामल र खाद्यान्न नै अहिले उनीहरूको सहारा बन्यो। शनिबार साँझ, आइतबार बिहान र साँझ खाँदा अब मुस्किलले एक/दुई छाक पुग्ने अन्न बाँकी छ। त्यसपछि के खाने भन्ने चिन्ता उनीहरूको आँखामा प्रस्ट देखिन्छ। ‘उहाँ (श्रीमान्) बिरामी हुनुहुन्छ, काममा जान सक्नुहुन्न,’ भूमिसराले भनिन्, ‘म बच्चा स्याहार्नै व्यस्त छुँ। अब खाद्यान्न सकिएपछि के गर्ने थाहा छैन।’

‘हाम्रो पीडा आर्थिक अभावको कथा मात्र होइन,’ उनी भन्छिन्, ‘निरन्तरको मानसिक तनाव र असुरक्षाको पनि छ।’ चार वर्षदेखि शक्तिमान सुगर रोगबाट पीडित छन्। सात वर्षअघि एक सन्तान डुबेर मृत्यु भएपछि परिवार अझै मानसिक आघातबाट बाहिर निस्किन सकेको छैन। त्यही पीडाबीच आठ महिनाअघि मात्रै उनीहरूले नयाँ बसोबासको खोजी गरेका थिए। अहिले फेरि विस्थापनको अर्को चोट आइपरेको छ। नयाँ बसपार्कको टर्मिनल भवन अहिले अस्थायी आश्रयस्थल बनेको छ। पहिलो तलामा ६७ जना र तेस्रो तलामा ४८ जना बसिरहेका छन्। तर, भवनभित्र छिर्दा सबैभन्दा बढी सुनिने शब्द हो, ‘खाना’।

शान्तिनगरबाट आएकी ३३ वर्षीया राधा गिरीको कथा पनि फरक छैन। ‘हामीलाई सधैँका लागि सुकुम्बासी भएर बस्न मन छैन,’ उनले भनिन्, ‘तर अहिले खाना खाने समस्या भयो। हिजो साँझ पनि राम्रोसँग खान पाएनौं।’ बस्ती खाली गर्ने त्रासले उनी हप्ता दिनदेखि ज्यालादारी काममा जान सकेकी छैनिन्। ‘सबै दिन काम पाइँदैन। पाए पनि महिलालाई कम ज्याला दिन्छन्,’ उनले भनिन्, ‘हप्ता दिन काममा जान नपाउँदा पैसा पनि छैन, खाद्यान्न पनि सकियो।’ राधाको परिवारसँग एक किलो चामल मात्रै बाँकी छ। उनका छोरा कक्षा ८ मा पढ्छन्। विद्यालयको पढाइ खर्च धान्न हम्मेहम्मे भएको छ।

होल्डिङ सेन्टरमा वृद्धवृद्धाको अवस्था झन् कठिन छ। शान्तिनगरबाटै शनिबार आइपुगेकी ७८ वर्षीया खगिसरा गिरी भवनको एक कुनामा चुपचाप बसिरहेकी थिइन्। दम, प्रेसर र सुगरकी बिरामी उनीसँग अहिले न औषधि किन्ने पैसा छ, न खान अन्न। डेढ वर्षअघि श्रीमान् मोति गिरीको मृत्यु भएपछि उनी छोराको सहारामा थिइन्। तर छोरा आफैँ मानसिक समस्याबाट पीडित छन्। ‘शनिबार आधा किलो चामल ल्याएर दुई छाक टारेँ,’ उनले सुनाइन्, ‘अब न पैसा छ, न चामल।’

जुम्लाबाट वर्षौंदेखि यहाँ बस्दै आएकी कल्पना कामी पनि अहिले होल्डिङ सेन्टरकै भीडमा छिन्। शान्तिनगरबाट आएकी झुक्री थरुनीलाई यहाँ आएको तीन दिन भयो। उनी भन्छिन्, ‘आफन्तले ल्याइदिएका सामानले अहिलेसम्म गुजारा चलिरहेको छ, तर अब कति दिन पुग्ला ?’ होल्डिङ सेन्टरभित्र कतै साना बालबालिका खेलिरहेका छन्, कतै वृद्धवृद्धा चुपचाप भित्तामा अडेस लागेर बसेका छन्। कसैले सिरानीमुनि चामलको सानो पोको लुकाएका छन्।

नगरपालिकाले सुकुम्बासी बस्ती हटाएर वास्तविक भूमिहीन र सुकुम्बासीलाई अस्थायी रूपमा राख्न होल्डिङ सेन्टरको व्यवस्था गरेको छ। यहाँ पानी, शौचालय, सरसफाइ कर्मचारी र उपचारका लागि मेडिकल टोली खटाइएको छ। बिरामीको सामान्य उपचार भइरहेको छ। तर, खाद्यान्न व्यवस्थापनको विषय भने अझै अन्योलमै छ। होल्डिङ सेन्टर व्यवस्थापन संयोजक नरेश वान्तावा राईका अनुसार अहिले तत्कालका लागि आधारभूत व्यवस्थापन गरिएको भए पनि खाद्यान्न उपलब्ध गराउने निर्णय भएको छैन। ‘पानी, शौचालय, सरसफाइ र मेडिकल टोलीको व्यवस्था गरेका छौं,’ उनले भने, ‘तर खाद्यान्नको विषयमा कार्यपालिका बैठकले निर्णय गर्नुपर्ने हुन सक्छ। अहिले तत्काल त्यस्तो व्यवस्था छैन।’

नगरपालिकाको यो अन्योलबीच होल्डिङ सेन्टरमा बसेका परिवारहरू भोकसँग जुधिरहेका छन्। सार्वजनिक जग्गा खाली गराउने सरकारी अभियानले उनीहरूलाई छानोमुनि त ल्यायो, तर भान्सामा अन्न राख्न सकेन। वृद्धवृद्धालाई औषधि चाहिएको छ, बिरामीलाई खाना चाहिएको छ, आमालाई बच्चाका लागि दूध चाहिएको छ। तर, भवनभित्र अहिले सबैभन्दा धेरै अभाव अन्नकै छ। छानोको व्यवस्था राज्यले गरिदिएको छ, तर पेटको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अझै उत्तरविहीन छ।

प्रकाशित: २८ वैशाख २०८३ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App