३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

सरुवा भएको ५५ दिनपछि हाजिर हुने हाकिमलाई घडी र भित्तेपात्रो

कालीकोटको महावै गाउँपालिकाले ५५ दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्तेपात्रो उपहार दिएको छ। गाउँपालिका अध्यक्ष  खेमबहादुर सिंहले समय मापनका लागि घडी र भित्तेपात्रो उपहार दिएका हुन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ५५ दिनपछि प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा हाजिर हुन पुगेपछि अध्यक्ष खेमबहादुर सिंहले घडी र भित्तेपात्रो उपहारस्वरूप दिएका हुन्। ‘सरुवा भएको ५५ दिनपछि गाउँपालिकाको कार्यालयमा हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्तेपात्रो उपहार दिएका छौँ’, अध्यक्ष सिंहले भने, ‘महावै गाउँपालिकाले पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत पाएकोमा प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनै ५५ दिन लगाएपछि समय र मितिको ख्याल राखेर जनताप्रति उत्तरदायी ढंगले काम गर्न घडी र भित्तेपात्रो उपहार दिएका हौँ’, उनले भने।

कर्णालीका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाउन धेरै कठिन रहेको उनले बताए। उनले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको लामो अनुपस्थितिले सेवा प्रवाह, विकास निर्माण तथा प्रशासनिक कामकाज प्रभावित हुने भएकाले समयमै जिम्मेवारी सम्हाल्नुपर्ने आवश्यकता औँल्याए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत कार्यालय पुग्न महिनौँ लगाउने परिपाटी चलिआएको छ। निजामती सेवा नियमावली २०५० को नियम ३९ मा सरुवा भएको कार्यालयमा हाजिर हुने र नियम ४० मा सरुवा भएको २१ दिनभित्र हाजिर नभएमा कारबाही गरिने उल्लेख छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई २०८२ चैत १९ गते सरुवा गरेको थियो। उनी २०८३ जेठ १३ गते महावै गाउँपालिकाको कार्यालयमा हाजिर भएका छन्।

प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको कर्मचारी समयमै कार्यक्षेत्रमा पुग्दा कार्यसम्पादनमा समेत राम्रो हुने बताए। उनले मन्त्रालयले अनिवार्य हाजिर हुन ताकेता गरिरहेको तर धेरैको हकमा ढिला हाजिर हुने गरेको बताए।

प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालाले भने आफूले घडी र भित्तेपात्रो उपहार दिएको विषयमा जिम्मेवार बनेको बताए। उनले निजामती सेवा नियमावली २०५० को नियम ३६ को ३ अनुसार ५० वर्ष उमेर पुगेका कर्मचारीलाई ‘क’ वर्गको भौगोलिक क्षेत्रमा सरुवा नगर्ने उल्लेख गरेको हुँदा कतै सरुवा रोक्न सकिन्छ कि भनेर ढिलाइ गरेको बताए।

महावै गाउँपालिकामा ढिलो पुगेका अधिकृतलाई गाउँपालिका अध्यक्षले घडी र भित्तेपात्रो उपहार दिएर ढिलो उपस्थितिको विषयलाई सार्वजनिक रूपमा संकेत गरेपछि यो घटना स्थानीयस्तरमा चर्चाको विषय बनेको छ। 

प्रकाशित: १९ जेष्ठ २०८३ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App