१७ माघ २०७९ मंगलबार
समाज

लमजुङ जिल्लाले नेता र मन्त्री पायो, विकास किन पाएन ?

डुम्रे वेसीशहर सडकखण्ड अन्तर्गत उदिपुर नजिकै केही दिन अघि बनेको वैकल्पिक बाटो। तस्बिर : अमृत थापा/नागरिक

लमजुङका स्थानीय मतदाताहरु जिल्लाबाट संसदमा जिताएकै व्यक्ति मन्त्री र मुख्य मन्त्री बनेपनि विकास नपाएको गुनासो गरिरहेका छन्।

यस अगाडिका निर्वाचनमा यहाँबाट जितेका एमालेका पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्य मन्त्री बने भने सांसद देव गुरुङ केन्द्र सरकारको मन्त्री। तर पनि जिल्लाले केही नपाएको आममतदाताको असन्तुष्ट देखिन्छन्। उही व्यक्तिहरु फेरि आकर्षक एजेण्डाका साथ घरदैलो गरिरहदा मतदाता भने विश्वस्त हुन नसकेका हुन्।

पृथ्वी यो क्षेत्रमा दुई पटक जिते पनि आठौ पटक प्रतिस्पर्धा गर्दैछन्। देव गुरुङ दुई पटक यो क्षेत्रबाट विजयी भइसकेका छन्। वेसीशहरका मतदाता प्रदिप धिताल ०५५ सालमा कालोपत्रे भएको डुम्रे बेसशहरको ४२ किमी सडक अहिले आवतजावत गर्न समेत कठिन बनेको र जिल्ला विस्तारै दुर्गम बनेको बताउँछन्।  

सडकको दुरअवस्था त छ नै आय आर्जन, पर्यटन र पूर्वाधारको विकासमा पनि जिल्लाले नेताहरुबाट नेतृत्व नभएकोमा स्थानीय चिन्तित छन्।

‘उम्मेदवारहरुबाट विकास गर्ने प्रतिवद्धता हिजो पनि आएको हो, तर जितेपछि ठोस काम भएन। नेता र मन्त्री पायो, जिल्लाले केही पाएन।’ धितालले भने।

फेरि उही व्यक्तिले जिल्लाका समस्या समाधान गर्दै दिगो विकासको नेतृत्व गर्लान् भन्नेमा उनले आशंका प्रकट गरे।  

मस्र्याङदी बहुमुखी क्याम्पसका प्राध्यापक विनोद न्यौपाने लमजुङ भौगोलिक हिसावले सुगम भएपनि छिमेकी हिमाली जिल्ला मनाङको जति पनि विकास नभएको बताउँछन्। ‘सांस्कृतिक पर्यटन प्रवद्धनमा ध्यान नजाँदा पर्यटनबाट लाभ लिन सकेन। स्थानीय उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र जिल्लालाई आर्थिक हिसावले बलियो बनाउने विषयमा नेतृत्वको ध्यान गएन।’ स्वास्थ्य, शिक्षा, सडक पूर्वाधारको थोरै विकास भएपनि गुणात्मक हिसावले हुन नसकेको उनले बताए। जिल्लामै आयआर्जनका लागि उद्योग सञ्चालन गरी युवा पलायन रोक्ने वातावरण नबनेको उनको भनाइ छ।  

स्थानीय उद्योगी रामकुमार श्रेष्ठका अनुसार जिल्लामा रोजगारीकै चरम समस्या छ। स–साना मझौला उद्योग र होटलमा गरी करीब चार सय जनाले मात्रै रोजगारी गरिरहेका उनले बताए। ‘पुँजी भएपनि बजारको समस्याले व्यवसायीहरु लगानी गर्न चाहिरहेका छैनन्। सडक सञ्चाल पनि राम्रो छैन।’ श्रेष्ठले भने।

डुम्रे देखि वेशीशहरसम्मको ४२ किमी सडक स्तरोउन्नति गर्ने काम सुरु भएपनि त्यसले गति लिन नसक्दा यात्रु र विदेशी पर्यटकले सास्ती खेप्दै आएका छन्। बर्षायाममा त सदरमुकाम नै सडक सञ्जालबाट विच्छेद हुने गरेको छ। जिल्लाको दिगो विकासमा नेतृत्वको अभाव खड्किरहेको देखिन्छ। पूर्वाधारको राम्रो विकास भएमा पर्यटन र कृषि साथै जलविद्युत आयोजनाबाट लाभ लिन सक्ने अवस्था रहेको श्रेष्ठले बताए।

विकासे एजेण्डामा छैन मतदाताको विश्वास

यहाँबाट उम्मेदवार बनेकाहरुको विकासे एजेण्डाप्रति आममतदाताको विश्वास देखिन्न। मतदाताहरुमा एजेण्डा भन्दा व्यक्ति रोज्ने अवस्था देखिएको छ। हिजो विकास नगरेको आरोप खेपेका मुख्य दलका नेताहरु माझ नयाँ अनुहारले पनि यहाँबाट राम्रै मत पाउने अवस्था छ।  

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार छन्। एक जना स्वतन्त्र सहित १० जना यो क्षेत्रमा चुनावी मैदानमा छन्। उनीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले पछ्याइरहेका छन्। अन्तराष्ट्रिय निकायमा विकासको काम गरेको अनुभवको दावी गर्ने केसीले आकर्षक एजेण्डा पनि अगाडि सारेका छन्।

स्थानीय तहको मतको आधारमा एमाले र गठबन्धन बरावर देखिन्छन्। तीन पटक यो क्षेत्रबाट लडेका देव गुरुङले दुई पटक जितेका छन्। पृथ्वी सुब्बाले भने यो क्षेत्रमा दुई पटक जितेका छन्। दुई केन्द्रीय नेताको प्रतिस्पर्धा प्रतिष्ठाको लडाइँ पनि बन्दै छ। राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसी भने दुई पार्टीको मत घटाउने गरी तेस्रो बन्ने अवस्थामा छन्।

स्थानीय तहको निर्वाचनमा वडामा एमाले अध्यक्ष उम्मेदवारले ४० हजार १ सय ९७ र सत्ता गठबन्धनले ४१ हजार ४ सय ३ मत पाए। कांग्रेसको ३५ हजार २ सय ७६ र माओवादी केन्द्रको ६ हजार १ सय २७ मत आएको थियो। ०७४ सालको प्रतिनिधिसभा समानुपातिक तर्फ मतले पनि गठबन्धन अगाडि छ। एमालेले ३३ हजार ३ सय ९ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार २ सय २९ मत पायो। माओवादी केन्द्रले ७ हजार ८ सय ५ मत र राप्रपाले १ हजार ४ सय ७७ मत पायो।

सुब्बालाई प्रदेशकै सहकर्मीले नसघाएको गुनासो छ। यता प्रदेश दुवैमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार भएकाले देव गुरुङलाई सहयोग गरिरहेका छन्। नेपाली कांग्रेस (बीपी ) बाट यो क्षेत्रमा उम्मेदवार बनेका लक्ष्मीकान्त पौडेलले पनि देव गुरुङलाई सघाउने भन्दै प्रतिस्पर्धाबाट एक हप्ता अगाडि मात्रै बाहिरिएका छन्। पौडेल कांग्रेसकै पुराना कार्यकर्ता हुन्।

०७४ सालमा बामगठबन्धनबाट प्रदेशका उम्मेदवार बनेका सुब्बा जितेपछि गण्डकी प्रदेशको मुख्य मन्त्री बनेका थिए। संघको सांसदमा देव गुरुङले जितेका थिए। सुब्बा स्थानीय हुन् भने देव मनाङबाट केही बर्षयता लमजुङमा बसाइँ सरेका छन्। विगतमा दुवै नेता सत्ता र शक्तिसँग नजिक रहेपनि जिल्लालाई केही नदिएको आरोप लागिरहेको छ।  

०६४ सालमा यहाँबाट जितेका पृथ्वी सुब्बा पर्यटन मन्त्री भएपनि यहाँको पर्यटन विकासले गति लिन नसकेको स्थानीयको गुनासो छ। त्यसबेला आदिवासी जनजाति आन्दोलनको अगुवाइ गरी उनले जातिवादी नेताका रुपमा पहिचान बनाएका थिए। दुई महिना अगाडि वेशीशहरको चुनावी कार्यक्रममा जातीय सद्भावलाई असर पार्ने अभिव्यक्ति दिएपनि यहाँका बाहुन क्षेत्रीहरुको उनीप्रति सहानुभूति कम भएको छ।

पृथ्वी र देव दुवै ६४ बर्ष र दुवै एउटै जातका भएकाले जनजातिबीचको रोचक प्रतिस्पर्धा राष्ट्रिय राजनीतिमा समेत रोचक बन्दै छ। लमजुङमा १ लाख ३३ हजार ५ सय ५९ मतदाता छन्। जसमध्य ३४ प्रतिशत जनजातिको संख्या छ। जिल्लामा १ हजार ६ सय द्वन्द्व पीडित छन्। तत्कालिन माओवादीबाट पीडित उनीहरु गठबन्धनका उम्मेदवार देव गुरुङलाई भोट हाल्छन् भन्ने आशंका छ। उनी पीडितलाई विभिन्न आश्वासन दिएर थामथुम गर्ने प्रयास गरिरहेका छन्।

देवले प्राकृतिक स्रोतको उचित प्रयोग गर्दै पर्यटन, कृषि जलविद्युतको विकासलाई जोड दिएका छन्। उनले सुशासन संवृद्धि र हिजो अगाडि बढाएका विकासका एजेण्डालाई पूरा गर्ने बचन दिइएका छन्। सुब्बाले भने समानता, सुशासन, संघीयता कार्यान्वयन जस्ता विषयलाई मुख्य अजेण्डा बनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले पनि जिल्लाको समग्र विकास गर्ने अजेण्डा अगाडि बढाएका छन्। कृषि पर्यटन, जलविद्युतबाट लाभ लिने, आयआर्जन, उद्यम सीपको विकास, शैक्षिक गुणस्तर कायम गर्ने, सडक सञ्जालको विकास जस्ता एक्किृत विकासका योजनाले मतदाता रिझाउने प्रयास गरिहेका छन्।

 

को को भिड्दै छन् :

प्रकाशित: १ मंसिर २०७९ १९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App