७ वैशाख २०८१ शुक्रबार
समाज

नेपालगन्जमा घरभित्रै बम बिस्फोट, घटनास्थलमा फेला परेका दुई वटा बम डिस्पोज

नेपालगन्ज–१० भृकुटीनगरमा बुधबार राती बम डिस्पोजको तयारी गर्दै नेपाली सेनाको टोली। तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित स्वास्थ्य कार्यालय नजिक बिष्फोट पश्चात घरभित्र फेला परेका थप दुई वटा प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय दिवाकर बिक्रम मल्लको घरभित्र बम बनाउने क्रममा बुधबार बेलुका ८:१० बजेतिर बिष्फोट भएको थियो।

बिस्फोट लगत्तै सुरक्षाकर्मीको टोली कोठाभित्र पसेर हेर्दा थप दुई वटा प्रेसर कुकर बम भेटिएपछि नेपालगन्जको राँझास्थित बज्रदल गणमा कार्यरत नेपाली सेना आएर बुधबार राती साढे १० बजेतिर एउटा र राती ११ बजेतिर अर्को बमलाई सुरक्षित रुपले डिस्पोज गरेका हुन्। करिव २ सय मिटर टाढा खेतमा लगेर सेनाले बम डिस्पोज गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले घटनास्थलमा फेला परेका थप दुई वटा बमलाई सेनाको टोलीले निस्कृय पारेको जानकारी दिए। ‘घटनास्थलमा फेला परेका दुई वटा बमलाई सेनाको टोलीले राती डिस्पोज गर्यो,’ उनले भने।

बम बनाउने क्रममा बिस्फोट हुँदा उक्त घरमा डेरा गरी बस्ने नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका २ जना कार्यकर्ता घाइते भएका थिए। सल्यान बागचौर नगरपालिका वडा नम्बर २ निवासी विप्लव समुह निकट विद्यार्थी संगठनका बाँके अध्यक्ष डिल्लीबहादुर डि.सी (क्षेत्री) र सोही संगठनमा आवद्ध कैलाली घोडाघोडी–१ निवासी धर्मराज सुनार घाइते भएका हुन्। उनीहरु दुवै जनालाई भेरी अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचार गरिएकोमा बुधबार राती नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा लगेर भर्ना गरिएको डिएसपी घर्तीले जानकारी दिए। ‘दुवै जनाको अवस्था गम्भिर छ, दुवै जनालाई आईसियुमा राखेर उपचार भइरहेको छ,’ उनले भने।  

बम बिस्फोट भए लगत्तै उक्त घरबाट निस्केर अन्य ३ जना ब्यक्ति मोटरसाईकल चलाएर भागेको कुरा प्रत्यक्षदर्शीले बताए पनि प्रहरीले एकिन गरेको छैन। ‘घटनाको अनुसन्धान सुरु गरेका छौं, घटनामा संलग्न ब्यक्तिहरु घाइते भएको हुँदा उनीहरसँग विस्तृत कुरा लिन सकिएको छैन, सामान्य सोधपुछ मात्रै गरेका छौं, विस्तृत अनुसन्धानबाट पछि खुल्नेछ,’ घर्तीले भने ‘कोठाभित्र फेला परेका दस्तावेजका आधारमा उनीहरु विप्लव समुहका कार्यकार्य भएको पुष्टी भइसकेको छ।’

घटनास्थल रहेको घरको कोठाभित्र प्रेसर कुकरका टुक्रा, विष्फोटक पद्धार्थ, परिचय पत्र, कागजात, रसिद, पर्चा, पम्प्लेट लगायत पनि फेला परेको प्रहरीले जनाएको छ। उक्त घरमा विप्लपका कार्यकर्ता करिव एक वर्षदेखी डेरा गरेर बस्दै आएपनि मल्ल परिवारले उनीहरु कलेज पढ्ने बिद्यार्थी भएको कुरा मात्र थाहा पाएको प्रतिक्रिया दिएका छन्।

निर्वाचनको मुखमा भएको उक्त घटनापछि नेपालगन्ज उपमहानगर क्षेत्रमा त्रास फैलिएको छ। यही ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बम बिस्फोट गराउने योजना विप्लप समुहको रहेको उक्त घटनाले पुष्टी गरेको सुरक्षाकर्मी बताउँछन्।

प्रकाशित: १ मंसिर २०७९ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App