१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घरको छतभरि राताम्य खुर्सानी

त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्ग डोल्पाकी रमिता कुलालको घरको छत राताम्य भएको छ। माटो र ढुङ्गाको मिश्रणबाट निर्माण गरिएको घरको छानामा सुकाइएको स्थानीय जातको खुर्सानीले रङ्ग गाउँका छाना राताम्य देखिएको हो।  

कुलालका अनुसार १८ क्विन्टल खुर्सानी बारीमा उत्पादन भएको छ। कुलालले भनिन्, 'हाम्रो यहाँको खुर्सानी रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लाभरिलाई पुग्छ। भोटाने खुर्सानी (मच्य) भनेर चिनिने हामीले उत्पादन गरेको यो खुर्सानी धेरै बिक्री हुँने गर्दछ।' कुलाल जस्तै सरस्वती बुढाको घरमा यसवर्ष १२ क्विन्टल खुर्सानी उत्पादन भएको छ। अहिले उत्पादिन खुर्सानी सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ।  

वैशाखमा लगाएको खुर्सानी असोज, कात्तिक महिनामा टिपेर सुकाउने काम चलिरहेको बुढाले बताइन्। अग्लो डाडामा रहेको रङ्ग गाउँ सडक सञ्जालसँग जोडिएको छ। अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएका यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको बुढाले जानकारी दिइन्।  

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने रङ्ग गाउँ खुर्सानीको रातो रङ्गले हिउँदयामको कात्तिक र मङ्सिर महिनाभरि छत राता हुने गर्दछन्। आधुनिक प्राविधिकभन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरु ले त्यहीअनुसार खुर्सानी खेतीतर्फ लागेको स्थानीय कालीबहादुर बुढाले बताए।  

यहाँ दुई सय १४ घरधुरी रहेका छन्। तत्कालीन सुँ गाविसको वडा नं ७, ८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ४ बनेको छ। पूर्ववडा सदस्य हरिवान बुढाका अनुसार वडाभरि खुर्सानी राम्रो उत्पादन हुने गर्दछ। सानो रबरको एक जग खुर्सानी बिक्री गर्दा ७० पर्ने गर्दछ। एक क्विन्टल बिक्री गर्दा सात हजार दुई सय पर्ने गरेको बुढाले बताए। खुर्सानी बिक्री बाट स्थानीयले झण्डै दुई लाखजति आम्दानी गर्ने गरेको उनको भनाइ छ।  

गाउँमा बाट ढुवानीका साधनबाट त्रिपुराकोटस्थित बगरमा रहेका बजारमा बिक्री गर्ने गरिएको छ। सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेजति खुर्सानी उत्पादन गर्न मुस्किल हुँदै आएको स्थानीयवासी बताउँछन्। नगरपालिका र अन्य निकायले व्यावसायिकरुपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था, सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने स्थानीय भावना बुढाले बताए। रङ्ग गाउँ खुर्सानी मात्र होइन, स्याउको पनि स्थापित मानिन्छ।

मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित हुँदै आएको छ। त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै कार्यक्रम नभएको कृषि शाखाका जगतबहादुर रोकायले बताए। स्याउ र ओखरका लागि मात्र बजेट विनियोजन गरी काम भएको उनले बताए। रासस 

प्रकाशित: १९ कार्तिक २०७९ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App