तनहुँको ब्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर (८) लाई मंगलबार बेलुकी चितुवाले घरमै आएर आक्रमण ग¥यो। भैसी दुहुन गोठमा पुगेकी हजुरआमाको पिछा लागेका कुवँरलाई बेलुकी सवा ६ बजेतिर चितुवाले झम्टेको थियो। हजुरआमा भैसी दुहुँदै थिईन। गोठमा बत्ती थिएन। गोठतिरै खेलिरहेको बेला एक्कासी चितुवाले आक्रमण गरेर अभिनवलाई करिब दुइसयमिटर पर पु¥यायो। पछि खोजी गर्न गएको टिमले कुँवरको शव फेला पा¥यो।
कात्तिक लागेपछि तनहुँको बन्दीपुर र ब्यास नगरपालिका क्षेत्रमा चितुवाको आक्रमण निकै नै बढेको छ। यो अवधिमा दुइजना बालबालिकाको ज्यान पनि गईसकेको छ। गत कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ की ११ वर्षिया बालिकाको चिुतवाको आक्रमणमा परेर ज्यान गएको थियो। चितुवाको आक्रमणले गर्दा अहिले बन्दीपुर र ब्यास नगरपालिकाको सिमा क्षेत्रका बासिन्दा त्रसित छन्। कुनैपनि बेला चितुवाले आक्रमण गर्न सक्ने भनेर स्थानीयबासि बेलुकी परेपछि घरबाहिर निस्कन पनि त्रसित छन्।
जिल्ला वन कार्यालय तनहुँका सहायक वन अधिकृत नारायण कोइरालाका अनुसार मृतक अभिनवका बुबाआमा रोजगारीको लागि जापान छन्। ‘चितुवाले अहिले बन्दीपुर र ब्यास नगरपालिकाको सिमाना क्षेत्रमा निकै नै त्रसित बनाएको छ। स्थानीयलाई घर बाहिर निस्कन पनि त्रास छ,’ कोइरालाले भने, ‘साह्रै डरलाग्दो अवस्था सिर्जना भएको छ। बारम्बार गाउँमा चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि गाउँलेको होसहवास उडेको छ। चितुवाबाट सन्तान जोगाउन गाउँलेलाई गाह्रो भएको छ।’
सहायक वन अधिकृत कोइरालाका अनुसार २०७४ फागुन १ पछि अहिलेसम्मको अवधिमा तनहुँमा चितुवाको आक्रमणका २८ वटा घटना घटेका छन्। चितुवाको आक्रमणमा परेर यो अवधिमा मात्र १४ जना बालबालिकाको ज्यान गएको छ भने १५ जना बालबालिका घाइते भएका छन्। चितुवाको आक्रमणमा परेका ती सबैजसो बालबालिका ११ वर्ष भन्दा मुनिका छन्। अधिकांशलाई चितुवाले घरमै आएर आक्रमण गरेको कोइरालाले बताए। ‘चितुवाको आक्रमणले हैरान बनाएको छ । बालबालिका असुरक्षित बनेका छन्। सम्साँझै घरमै आएर आक्रमण गर्दा त्रास बढाएको छ,’ उनले भने।
‘पाँचवर्षको अवधिमा चितुवाबाट २८ वटा आक्रमणका घटना भएका छन्। हरेक पटकको आक्रमणमा बालबालिका घाइते भएका छन्। अहिलेसम्म समुहमा आक्रमण गरेको छैन। ती मध्ये १४ जनाको ज्यानै गयो,’ उनले भने, ‘केही बालबालिकालाई अभिभावकले चितुवाको मुखबाटै खोसेर पनि बचाएका छन्। अभिभावकको साहसले गर्दा कतिपय बालबालिकाको ज्यान जोगिएको छ।’ अधिक घटना २०७६ सालमा घटेको उनले बताए।
कोइरालाका अनुसार मंगलबार बेलुकी आक्रमणमा परेका कुँवर हजुरआमाको नजिकै गोठमै थिए। अध्यारो भईसकेको थियो। हजुरआमाले दिएको दूध पिउँदै खेलिरहेको बेला एकाएक चितुवाले आक्रमण गरेको उनले बताए। ‘यो क्षेत्र (बन्दीपुर र ब्यासको सिमाना)मा बाक्लो जंगल पनि छैन। तर, गाउँलेले खेती गर्न छाडेपछि बारिमा झाडी बढेको छ। चितुवालाई घासमा लुक्न सहज भएको छ,’ उनले भने, ‘चितुवाको पाइलाको डोब हेर्दा खासै ठुलो नभएको देखिन्छ। कमै उमेरको चितुवाले बालकलाई निशाना बनाएको छ।’ वन कार्यालयले मान्छेमाथि आक्रमण गरेका चितुवालाई पक्रन छिर्कन क्षेत्रमा खोर थापिएको छ। त्यस्तै बन्दीपुर क्षेत्रमा पनि खोर थाप्ने तयारी छ।
‘सबैतिर आक्रमण गर्ने चितुवा एउटै हो वा होइन भन्नेमा अन्योल भएको छ,’ उनले भने, ‘चितुवाको संख्या धेरै भएको अनुमान छ। एकातिर खोरमा परेपनि अर्काेतिर समस्या रहिरहन सक्छ।’ दुइवर्ष अघि पनि यस्तै आक्रमण बढेपछि वन कार्यालयले खोरमा पारेको चितुवालाई चितवन लगेर छाडेको थियो। तरपछि मान्छेमाथि आक्रमण रोकिएको थिएन।
कोइरालाका अनुसार चितुवाको आक्रमण बढ्नुमा आन्तरिक द्वन्द्व पनि कारण हुनसक्छ। उनका अनुसार चितुवाले निश्चित क्षेत्र बाँडेको हुन्छ। सबै चितुवा एउटै जंगलमा बस्दैनन। त्यस्तै जंगलमा खाना नपाउँदा पनि चितुवा आहाराको खोजीमा बस्ती पस्दा मानवमाथि आक्रमण गर्छ। आफै अश्वस्थ भएर वनमा सिकार गर्न नसकेपछि चितुवा बस्ती पसेर बालबालिकामाथि आक्रमण गर्न सक्ने उनले बताए।
वन कर्मचारीका अनुसार अभिभावकको निगरानी कम पाएका, वनजंगल र एकान्त बस्तीका बालबालिकामाथि चितुवाको आक्रमण बढी छ। ‘केही घटनामा अभिभावक सचेत हुँदा बालबालिकाको ज्यान पनि जोगिएको छ। अभिभावकले साहसका साथ चितुवाको मुखबाट खोसेर सन्तानको ज्यान पनि जोगाएका छन्,’ उनले भने। वन कार्यालयका अनुसार तनहुँका बन्दीपुर, भानु, शुक्लागण्डकी र आँबुखैरेनीमा बारम्बार जसो चितुवाले मान्छेमाथि आक्रमण गर्ने घटना दोहोरिएका छन्।
तनहुँका वन अधिकृत कोमलराज काफ्लेका अनुसार चितुवालाई पक्राउ गर्न ठाउँठाउँमा खोर राखिएको छ। अघिल्लो पटक बन्दीपुरमा चारवटा खोर थापिएको थियो। खोरमा पशुराखेर चितुवालाई पासो थापेपछि खोरमा परेको थिएन। त्यसअघि समाएको चितुवालाई अन्यत्र लगेर छाडेको भएपनि फर्केको आएको हुनसक्ने उनले बताए। ‘यो पटक नयाँ आठवटा खोर बनाएका छौ। घटना घटेको ठाउँको वरिपरि ती खोर राख्ने हो,’ उनले भने, ‘तनहुँमा चितुवाको समस्या निकै नै बढ्यो। बच्चा जोगाउनै सकस भयो। विद्यालय, वनजंगल आउजाउ गर्न त गाह्रो छ नै घरमै आएर आक्रमण गर्दा झनै त्रास बढ्दो छ।’
उनले मानवमाथि आक्रमण गर्ने चितुवाको लोकेसन नै पत्ता लगाउन नसकिएको बताए। ‘क्यामेरा ट्रयाप गरेर पनि पहिचान गर्न गाह्रो छ। किनकी क्षेत्र ठुलो छ। अब अन्तिम विकल्प भनेको पहिचान गरेर ‘सुट’ गर्ने हो,’ उनले भने, ‘त्यसबाहेक डार्टिङ टोली बोलाएर बेहोस गराउने र अन्यत्र लगेर छाड्ने हो।’ काफ्लेले चितुवाको आक्रमणको समस्या ठुलो बन्दै गएको बताए। त्यसैले राज्यले बजेट दिएर चितुवा गणना गरेर संख्या पहिचान गर्नुपर्छ। ‘चितुवाको संख्या नै पहिचान गर्नुपर्छ। मानव बन्यजन्तु द्वन्द्व वनको मात्र नभई स्थानीय तहको पनि समस्या हो। त्यसैले यो द्वन्द्व कम गर्न स्थानीय तहले पनि चाँसो दिनुपर्छ,’ उनले भने, ‘स्थानीय तहले मात्र नसकेमा प्रदेश सरकार पनि तात्नुपर्छ।’
प्रकाशित: १६ कार्तिक २०७९ ०९:२७ बुधबार