१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रेस काउन्सिलको स्पष्टीकरण अवज्ञा गर्दै निर्णय फिर्ता लिन आग्रह

नागरिक दैनिकको यही कात्तिक ३ गतेको अंकमा ‘कल केपीबा!’ शीर्षकमा व्यंगात्मक कार्टुन प्रकाशन गरेको विषयलाई लिएर प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेकोप्रति नेपाल पत्रकार महासंघ, महासंघको एसोसिएट संस्था कार्टुनिष्ट क्लब नेपाल र नागरिक दैनिकले गम्भीर आपत्ति जनाएका छन्।

यी संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरणप्रति आपत्ति जनाएका हुन्। ती संस्थाले पत्रकार आचारसंहिताको पूर्ण पालना गरी प्रकाशन भएको कार्टुनलाई काउन्सिलले कुनै व्यक्तिको लहडमा लागि नागरिक दैनिकलाई पत्र लेखेको ठहर गरेका छन्।

१५ गते मंगलबार प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई भेटी तिनै संस्थाका प्रतिनिधीले काउन्सिलको पत्रको अवज्ञा गर्दै निर्णय फिर्ता लिन आग्रह गरेका हुन्। उक्त आग्रहलाई अध्यक्ष बस्नेतले पनि स्वीकार गरी कार्टुन विधा एक महत्वपूर्ण विधा भएको भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

विज्ञप्ति अनुसार कार्टुन प्रकाशन भएको विषयलाई लिएर प्रेस काउन्सिल नेपालले नागरिक दैनिकका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोध्नु संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हो। पत्रकार आचारसंहिता पालनामा हामी तीनै संस्था गम्भीर रहेको प्रष्ट पार्दै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन प्रेस काउन्सिल नेपालसँग अनुरोध गरिएको छ।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव रबि मिश्र र नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेशका महासचिव रोयल आचार्यले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

प्रकाशित: १५ कार्तिक २०७९ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App