२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना?

सोह्र वर्ष अगाडिको त्यो आवाज प्रवलाल थापाको कानमा गुञ्जियो। चाडबाड सकिएसँगै खेतीबाली भित्र्याउने चटारोमा रहेका उनी खेतबारीमा गएका थिए। द्वन्द्वकालमा आइरहने बम बारुदका आवाज प्रवलालले बिसेका थिए। तर कात्तिक १२ गते शनिबारको दिन बिहानै बिर्सिएको त्यो आवाज मात्रै सुनिएन, उनको घरमा रुवाबासीसमेत चल्यो। यो घटना हो, कालिकोट तिलागुफा नगरपालिका १० रानाबडाको।  

नजिकै कोदो बारी थियो। शनिबार बिहानै त्यही कोदोबारी नजिकै केटाकेटी खेल्दै थिए। थापा आफ्नो धानबारीमा धान काटदै थिए। प्रवलालसँगै उनका तीनजना छोरी, श्रीमती र एकजना भाइ नाता पर्ने पनि उनीसँगै थिए। प्रवलालको छोरा सात वर्षीय कमल थापा, उनका भाइ जयलाल थापाका छोरा पाँच वर्षीय मुस्कान थापा, मुस्कानकी बहिनी तीन वर्षीया झरना थापा, चारवर्षीय सरस्वती थापा, दर्शना राना र अर्का एक बालकसमेत सँगै घरनजिकैको कोदोबारीमा खेल्दै थिए।  

चाडबाडको रौनकतामै रहेका परिवार र ती बालबालिकाले खेल्दै गरेको दृश्य देख्दा त्यस्तो कुनै ठूलै दुर्घटना होला भन्ने सोच थिएन प्रवलाललाई। केही हप्ता अगाडिको त्यत्रो बाढी र पहिरोको जोखिममा पनि सुरक्षित राखेका छोराछोरी द्वन्द्व सकिएको १६ वर्षपछि बम विस्फोटमा पर्लान् भन्ने कुनै डर थिएन। तर जुन कुराको डर थिएन त्यही कुराले पीडा दियो।  

भर्खरै चाडबाड सकिएकाले कामको चटारो उत्तिकै थियो। दिनभरि धान काटेर सक्ने योजना बनाएका प्रवलालको कानमा एक्कासि बम विस्फोटको आवाज आयो। करिब बिहानको साढे सात बजेको थियो। बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो प्रवलालको नजर आफ्नै घरतर्फ पर्यो। धुवाँ नै धुवाँले घरसमेत देखिएको थिएन। धुवाँ देखेपछि उनलाई छाँगाबाट खसेजस्तो भयो। उनको होस उड्यो। धान काट्दै गरेका प्रवलाल हतार हतार गरेर घरतिर दौडिए। जब प्रवलाल घरमा पुगे घटनास्थलमा भाइ जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको रहेछ। आफ्नो छोरासहित पाँचजना घाइते देखेपछि उनले केही सोच्नै सकेन्न। एक बालक भने अलि टाढा भएकोले कुनै चोट लागेको रहेनछ। प्रवलाल भन्छन्, 'सोच्दै नसोचेको घटना भयो, म त त्यो घटना सपना हो कि भन्ने जस्तो मान्छु, तर हामीलाई त्यो १६ वर्षसम्म भएको द्वन्द्वमा केही नभएको शान्ति भएपछि भयो।'

स्थानीयवासीले वडासदस्यलगायत जनप्रतिनिधिहरूलाई घटनाको विषयमा जानकारी गराए। छिमेकीहरू पनि के भयो? भन्दै घटनास्थलमा आत्तिँदै आए। प्रहरीलाई पनि जानकारी गराइयो।  तिलागुफा नगरपालिकाको पहलमा हेलिकोप्टरमा तत्काल घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा करिब ११ बजे ल्याइयो। अस्पतालमा पुगेपछि पनि चार वर्षीय सरस्वती रानाको ज्यान बचाउन नसकिएकामा प्रवलालले दुःख व्यक्त गरे।  

'मेरो छोरा र भाइको छोराको अपरेसन भएको छ', उनले भने, 'अहिलेसम्म खर्च त केही गर्नुपरेको छैन। पीडाले मुटु भतभती पोलिरहेको छ, तर मृतक र घाइतेहरूको विषयमा प्रदेश सरकार र सङ्घीय सरकार पनि गम्भीर भएनन।' गम्भीर घाइते दर्शना राना अहिले पनि प्रदेश अस्पताल सुर्खेतको आयुसियु कक्षमा छिन्। उनको अवस्था स्थिर छ। अन्य दुईजनाको अपरेसन भएको छ भने दुई जनाको मृत्यु भएको छ।  

तत्कालीन सशस्त्र द्वन्द्वको बेलामा अन्य दुःख पाइए पनि आफ्नो ज्यान जोगाएर बसेको यत्रो वर्षपछि त्यही द्वन्द्वले पीडा दिएको पीडितहरू बताउँछन। छोराछोरीहरू कहिले निको हुनेहुन् कुनै टुङ्गो छैन। कमलको दुवै खुट्टा र एउटा हातमा चोट छ। मुस्कानको भने एउटा खुट्टामा मात्रै चोट छ। दुवै छोरालाई एक्लै उनले हेरचाह गरिरहेका छन्।

भाइ जयलाल छोरी गुमाएको पडिामा अस्पताल आउन सकेन्र। उनको छोरालाई पनि प्रवलालले हेरविचार गरिरहेका छन्। उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई पूर्ण उपचार, उच्चशिक्षा तथा अवस्था हेरेर रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने माग गरे।  

स्थानीय तहले सबै उपचार खर्च व्यहोरेको भए पनि यसमा प्रदेश र सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। 'यसको जिम्मा राज्यले लिनुपर्छ। कसका लागि केका लागि द्वन्द्व भएको थियो रु शान्ति भइसकेपछि पनि हामी सोझा नागरिकले छोरा–छोरी गुमाउनुपर्ने किन? ', उनी प्रश्न गर्छन्।  

विस्फोट भएको ठाउँ घर नजिकै हो। आफैँले रोपेको कोदोबारी, कुलो पनि त्यही बारीबाट बग्छ। प्रवलाल जहिले पनि त्यही कोदोबारी गोडमेलमा जानथिए। तर विस्फोटक पदार्थ कहाँबाट आयो भन्ने उनलाई जानकारी छैन।

विस्फोटक पदार्थका विषयमा प्रहरीले अनुसन्धान गर्दै गरेको भए पनि द्वन्द्वकालको समयमा लुकाएर राखिएको विस्फोटक पदार्थ गत महिनामा परेको झरीले बगाएर ल्याएको वा कसैले फालिदिएको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन्।  

अनुसन्धानका क्रममा उक्त विस्फोटक पदार्थ पुरानै सकेट बम भएको पत्ता लागेको प्रहरीले बताएको छ। बालबालिकाहरूले खेलाउने क्रममा विस्फोट भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिए।

तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले घाइतेहरूको उपचार स्थानीय सरकारले गरेको र राहत तथा क्षतिपूर्तिको विषयमा प्रदेश सरकार तथा सङ्घीय सरकार गृह मन्त्रालयमा समेत समन्वय गरिहेको जानकारी दिए। उनले भने, 'घाइतेहरूको उपचार स्थानीय सरकारले गरेको छ, उचित क्षतिपूर्तिका विषयमा हामीले प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ।' रासस

प्रकाशित: १४ कार्तिक २०७९ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App