८ वर्षको हुँदा मेरो 'पुरुष जिउमा महिला आत्मा' पस्यो। म स्त्री भएँ। रामबहादुर नाम फेरेर रुमा राखें। त्योभन्दा पहिले म केटा हुँ भन्ठान्थें। दाइहरुले बहिनीको ढाँचा नपार तँ भाइ होस् भन्दै कुट्थे। मगरको छोरा सात वर्ष पुगेपछि छेवार (ब्राम्हण क्षेत्रीको व्रतबन्ध जस्तै मगरी संस्कार) गर्दिने चलन हुन्छ। छेवार गर्दा कपाल खौरन पर्थ्यो मैले मानिनँ।
कपाल पाल्न, नाक कान छेड्न र गहना लाउन मन हुन्थ्यो। घरमा केटाको लुगा लगा भन्दै कर गर्थे, मैले मान्थिन। मेरो चाला सबै केटीको जस्तो भो। पछि थाहा भो, म जस्तोलाई तेस्रो लिङ्गी भन्दो रैछ। त्यसमा पनि जिउ पुरुषको चाहना महिलाको हुने मजस्तोलाई 'मेटी' भन्दो रै'छ। गाउँमा मलाई ऊ हिजडा आइ भन्दै गिल्याउँथे।
पाल्पा मस्याम गाविस मेरो घर हो। यही फागुनमा म ३७ वर्षकी पुगेँ। मेरा अंग सबै केटाको जस्तो छ। तर मलाई केटीसँग कुनै चाह हुँदैन। पुरुषसँग उठाबसी गर्न र हिमचिम बढाउन मन हुन्छ।
म १७ वर्षको हुँदा केटीकै पहिरन गर्थेँ। साथी पनि केटी थिए। दैलो लिप्ने, भाँडा माझ्ने, रोटी पोल्ने, लुगा धुने, घर सफा गर्ने पट्टी मन गयो। त्यही उमेरमा केटाहरुसँग प्रेम गाँस्न मन हुन्थ्यो।
उमेर पुगेका अरु महिलालाई हुने सबै चाह मलाई पनि हुन्छ। मेरा रहर हुन्नन् र? मन त हुन्छ, इच्छा पनि हुन्छन्। मन सम्हाल्ने, इच्छा बुझ्ने मान्छे खोज्दै भौंतारिन्थें। उमेर पुगेपछि रहर पनि जाग्दो रैछ। मनखाने मान्छे देख्दा कुरा गर्न, समय बिताउन मन हुन्थ्यो। उमेर ढल्कँदा पनि इच्छा बुझ्ने कोही पाइनँ।
३-४ जना खुबै मन पर्याथ्यो तर म मुखले भन्न सक्थिन। दुई जनालाई चाँही थोरधेर माया बाँडे। मसँग प्रेम गाँस्न चाहेका धेरैले तेस्रो लिंगी भन्ने थाहा पाएर बस्नै लागेको प्रेम निमोठे। हामी 'मेटी'को जात कि माया दिन्नौं दिएपछि प्राण हाल्छौं। यस्तो कुरा बुझ्ने मान्छे कोही छैन यो दुनियाँमा। मैले प्रेमका लागि के गरिनँ र?
घाटैघाटाको मेरो पहिलो प्रेम
(प्रेम प्रसंग कोट्याउनु अगाडि रुमा एक्कासी भक्कानिइन्।) सम्झँदा मनै चुडिन्छ। मेरो मायामा केही कमी थिएन।
(पछ्यौरीको सप्कोले आँसु पुछिन्) ऊ मेरै गाउँको हो। मसँग हुरुक्कै गर्थ्यो। साथ दिन्छु भनेर वचन दिएको थियो। सँधै भेट्थ्यौं। उ २० बर्षको थियो म २७ की थिएँ। सेक्स त हुन्थेन तर प्रेम गहिरो थियो। उसलाई थाहा थियो म तेस्रो लिंगी हुँ भन्ने। तेस्रो लिंगी भएर के भो म तिमीलाई औधी माया गर्छु भन्थ्यो।
मैले उसलाई पढ्न सघाएँ। पढाइ खर्च दिएर सीएमए पास गराएँ। काम गरेर उसको तानसेन बजारको पढ्ने खर्च पुर्याउँथे। दुई तोलाको सिक्री बेचेर विदेश पनि पठाएँ। तिम्रै नाममा पैसा पठाउँछु भनेर गएको अहिलेसम्म फोन खबर केही गरेन। ऊ स्वार्थका लागि नजिकिएको रैछ। मैले अब के गर्ने? (आँसु थामिएन)
हेर्नुस्, कसैलाई चाहनु दोष हो र? तर भावना बुझेनन्। स्वार्थै त होला। समाजको डरले पो हो कि? केही होला उनैले जानुन्। मेरो यो पहिलो प्रेम थियो। प्रेममा नाफा घाटाको के कुरा गरुँ। तर मेरो धेरै खर्च भो। आखिर केही पाइनँ।
मेरो अन्तिम प्रेम जसले अब प्रेम गर्ने चाह नै मेटायो।
ऊ छिमेकी गाउँको हो। भर्खर वैंशमा लागेका केटामा बढी मन जान्छ मेरो। ऊ १९ वर्षको थियो। म भने ३० काटेकी। हामी नजिक भयौं। प्रेमपत्र पठाएँ। उताबाट पनि पाएँ। उस्ले मलाई निकै माया गर्थ्यो। उसका बा नेपाल आर्मीमा गोर्खा थिए। पछि सबै परिवार उतै लगे। हामी छुट्टिन नसक्ने भएकाथ्यौं। ऊ मेरो घरमा काम पनि गर्थ्यो। हामी सँधै भेट्थ्यौं, कुरा हुन्थे, माया साट्थ्यौं। यो कुरा मेरो परिवारलाई पनि थाहा थियो। उसको घरकालाई भने थाहा थिएन। हामी एकअर्कालाई निकै माया गर्थ्यौ।
हामी छुट्टिन नसक्ने भएका थियौं। म झोक्राएर मात्रै बस्थेँ। खाना पनि खाइनँ। निद्रा पर्थेन। मलाई त के के भो के के। यस्तो यसअघि कहिल्यै भा'थेन। यसैलाई प्रेम भन्छन् क्यार। मलाई गहिरो प्रेम भएको थियो।
पछि घरको काममा सहयोग गर्न भनेर दाइहरुले उसलाई घरमै ल्याइदिनु भो। अब ऊ हाम्रै घरमा बस्ने भयो। मैले जिन्दगीमा सबै पाएको झै मानेँ। मैले उस्को सबै सेवा गर्थे। लुगा धुने, जुत्ता सफा गर्ने बिस्तरामै खाना लैजाने गर्थेँ। पेन्टीसम्म धोइदिन्थेँ। उसलाई सुख कटाउन हुरुक्कै गर्थेँ। मेरै मोबाईल लिन्थ्यो। एक तोलाको सिक्री बनाइदिएँ, हराएछ। हात खर्च सबै मै दिन्थेँ। कपडा त कति किन्देँ किन्देँ।
कसैको माया पाउन म जे गर्न पनि तयार छु। केही बन्न पर्छ भनेर सिलाई सिकेँ, झोला बुन्न सिकेँ, अदुवा खेति गरेँ, बाख्रा पालेँ। त्यसबाट राम्रो आम्दानी गर्थेँ। केटाहरु कलाकारसित हुरुक्क हुन्छन् भनेर गीतको एल्बम पनि निकालेँ। शब्द, लय, स्वर सबै आफ्नै हो। तर क्यासेट त्यति चलेन। क्यासेटको नाम 'पाल्पा बजार' हो।
ऊसँगको यो मेरो अन्तिम प्रेम थियो। पछिल्ला ५ वर्षमा ऊसँग मेरो गहिरो प्रेम बसेको हो।
पछि त शत्रु लागे। टोलकै दिदी बैनीले मेरो खुसी सहेनन्। उस्लाई तँ हिजडासँग लसपस गर्ने बुद्धि सकिएको भनेछन्। राम्रा, सद्दे केटी जति पनि पाउँछस् भनेर आफैतिर सल्काउन खोजेर मेरो प्रेम भाँडे। उसले माया कम गर्दै गयो। घर छोडेर हिँड्ने बनाए। अहिले ऊ पोखरामा ग्रिल उद्योगमा काम गर्छ। बेलाबेला मिसकल दिन्छ। माया लाग्छ फोन गर्छु। (रुमा भक्कानिइन्, सुँक्क...सुँक्क...।) मलाई शत्रु लागे, बर्बाद गराए। (केही बेर सवाल जवाफ बन्द भो।)
कसैको मनमा पस्न सकिनि रैनछ। किन मलाई माया गरेर उसले सजिलै छाड्यो थाहा भएन। पैसा धुत्न पो हो कि? तर मुस्किलले पाएको यौटाको गहिरो माया मेरा हातबाट फुस्क्यो। केही गरी फर्काउन पाए हुन्थ्यो भनेकी छु। मेरो यो अन्तिम प्रेम थियो। डेढ वर्ष यता मलाई प्रेम गर्न पटक्कै मन छैन।
प्रेमले पीडा दियो
प्रेमले मलाई जंगल बास बनायो। के नै भोगिन मैले? ठूलो चाड दशैको दिन भोकै जंगलको गुफामा रात पनि काटें। कति दिन घर छोडेर हिँडे। एक्लै बसेर कति रोएँ रोएँ। यो सबै बेहोर्नु भन्दा विष खान ठीक भनेर विष पनि पिएँ।
कारण एउटै हो, परिवारले पुरुष भएर महिलाले झैं केटासँग सम्बन्ध किन राख्छस् भन्थ्यो। तँ केटासँग नहिँड र सम्बन्ध राख्दै नराख भन्थे। १६-१७ को उमेरमा म राम्री थिएँ। केटा पनि हुरुक्कै गर्थे। तर त्यतिखेर मलाई प्रेमको चाह त्यत्ति हुँदैनथ्यो। २२ काटेपछि प्रेमको चाह बढ्दै गयो। २२ पछि नै मेरा पीडा र दुःखका दिन सुरु भए।
विष पनि पिएँ, तर पनि मर्न सकिन। जब विष मुखमा हालेँ आमालाई देख्ने मन भो। भक्कानो फुट्यो। मन बिझ्यो। आमा भन्दै बेस्सरी चिच्याएछु। सुनेर भाउजुहरु आउनु भएछ। जडिबुटी ख्वाएर बान्ता गराएछन्। म बाँचे। त्यसपछि भने परिवारले मलाई अलि बढी वास्ता गर्न थाले। अचेल मलाई परिवारले राम्रै व्यवहार गर्छ।
म अहिले नीलहिरा समाजमा काम गर्छु। एचआईभी एड्स र यौन स्वास्थ्य बारे चेतना दिने काम गर्छु। कण्डमको प्रयोग गर्न सिकाउँदै हिँड्छु। धेरैलाई सिकाएँ। लुब्रिकेन्ट जेली लाएर सेक्स गर्ने तरिका सिकाउँछु। पन्ध्र ननाघेकादेखि चालिस काटेकासम्म परामर्शका लागि आउँछन्। लाजले होला सुटुक्क भेट्न खोज्छन्। त्यो बेलामा जिस्कन्छन् पनि। एक पटक यहीँ ट्राई गर्न पाए हुन्थ्यो पनि भन्छन्। तर मैले उति वास्ता गर्दिन। आफ्नै पार्टनरसँग गएर गर्नुस् भन्छु। बुटवलमा मेरो अफिस छ। एक वर्ष भो पाल्पा अफिस छाडेर बुटवल झरेको।
म जस्तो मेटीको जातलाई भगवानले किन बनाएका होलान्। न बच्चा पाउने वरदान दिए न प्रेम गर्ने मान्छे। सबैले प्रेम दिवस मनाउँदा मेरा कोही प्रेमी छैनन् ३७ कि भएँ न त मेरा श्रीमान् नै छन्।
मलाई लाहुरेनी हुन मन छ। फलानीलाई त बिहे गरेर बूढोसँग विदेश गई अरे भन्ने बयान चलाउने धोको छ। बच्चाको आमा बन्ने पनि रहर छ। तर बन्न सक्दिनँ भन्ने पनि थाहा छ। तै बच्चा पाउन हुरुक्कै हुन्छु। मैले सपनामा कति पटक बच्चा पाएको देखेँ। मनमा त्यही कल्पेर त होला। ब्यूँझदा नानी काखमै छ कि जस्तो हुने। तातो हुने, घाउ दुखे जस्तो, रगतै भएँ जस्तो हुने। तर बिस्तरा छाम्दा छैन। मन अमिलो हुन्छ। (आँखा फेरि रसाए रुमाका)
(पाल्पा संवाददाता टेकनारायण भट्टराईसँगको कुराकानीमा आधारित)
प्रकाशित: १ फाल्गुन २०६६ २०:३४ शनिबार





