१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नगर बस प्रयोगविहीन

नेपालगन्ज उपमहानगरपालिकाका नगर बस थन्किएका छन्। नेपालगन्ज बसपार्कमा तीनवटा नगर बस थन्क्याएर राखिएका हुन्। सञ्चालनको जिम्मा लिएको निजी कम्पनी सञ्चालन खर्च पनि धान्न मुस्किल भएपछि बस सञ्चालन गर्न नसकिएको बताउँछ। करोडौं मूल्यका ती बस थन्किएपछि बसहरूको अवस्था पनि बिग्रन थालेको छ भने विपन्न नागरिकका लागि आएको बजेटबाट कार्यविधि मिचेर किनिएका बसहरू अनुत्पादक बनेका छन्।  

भे१ख ३०७८, भे१ख ३०७५, भे१ख ३०७७ नम्बरका ती बसहरू बसपार्कमा थन्क्याएर राखिएको अवस्थामा छन्। नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा गरेका चारवटा ४१ सिटे र तीनवटा ३६ सिटे बस खरिदमा गरिब तथा विपन्नका लागि आएको संघ सरकारबाट आएको विशेष अनुदानको तीन करोड ५८ लाख ११ हजार चार सय १५ रूपैयाँ कार्यविधि मिचेर खर्च गरिएको थियो। त्यस बस खरिद थरिएपछि महालेखा परीक्षकको कार्यालयले उक्त खरिदलाई बेरुजुमा सामेल गरिदिएको थियो। उक्त अनुदानलाई नियमन गर्न बनेकोे विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ मा विशेष अनुदान प्रदान गरिने क्षेत्र र आधार तोकिएको छ। उक्त कार्यविधिमा नगर बस सञ्चालन गर्न सकिने आधार उल्लेख छैन। न्यून साक्षरता भएका क्षेत्रको शैक्षिक विकासको कार्यक्रम, बाल मुत्युदर, मातृमृत्यदर अत्यधिक भएका क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा कायक्रम, दुर्गम तथा आर्थिकरूपले पिछडिएका क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिने खानेपानी आपूर्तिसम्बन्धी आयोजना, अल्पसंख्यक, सीमान्तकृत वर्ग एवम् दुर्गम तथा पिछडिएको क्षेत्र वा आर्थिक, सामाजिकरूपले कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान वा विकासको लक्षित कार्यक्रममा खर्च गर्नुपर्ने उक्त बजेटबाट बस खरिद गरिएको थियो।  

उपमहानगरपालिकाले त्यतिबेला त्यसरी बस खरिद गरेर ज्येष्ठ नागरिक तथा अशक्तलाई विशेष सुविधा, नागरिकहरूलाई सहुलियत सुविधा, विपन्न समुदाय तथा महिलालाई कर्मचारीका रूपमा रोजगारीको व्यवस्था गरिने दाबी गरेको थियो। तर, अहिले उक्त दाबीअनुसार कुनै पनि काम भएको छैन। सुरुमा राखिएका महिला कर्मचारीहरू पनि अहिले हटाइएका छन्। बस सञ्चालनका लागि उपमहानगरपालिकाले सुरुमा आफैँले सञ्चालन गरेका बसहरूपछि ठेक्का आह्वान गरेर निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको छ। उपमहानगरपालिकाका एक कर्मचारीका अनुसार बस सञ्चालन मात्रैका लागि भएको ठेक्का आह्वानमा कुनै पनि निजी कम्पनी इच्छुक भएनन्। त्यसपछि बसपार्कको पार्किङ व्यवस्थापनको जिम्मेवारीसमेत हेर्नेगरी पुनः ठेक्का आह्वान भएपछि शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सले पार्किङ शुल्क र बसको आम्दानीबाफत वार्षिक एक करोड ३७ लाख ५० हजार बुझाउनुपर्ने गरी सम्झौता गरेको थियो। जिम्मा लिएको केही महिनापछि नै कोरोना महामारीका कारण नगर बसहरू बसपार्कमा थन्किए। कोरोना महामारीपछिको लकडाउन खुले पनि केही बसहरू भने नियमितरूपमा सञ्चालनमा आउन सकेनन्। अहिले त तीनवटा बसहरू पूर्णतया बसपार्कमा थन्क्याइएका छन्।  

बसहरू थन्क्याइँदा तीनका पाटपुर्जामा समस्या आउने गरेको छ। पाटपुर्जा समयसमयमा मर्मत गर्ने गरिएको शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका कर्मचारी शेखर बोहराले बताए। यात्रु नपाएर सञ्चालन खर्च धान्न नसक्ने भएपछि बस चलाउनुभन्दा नचलाउनु बेस सम्झेर थन्क्याइएको उनको भनाइ छ। नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले बसहरू थन्क्याएर राखिएकोतर्फ आफूहरूको ध्यानाकर्षण भएको बताए। 

प्रकाशित: १२ कार्तिक २०७९ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App