बाँकेको नरैनापुर गाउँपालिका–४ का असफाख खानले गत वर्ष २२ बिघामा लगाएको धान बेमौसमी वर्षाले सखाप पार्यो। समयमै वर्षा नहुँदा यस वर्ष उनले दुई बिघामा मात्र धान रोपाइँ गरे। तर यस वर्ष पनि वर्षाले धानभित्र्याउनै पाएनन्। खेतमै धान क्षति भयो। लगातार दुई वर्ष धानै उत्पादन गर्न नसकेका उनीजस्तै यहाँ जलिल मनिहारको खेत पनि बाँझै बस्यो। बोरिङको पानीले थोरै रोपाइँ गरेका थिए तरभित्र्याउन पाएनन्। उनको प्रमुख आर्थिक स्रोत नै खेती हो। दुई वर्ष उत्पादन नहुँदा खाद्य संकटको सामना गर्नुपर्ने बाध्यता उनलाई आइपरेको छ।
यति मात्र होइन, सुक्खा क्षेत्र घोषणा गरिएको नरैनापुरमा खाद्य संकट सिर्जना हुने अवस्थामा पुगेको छ। बाँकेको दुर्गम भनिने नरैनापुरमा ८५ प्रतिशत खेतीयोग्य जमिन बाँझै छ। समयमै वर्षा नहुँदा यहाँका किसानले धान रोपाइँ नै गर्न पाएनन्। यहाँ ४ हजार ९ सय ६६ हेक्टर जमिन खेतीयोग्य छ। गत वर्ष धानभित्र्याउन नपाउनु, यस वर्ष रोपाइँ नहुनु र भएको बाली वर्षाले असर पुर्याउँदा नरैनापुर खाद्य संकटको जोखिममा परेको छ। पालिका खाद्य संकटको जोखिममा परेको नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए। ‘खेतीयोग्य जमिनमध्ये करिब १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भयो,’ उनले भने, ‘बाँकी जमिन बाँझै छ। वडा नं. ५ र ६ मा केही रोपाइँ भएको थियो। यस वर्ष पनि यहाँको धानमा क्षति पुग्यो।’
यहाँको प्रमुख बाली नै उत्पादन नभएपछि पालिका खाद्य संकटको जोखिममा परेको कृषि, सहकारी तथा लघु उद्यम विकास शाखाका प्रमुख सदन भण्डारीले जनाए। ‘बाली भिœयाउँदा वर्षा भएर डुबान हुन्छ,’ उनले भने, ‘लगाउँदा सुक्खा हुन्छ।’ जलवायु परिवर्तनको असर नरैनापुरले खेप्नुपरेको भन्दै उनले भने, ‘यहाँको प्रमुख बाली उत्पादन नहुँदा स्थानीयलाई दैनिक गुजारा गर्न समस्या भएको छ।’ लगातार दुई वर्ष उत्पादन नहुँदा खाद्य संकट झेल्नुपरेको स्थानीयको भनाइ छ। ‘गत वर्षभित्र्याउन लागेको धानबाली वर्षाले क्षति पुर्यायो,’ जलिलले भने, ‘गत वर्षभन्दा पहिलाको धान बिक्री गरियो। यस वर्ष पनि उत्पादन नै भएन।’ यस वर्ष घरमा खाद्यान्न मौज्दात नभएको उनी बताउँछन्।
इसराफिल खान बर्सेनि करिब ६० क्विन्टल धान उत्पादन गर्थे। त्यसमध्ये केही परिवारका लागि राख्थे भने बाँकी सबै बेच्थे। तर यस वर्ष उनको घरमा धान थोरै छ। अर्थात् वर्षभरि खान पुग्ने धान उनीसँग छैन। ‘वर्षभरि खाने धान हुन्थ्यो। यस वर्ष त भएको धानले वर्ष दिन धान्दैन,’ उनले भने, ‘खाद्य संकटको संकेत देखिन थालेको छ। यसबारे सरकारले समयमै ध्यान दिन जरुरी छ।’ ‘पैसा हुने केही दूरीमा रहेको नेपालगन्ज तथा भारतीय
बजारमा चामल तथा खाद्यान्न ल्याउन सक्लान्,’ असफाखले भने, ‘नहुने मान्छेले कसरी ल्याउँला।’ ‘कतिपय व्यक्तिको उत्पादनले खान मात्र पुग्छ, कसैको पुग्दैन,’ उनी भन्छन्, ‘त्यस्ता व्यक्तिलाई खाद्य संकटको बढी प्रभाव पर्न सक्छ।
प्रकाशित: १२ कार्तिक २०७९ ०१:५० शनिबार