२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँपालिका केन्द्रमा पुग्यो बिजुली

बैतडीको डिलासैनी गाउँपालिकाको केन्द्रमा बिजुली पुगेको छ। नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत् पुगेको हो। विद्युत् नहुँदा यसअघि गाउँपालिकाले प्रवाह गर्ने सेवा प्रभावित हुँदै आएको थियो।

गाउँमा बिजुली पुगेपछि यहाँका स्थानीय हर्षित भएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए। उनका उनुसार धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ। अब अन्य ठाउँमा लाइन विस्तारको काम अगाडि बढाइने बताइएको छ।

लामो समयदेखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि स्थानीयहरू उत्साही भएका छन्। गाउँपालिकाले उज्यालो डिलासैनी बनाउने अभियान अन्तर्गत विद्युत् विस्तार कार्यलाई तीव्रता दिएको जनाएको छ। केही समयअघि मात्रै पालिकाको वडा नम्बर ५ मा विद्युत् विस्तार गरिएको थियो। पालिकाका विद्युत विस्तार नभएका सबै वडामा विद्युत् विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सन्तोशप्रकाश जोशीले बताए।

बैतडीका १० स्थानीय तहमध्ये ७ वटा स्थानीयतहको केन्द्रमा विद्युत् सेवा पुगेको छ। सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिकामा अझै विद्युत् सेवा पुग्न सकेको छैन। सोलारबाट स्थानीय तहले सेवा दिँदै आएका छन्। घाम नपरेको दिन वा सोलारमा खराबी आए सेवा प्रवाहमा समस्या हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। जिल्लाका अधिकांश वडामा विद्युत् र इन्टरनेटको सुविधा प’न सकेको छैन। जसका कारण सेवाग्राही समस्यामा पर्दै आएका छन्।

प्रकाशित: ११ कार्तिक २०७९ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App