७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा परी तीन जनाको मृत्यु

केरा बोकेको ट्याक्टर पल्टिँदाको दृश्य।

सिरहाको कल्याणपुर मिर्चैया नगरपालिकामा भएको सवारी दुर्घटनामा परी बुधबार राति तीन जनाको मृत्यु भएको छ। कल्याणपुरमा ट्याक्टर पल्टिँदा किचिएर दुई जनाको र मिर्चैयामा दुई मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ।

छठ पर्वको लागि कल्याणपुर बजारतर्फ केरा बिक्रीका लागि लैजाँदै गर्दा नम्बर नलेखिएको ट्याक्टर पल्टिँदा चालक कल्याणपुर नगरपालिका–४ का छेदुवा गोइत र केरा धनी सोही नगरपालिका–११ का दुखिया साहको मृत्यु भएको छ। ट्याक्टरको ट्रलीमा क्षमताभन्दा अधिक भार लोड गरिएको कारण पल्टिएको प्रहरीले जनाएको छ। ट्याक्टर पल्टिँदा च्यापिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, सिरहाको मिर्चैया नगरपालिका–५ मा बुधबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मिर्चैया नगरपालिका–६ का १९ वर्षीय जितेन्द्र साहको मृत्यु भएको छ। दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका साहलाई तत्काल स्थानीय मंगलम अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषण गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय सम्राट साह गम्भीर घाइते भएका छन्। घाँटी र टाउकोमा चोट लागेका उनलाई थप उपचारका लागि विराटनगर लगिएको छ। स. ८ प ३४०५ र प्र.२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो।

प्र.२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकलमा सवार सिरहा कल्याणपुर नगरपालिका–७ भोक्राहाका ४२ वर्षीया अनिता देवी साह, मिर्चैया–१ की ४४ वर्षीया ललिता देवी महासेठ घाइते छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७९ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App