सशस्त्र प्रहरी बल नेपाल बिओपी पिपरपातीले लागू औषध गाँजा सहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका ५ पशुरामपुरका रामनरेश यादव रहेको सशस्त्र प्रहरी बल १२ नम्बर गण उत्तरझिटकैयाले जनाएको छ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले भरियालाई प्रयोग गरेर तस्कर समुहले भारत तर्फ लागु औषध गाँजा लैजान लागेको भन्ने बिशेष सूचनाका आधारमा गाँजा सहित यादवलाई पक्राउ गर्न सफल भएको बताएका छन्।
यादवले ३० किलो लागु औषध गाँजालाई १५/१५ किलोको दुई वटा प्याकेट बनाएर टाउँकोमा बोकी भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थापाले बताए। गाँजा सहित पक्राउ परेका यादवलाई थप कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताए।
सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीका बाहिनिपति गणेश ठाडामगरले सुरक्षाकर्मीहरु निर्वाचन र छठ पर्वको सुरक्षामा केन्द्रित भएको ठानेर लागु औषध तस्करहरु सकृय बन्न खोजेको बताए।
खुल्ला सीमानाको फाईदा उठाउँदै तस्कर समुहले लागु औषध नेपालबाट भारत लैजाने र भारतबाट डाईजेपाम ईन्जेक्सन, फेनारगन, नुर्फिन जस्ता लागु औषध नेपाल भित्रियाउने गरेको हुँदा सीमानाकामा कडाइका साथ चेकजाँच भइरहेको ठाडामगरले बताए।
प्रकाशित: ९ कार्तिक २०७९ १४:१३ बुधबार