१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नारामा सिमित ! ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’

जिल्ला अदालत रोल्पा। तस्बिर : दिनेश/नागरिक <br>

२०७८ साल बैसाख ३० गते रोल्पाका पत्रकार खेम बुढाको फेसबुक ह्याक गरि रकम ठगिएको मुद्दामा साक्षी बसेका पत्रकारलाई आइतबार १२ बजे जिल्ला अदालत रोल्पामा बकपत्रका लागी भन्दै हाजिर हुन बोलाईयो। दिउँसो १२ बजे अदालत पुगेका उनीहरुको पालो ३ बजेपछि आउने सुचना साढे १ बजे दिईयो। डेढ वर्ष अगाडिको मुद्दा हालसम्म बकपत्रमा पुगेको देखेर नेपालको न्याय प्रणाली कत्तिको चुस्त छ भन्ने कुरा देखिएको पत्रकारहरुले छलफल गरे। इजलासमा न्यायाधिसको कुर्सीमाथि लेखिएको ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भनाईले मेल नखाएको पत्रकारहरुको ठहर थियो।  

दिउँसो तिन बजे बोलाइएका ५ जना पत्रकारहरु समयमै पुगे तर सरकारी वकिल सन्तोष शर्मा आउन ढिला भएपछि साढे तीन बजे मात्र बकपत्र सुरु गरियो। समयको महत्व सबैलाई बराबर हुन्छ भन्ने हेक्का नराखेको रोल्पा अदालतले दैनिक सेवा ग्राहीलाई लामो समय कुराउने अनि साँझ पर्दै गएपछि भोलि आउनू भन्ने गरेको गुनासो आउने गरेको छ। 

कम्तिमा अदालतमा बोलाइनेहरुलाई समयको ख्याल गरिदिए सहज हुने एक पत्रकारले बताए। ‘समयको महत्व त सबैलाई उस्तै हो नि। बोलाउने बेलामै ख्याल गरिदिनु पर्छ। १०/१५ मिनेट त ठिकै हो तर यहाँ त ३ घण्टा पर्खनु ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’को उपहास जस्तै हो।'

जिल्ला अदालत श्रेष्तेदार प्रेम खड्काले अदालतका कारण ढिला भएको नभई सरकारी वकिलका कारण ढिला भएको बताए। ‘बिहान २ वटा मुद्धाको बकपत्र भएको हो। सो बेला ७ जनाको भयो। १ देखि २ बजेसम्म खाजा समय हो।’ खड्काले भने ‘तपाईँहरुको केश सरकारी वकिलको जिम्मामा हुन्छ। त्यो समय उहाँले मिलाउने हो।’ अदालतका अन्य एक कर्मचारीका अनुसार सरकारी वकिलले समय व्यवस्थापन गतिलो नगरिदिँदा सेवाग्राहीले समय-समयमा यस्ता समस्या भोग्ने गर्दछन्।  

ठगी मुद्दा २०७८ देखि हालसम्म

२०७८ साल वैसाख ३० गते साँझ ५ बजेतिर पत्रकार बुढाको फेसबुक ह्याक गरेर विभिन्न ब्यक्तिहरु संग रकम मागिएको थाहा भए पछि पीडक प्रहरीकोमा पुगे। बुढाको फेसबुकबाट आफन्ती र साथीभाईसँग रकम मागिएकोमा केहिले रकम पनि ह्याकरले मागेको खातामा पठाए। पत्रकार ठगिएको घटना चारैतिर फैलियो। प्रहरी सकृय बन्यो। रकम गएको खातावालको पत्ता लाउदै जाँदा ईटहरीका दुई जनालाई पक्राउ गरि रोल्पा ल्याईयो।  

सुनसरी दुवही नगरपालिका वडा नं. ५ बस्ने वर्ष २० को रितिक कुमार कलवार र सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १२ खनारमा बस्ने वर्ष २४ को सरनेद्र चौधरी रोल्पा ल्याईए। विभिन्न समस्याहरु देखाउँदै सापटीको रुपमा भनि मोबाइल बैंकिङ मार्फत् क्युआर कोड र बैंक खातामा नगद जम्मा गर्न लगाइ ठगी गरेको आरोपमा प्रदेश नं. १ अन्तर्गत सुनसरीमा पक्राउ परेका थिए।  

फेसबुक ह्याक गरिएका पत्रकार खेम बुढाले त्योबेला साईबर ब्युरोका डिआईजि, राष्ट्र बैङ्क, एनआईसि एसिया बैङ्क र ईसेवाका आधिकारीक ब्यक्तिहरु संग यो बिषयमा छलफल समेत गरेको बताए। ‘कतै न कतै बैङ्क र ईसेवाका ब्यक्तिहरुको पनि मिलेमतो हुन सक्छ। प्रहरीले पनि राजनीतिक दवाब आए पछि मेरो केस साईबर क्राईम अन्तर्गत नराखेर सामान्य ठगीको मुद्दा चलाएको छ।’ उनी भन्छन् ‘यो मुद्दा मेलमिलाप गरेर टुङ्गाउनका लागि राजनितिक नेतृत्वबाट प्रेसर पनि आउने गरेको छ।’

ईटहरीबाट पक्राउ परेका रितिक कुमार कलवार र सरनेद्र चौधरी चौधरीले आफ्नो खातामा आएको रकम ठगीको मूख्य योजनाकारलाई पठाएको देखिए पनि नेपाल प्रहरीले उक्त ब्यक्ति भारतीय भएको र उतै बस्ने गरेको भन्दै खोजि गर्ने मनसायमा कहिल्यै रहेन। जिल्ला अदालत रोल्पाले पनि उनीहरुलाई तारेखका नाममा प्रहरी हिरासतबाटै २६ दिन पछि मुक्त गरिदिएको थियो।

रोल्पा अदालतमा चलेको साईबर अपराधको कुरो जटिल भए पनि विभिन्न कारण वा बहानामा प्रहरीले सामान्य ठगीको मुद्दा चलाएको यो केशमा यति लामो समयसम्म पनि साक्षीको बकपत्रसम्म भएको थिएन। हेर्दा सामान्य लाग्ने यो मुद्दाको आन्तरिक गुदी कारण फरक छ। न्याय क्षेत्रका एक जना कर्मचारी भन्छन् ‘साईबर क्राईमको भयानक ठगी मौलाएको यस्तै मुद्दा फितलो हुनुको कारण हो।’ उनि थप्छन् ‘प्रहरी र सरकारी वकिलको मै यस्ता मुद्दा कमजोर बनाईन्छन्।’

अदालतले न्याय सम्पादनमा ढिलाई गर्नु, बैङ्कहरुले यस्ता ठगीका केशमा खासै चासो नदिनु र अनुसन्धान गर्दै गर्दा प्रहरीलाई राजनीतिक दवाब आउनु गिरोह कति बलियो छ भन्ने प्रमाण पनि देखिएको छ। यतिबेला पनि यो मुद्दा मेलमिलापबाट टुङ्गाउने मनसायमा न्याय क्षेत्रकै केहि ब्यक्तिहरु लागेका छन् तर पत्रकार खेम बुढा कम्तिमा पनि ठगिको योजनाकारसम्म पुग्नु पर्ने बताउछन्।  

बैङ्किङ क्षेत्रमा दैनिक भईरहेका ठगिका खबरहरु बाहिर आईरहँदा यसको गतिलो छानबिन नहुनु दुखद हो। काठमाडाैंमा मात्र साईबर क्राईमको मुद्दा चल्छ भन्दै जिल्ला जिल्लामा ठगीको फितलो मुद्दा चल्न थालेपछि ठगहरु झनै हौसिएका छन्। सामान्य नागरिकको काठामाडाैंसम्म पहुच नहुनु अनि प्रहरीले जिल्ला मै ठगी मुद्दा चलाउँदा अपराध मौलाई रहेको हो।

प्रकाशित: ३१ आश्विन २०७९ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App