१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

सडक अवरुद्ध हुँदा तराई जानेको जुम्ला विमानस्थलमा भीड

लोकसेवा परीक्षार्थी र बिरामीलाई प्राथमिकता

लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ।

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ। दशैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ।

अघिपछि नियमित उडान हुने तर दशैं अवधिभर निजी एयरलाइन्सले पूर्वमा बढी प्राथमिकता दिएपछि दशैंमा नागरिक घर फर्किनसमेत सकस भएको थियो। दशैंपछि पनि गन्तव्यमा पुग्न कठिन भएको छ।

प्राधिकरण प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाइन्सले यो १५ दिनमा जुम्लामा एकमात्र उडान भरेको छ। नेपाल एयरलाइन्सको तालिकाअनुसार हप्तामा दुई वटा जहाज आउनुपर्नेमा कार्यान्वयन हुन सकेको छैन। अझ नागरिक उड्डयनको वार्षिक उडान तालिकामा हप्तामा सात वटा उडान छ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुका अनुसार नेपाल एयरलाइन्सको आइतबार जुम्लामा उडान अनिवार्य हुनेछ। उनले एक जहाज बिग्रेकाले एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताए। नागरिक उड्डयन जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको चार र नेपाल एयरलाइन्सको एक मात्र उडान भएको छ।

लोकसेवा परीक्षार्थी र बिरामीलाई प्राथमिकता

जहाजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिनअघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि स्थानीय प्रशासनले निगरानी गरेको छ। स्थानीय प्रशासनका अनुसार यो तीन/चार दिन लोकसेवा दिने, परीक्षा दिने विद्यार्थी, आकस्मिक बिरामी ५० भन्दा बढीलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा उडाएको छ।

यसबेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए। छ जना विद्यार्थीलाई त राहत बोकेर आएको हेलिकप्टरमा पठाइएको छ।

परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा लाइन लगाएर दुई सय छ जनाको नाम सूची तयार पारिएको थियो। आइतबारदेखि सो सूचीको ५० प्रतिशत कार्यान्वयन तथा ५० प्रतिशत अन्य गरी सेवा दिइने नागरिक उड्डयनले बताएको छ।

प्रजिअ केशरीका अनुसार लोकसेवा, परीक्षा दिने विद्यार्थी र केही बिरामी उडाएपछि अबको जिम्मा एयरलाइन्स र नागरिक उड्डयन आफैँले लिनेछ। नेपाल एयरलाइन्सको नियमित उडान तालिका कार्यान्वयन हुन सकेको छैन। यस बेला दैनिक उडान गरिरहेको समिट एयर पनि शनिबार नआउँदा सकस भएको छ।

विपत्मा राहत, उद्धार, सडक पन्छाउने विषयमा तनाव बढिरहेको बेला राजमार्ग बन्द भएपछि जहाज नआउँदा हैरान भएको छ। सर्वसाधारणले समेत टिकट नपाएको, व्यवस्थापन प्रणली कमजोर भएको र उडान कम भएको गुनासो बढेपछि शनिबार नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीसहितको पत्रकारको टिमले सरोकारवाला निकायसँग भेटघाट गरेर अनुगमन तथा समन्वय गरेको छ। 

प्रकाशित: २९ आश्विन २०७९ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App