१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा यतिबेला गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ। 

तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्। यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ। किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयहरुको भनाइ छ। यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन्। बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ। किसानहरु एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्। 

नेपालीहरुको साँस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए। फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय नारायणी खत्रीले बताए। उनले गत वर्षको जत्ति नै मखमली फूल लगाएको र अहिले माला उन्ने क्रम धमाधम चलिरहेको बताए। तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उनको भनाइ छ। घरमा त्यत्तिकै बसिरहनु भन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने बताए। तिहारको बेलामा आफूले ५ हजारसम्म मखमली फूलका माला उन्ने गरेको बताए। उनले भने, ‘हामीले पोहोर जति बेचेका थियौँ, यस वर्ष पनि त्यत्ति नै बेचेका छौँ। लगाएको उही नै हो। समय कटाउने बाटो हो, काम गरेमा आफूलाई खर्च पनि भयो। घरमा बसिरहनु भन्दा एउटा इलम गरे राम्रो हो। साउनदेखि नै शुरु गरेका छौँ। वैशाखमा रोप्ने, साउनदेखि उन्ने गरिरहेका छौँ। बजारका लागि हामी जानुपर्दैन घरमा नै लिन आउनुहुन् । ४/५ हजार माला बन्छ। धेरैजसो अर्मपर्ममा चल्छ, गाउँघरमा। लगानी त यसमा धेरै गर्नुपर्दैन। एकपटक रोप्नुपर्छ। १ रोपनी बराबर ३/४ हजार लगानी हुन्छ। लगभग डबल फाइदा हुन्छ।’

त्यस्तै अर्की एक स्थानीयले गाउँघरमा फूल लगाउनका लागि धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि दोब्बर हुने बताए। उनले गाउँघरमा अर्मपर्म गरेर फूल लगाउने काम भइरहेको समेत बताए। उनले १ रोपनी जग्गामा फूल लगाउन ४ हजारसम्मको लगानी लाग्ने बताए। उनले दशैँ अघिसम्म प्रतिमाला २० रुपैयाँमा बिक्री गरेपनि तिहारको बेलामा भने प्रतिमाला ३० रुपैयाँमा घरबाटै बिक्री गर्न सकिने बताए।

तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयहरुको भनाइ छ। विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठीक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरु बताउँछन्। फूलको व्यापार र बजार बढेपनि नेपालमा उत्पादित फूलले चाडबाडको बेला बजार धान्नसक्ने स्थिति अझै छैन।  

प्रकाशित: २८ आश्विन २०७९ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App