१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एनआरएनएले ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सार्वजनिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागले सोमवार जुम मार्फत बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघकी कार्यकारी अध्यक्ष रविना थापाले सो घोषणा गरेकी हुन्। थापाले सार्वजनिक विद्यालयमा अध्ययनरत बिपन्न विद्यार्थीहरुको सहयोगको लागि नेपाल सरकारसंघ सहकार्य गरेर सो परियोजना अघि बढाइने बताईन्। उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति, बिभिन्न संघसंस्थाको सहकार्यमा शुरुमा ५ हजार जनालाई छात्रवृत्ति दिने प्रतिबद्धता जनाएकी छन्।

थापाले महिला शौचालय, महिला स्वास्थ्य र शिक्षाको क्षेत्रमा गैर आवासीय नेपाली संघको प्राथमिकता दिएको प्रस्ट पारिन्। कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष कुल आचार्यले संघले महिलाहरुलाई सहकार्य गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा संघले सहयोग गर्ने बताए।

कार्यक्रममा संघका उपाध्यक्ष डा.हेम राज शर्माले संघले कुनै पनि कार्यक्रम घोषणा गर्नु अघि  पूर्वतयारीको आवश्यक रहेको बताए। उनले संघको स्थायित्वको लागि आन्तरिक आर्थिक सहयोग भन्दा अन्तराष्ट्रिय संघ सँस्थाहरुसंग सहकार्य गरेर अघि बढ्न सुझाव दिए। डा.शर्माले गैर आवासीय नेपाली संघले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएको प्रति खुशि व्यक्त गरे।

सो छात्रवृत्तिको लागि पहिलो चरणमा १० लाख रुपैयाँको प्रतिबद्धता आइसकेको संघकी सचिव टिका गुरुङले जानकारी दिइन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंघ सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री रेग्मीले नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यमा  महिला स्वास्थ्य, महिला जनचेतना र शिक्षाको क्षेत्रमा एमओयू गरेर अघि बढ्न सकिने बताइन्। उनले नेपाल सरकारले गैर आवासीय नेपाली संघको हरेक गतिविधिलाई नियाली रहेको र सरकार यसप्रति सकारात्मक रहेको बताउँदै एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल नारालाई पुरा गर्न सरकारले सहयोग गर्ने बताइन्। उनले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता विधेयक राष्ट्रिपतिकोमा रोकिए पनि निर्वाचन पछि नयां राष्ट्रपति आए पछि समस्याको समाधान हुने बताइन्।  

कार्यक्रममा संघकी महिला संयोजक संगीता मरहट्टाले महिला विभागको यस पटकको प्राथमिकता महिला तथा बालबालिका शिक्षा रहेको र महिला तथा बालबालिकाहरुको शैक्षिक स्तर बढाउन  सकृय रहने बताइन्। करिब चार घण्टा चलेको सो कार्यक्रमा पत्रकारहरु, संघका विभिन्न पदाधिकारीहरु, महिला पदाधिकारीहरुको उपस्थिति थियो।  

संघकी महिला उपाध्यक्ष यस्मीन बेगम सैयदको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन संघकी सचिव राधिका (टिका) गुरुङले गरेकी थिइन्।

प्रकाशित: १८ आश्विन २०७९ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App