१६ मंसिर २०७९ शुक्रबार
समाज

शक्ति साधनाको पर्व नवरात्र

हिन्दु धर्मको मूल सनातन धर्म वा वैदिक धर्मलाई मानिन्छ। सनातनको अर्थ हुन्छ, शाश्वत् वा कहिल्यै नाश नहुने वा सधैं रहिरहने। साथै जसको न आदि छ न अन्त, त्यसैलाई नै सनातन धर्म भनिएको हो। प्राचीनकालदेखि नै सनातन धर्ममा गाणपत्य, शैव, वैष्णव, शाक्त र सौर गरी पाँच सम्प्रदाय प्रचलनमा छन्। तिनै सम्प्रदायमध्ये शाक्त सम्प्रदायअन्तर्गत आदि शक्तिको पूजाआराधना र साधना गर्ने महान् पर्व हो शारदीय नवरात्र।

आदिकालमा नवरात्र चारवटा मानिन्थे– माघ शुक्लपक्ष, चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष र आश्विन शुक्लपक्ष। तीमध्ये माघ र असारको नवरात्र चलनचल्तीमा नआए पनि चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको नवरात्रको विशेष महत्व रहेको देवीभागवतमा उल्लेख छ।

आश्विने च तथा चैत्रे शुक्ले पक्षे नराधिपः

नवरात्रोपवासो वै कर्तव्यः शुभमिच्छता।

अर्थात् आश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवरात्र महत्वपूर्ण हुनाले मनोकामना पूर्ण वा साधना गर्न चाहनेहरूले यी नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा नवदुर्गा भवानीको पूजा–आराधना गरी उपवास बस्नुपर्छ।  

सोही शास्त्रीय प्रमाणका आधारमा अहिले पनि हिन्दु धर्मावलम्बीहरूले शारदीय नवरात्र र चैत्र शुक्लपक्षको नवरात्रलाई विशेष रूपमा मनाउने गरेको पाइन्छ। शारदीय नवरात्रअन्तर्गत आश्विन शुक्लपक्ष प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र र दशमी तिथिलाई विजयादशमीको रूपमा मनाउने गरिन्छ भने दशमीका दिन सुरु भएको टीका–जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कतैकतै कोजाग्रत पूर्णिमा (जुन दिन साँझमा लक्ष्मीको पूजा गरी रातभर जागरण गरेर तिहारको आगमनको सङ्केत गरिन्छ) सम्म रहन्छ। यसरी धार्मिक मान्यतालाई आधार बनाएर शारदीय नवरात्रलाई शक्ति साधनाको पर्वका साथै बडादसैंको रूपमा १५ दिनसम्म मनाउने गरिएको छ।

शास्त्रमा नवदुर्गा

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना।

अर्थात् नवरात्रका नौ दिनमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कूष्माण्डा, पाँचौं स्कन्दमाता, छैटौं कात्यायनी, सातौं कालरात्रि, आठौं महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। यी सबै नवदुर्गाका विभिन्न अवतार मानिएको छ र यिनको अलगअलग साधना गर्नाले जीवनमा सुख, शान्ति, ऐश्वर्यका साथै आध्यात्मिक शक्ति प्राप्त हुन्छ भने जीवनपश्चात् मोक्ष प्राप्त हुने पनि नवदुर्गा तन्त्रसाधनामा उल्लेख गरिएको छ।  

यी नौ दिनमध्ये पहिलो दिन घटस्थापना, सातौं दिन फूलपाती, आठौं दिन महाअष्टमी, नवौं दिन महानवमी र त्यसपछि विजयादशमीलाई विशेष रूपमा मनाइन्छ।

घटस्थापना (पहिलो दिन)

द्वितीया वा नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ। यस दिनलाई घटस्थापना भनिन्छ। यस दिन आफ्नो घर वा सामूहिक देवीघरमा जमरा राखिन्छ। माटाको घट (कलश) स्थापना गरी गोबर टाँसेर भिजाएको जौ राख्नुलाई जमरा राख्नु भनिन्छ। सो दिन पवित्र ठाउँ पूजाकोठा वा देवीघरमा आसन ओच्छ्याई दियो, कलश र गणेशको पूजा गर्ने शास्त्रीय पद्धति छ।

त्यसपछि तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी त्यसमा ‘नवाक्षरस्य मन्त्रस्य बीजानि विलिखेत्ततः’ अर्थात् ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गर्नु भनिएको छ। दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ मन्त्र १०८ पटक जपी नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्छ, सकेसम्म प्रत्येक दिन १०८ हवन र कन्याको पूजा गर्नुपर्ने देवीभागवतमा उल्लेख छ।

यस दिन नवदुर्गा भगवतीको पहिलो स्वरूप ‘शैलपुत्री’ को विशेष रूपले पूजाआराधना गरिन्छ। धनधान्य, सैभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण होस् भन्ने कामनासहित उनको आराधना गर्ने गरिएको छ।  

शैलपुत्री को शाब्दिक अर्थ पहाड (शिला) की छोरी भन्ने हुन्छ। पर्वतराज वा शैलराज हिमालयको घरमा पैदा भएकाले नवदुर्गाको पहिलो अवतारलाई शैलपुत्री भनिएको हो। उनको दाहिने हातमा त्रिशूल, देव्रे हातमा कमल, निधारमा अर्धचन्द्र रहेको छ। नन्दी (साँढे) लाई वाहन बनाएकी उनलाई सती, पार्वती, वृषारूढा, हेमवती, भवानीको रूपमा पनि चिनिन्छ।

साधकहरूका लागि मूलाधार चक्रमा ध्यान गरेर ॐ ऐं ह्रीं क्लीं शैलपुœयै नमः’ वा ‘ॐ देवी शैलपुœयै नमः’भनेर जप गर्नुपर्ने विधि बताइएको छ। शैलपुत्रीलाई वैज्ञानिक रूपमा सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा लिइन्छ। यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गनुपर्नेविधान छ।

दोस्रो दिन

द्वितीया वा नवरात्रको दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा गरिन्छ। यस दिन पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘ब्रह्मचारिणी’ स्वरूपा दुर्गा भवानीको अवतारको पूजा गरिन्छ। जमराको पूजा गरी जल सिञ्चन गर्ने क्रम नवरात्रभर रहन्छ। ब्रह्मचारिणीको शाब्दिक अर्थ ब्रह्म (तपस्या) को आचरण गर्ने भन्ने हुन्छ। भगवान् शंकरलाई पतिको रूपमा पाउन कठिन तपस्या गरेका कारणले नवदुर्गाको दोस्रो अवतारलाई ब्रह्मचारिणी भनिएको हो।  

कम्तीमा १०८ पटक ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नमः’ वा ‘ॐ देवी ब्रह्मचारिण्यै नमः’ भनेर मन्त्र जपी स्वाधिष्ठान चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। संयम, तप, वैराग्य तथा विजय प्राप्तिका लागि उनको आराधना गरिन्छ। देवी ब्रह्मचारणीको पूजा उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार तथा संयमको वृद्धि हुने विश्वास गरिएको छ। उनको साधना गर्ने साधक जस्तोसुकै परिस्थितिमा पनि मन तथा कर्तव्य पथबाट बिचलित हुँदैन र उसले देवीको कृपाले सधैं सिद्धि तथा विजय प्राप्त गर्दछ।  

उनलाई वैज्ञानिक दृष्टिले आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ। यस दिन तीन वर्षकी कन्यालाई ‘त्रिमूर्ति’ देवीका रूपमा कुमारीपूजा गर्ने चलन छ।

तेस्रो दिन

तृतीया वा नवरात्रको तेस्रो दिन माता चन्द्रघण्टास्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। चन्द्रघण्टा शब्द चन्द्र र घण्टा मिलेर बनेको छ। मस्तकमा घण्टीको जस्तै आकारको अर्धचन्द्र भएकाले नवदुर्गाको तेस्रो अवतारलाई चन्द्रघण्टा भनिएको हो।  

कम्तीमा १०८ पटक ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ वा ‘ॐ देवी चन्द्रघण्टायै नमः’ भनेर मन्त्र जपी मणिपुर चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। दुःखकष्टबाट मुक्ति तथा मोक्षप्रातिको कामना गर्दै यिनको पूजाआराधना गरिन्छ। चन्द्रघण्टा भगवतीको कृपा प्राप्त भएमा साधकको कष्ट निवारण हुने, साधक सिंह जस्तै पराक्रमी तथा निर्भीक हुने तथा घण्टीको ध्वनिले साधकलाई प्रेतबाधाबाट रक्षा गर्ने पौराणिक मान्यता छ।  

यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दूर, गाजललगायत शृंगारका सामग्री चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ।

चौथो दिन

चतुर्थी वा नवरात्रको चौथो दिन माता कुष्माण्डाको पूजा गरिन्छ। देवी भागवतका अनुसार ब्रह्माण्डको उत्पत्तिपूर्व देवी कुष्माण्डाले आफ्नो मन्द मुस्कानबाटै अण्ड (ब्रह्माण्ड) उत्पन्न गरेकी थिइन्, तसर्थ उनलाई साक्षात् आदिशक्ति मानिन्छ।  

कम्तीमा १०८ पटक ‘ॐ ऐं ह्रीं क्लीं कूष्माण्डायै नमः’ वा ‘ॐ देवी कूष्माण्डायै नमः’ भनेर मन्त्र जपी अनाहत चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। सूर्यको समान कान्ति तथा चमक भएकी कूष्माण्डा देवीको आराधना गर्नाले रोग, दोष, शोकको निवृत्ति वा यश, बल, दीर्घायु प्राप्ति हुने शास्त्रमा उल्लेख छ। सिंहमाथि सवार उनलाई अष्टभुजा देवी, आदि–स्वरूपा, आदिशक्ति नामले पनि पुकारिन्छ। कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ। यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने विधान छ।

पाँचौं दिन  

पञ्चमी वा नवरात्रको पाँचौं दिन माता ‘स्कन्दमाता’ स्वरूपा दुर्गा भवानीको पूजापाठ गरिन्छ। शिव–पार्वतीका पुत्र कुमारको अर्को नाम स्कन्द हो। भगवान् स्कन्द प्रसिद्ध देवासुर संग्राममा देवताका सेनापति थिए। यिनै भगवान् स्कन्दकी आमा भएकाले भगवती दुर्गाको यस अवतारलाई स्कन्दमाता भनिएको हो। दाहिनेतर्फ माथिल्लो हातले स्कन्दलाई काखमा राखेको, माथि उठेको तल्लो हातमा कमलको फूल, देब्रेतर्फ माथिल्लो हात वर मुद्रामा, माथि उठेको तल्लो हातमा कमलको फूल, कमलको फूलको आसनको स्वरूप धारण गरेकी उनको आराधना गर्नाले बालरूप स्कन्द भगवान्समेत खुसी हुने शास्त्रमा उल्लेख छ।  

कम्तीमा १०८ पटक ‘ॐ ऐं ह्रीं क्लीं स्कन्धमात्रे नमः’ वा ‘ॐ देवी स्कन्दमात्रे नमः’ भनेर मन्त्र जपी विशुद्ध चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। सुखशान्ति, वा मोक्षका लागि यिनको साधना गर्नुपर्ने उल्लेख छ। भक्तिभावपूर्वक स्कन्दमाताको उपासना गर्नाले भक्तको सम्पूर्ण इच्छा पूर्ण हुने, मत्र्यलोकमा परम शान्ति तथा सुख प्राप्त हुने र मोक्षको द्वार खुल्ने विश्वास गरिन्छ। स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ। यस दिन ६ वर्षकी कन्यालाई ‘कालिका’ नामले पूजा गरी विशेष रूपमा साडी, ओढ्ने आदि वस्त्र चढाउने वा दान गर्ने विधान छ।

छैटौं दिन

षष्ठी तिथि वा नवरात्रको छैटौं दिन माता कात्यायनीस्वरूपा नवदुर्गा भवानीको पूजाआराधना गरिन्छ। पौराणिक मान्यताअनुसार महर्षि कात्यायनले पुत्री प्राप्तिका लागि भगवती पराम्बाको कठिन तपस्या गरे। उनको उपासनादेखि प्रशन्न भएर माता भगवतीले महर्षिको घरमा पुत्रीको रूपमा जन्म लिइन् र कात्यायनीको नामले प्रसिद्ध भइन्। महिषासुर वध गरेकाले उनी महिषासुरमर्दिनी नामले पनि चिनिन्छिन्।  

कम्तीमा १०८ पटक ‘ॐ ऐं ह्रीं क्लीं कात्यायन्यै नमः’ वा ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनी क्रीं नमः’ भनेर मन्त्र जपी आज्ञा चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। भय, रोग, शोक र सन्तापबाट मुक्ति पाउन वा मोक्षप्राप्तिका लागि साधकहरूले विधिविधानपूर्वक पूजाआराधना गर्ने गर्दछन्।  

चम्किलो एवं ज्योतिर्मय स्वरूप, दाहिनेतर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रेतर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल धारण सिंहमा सवार कात्यायनी देवीको पूजापाठको प्रभावले अविवाहितको यथाशीघ्र विवाह हुनेसमेत शास्त्रीय मान्यता छ।  

कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ।

सातौं दिन (फूलपाती)

सप्तमी वा नवरात्रको सातौं दिन माता ‘कालरात्रि’ स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। शास्त्रमा देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङयुक्त डरलाग्दो स्वरूप भएकी, शिरको कपाल बिग्रिएको, गोला र ठूला त्रिनेत्र भएकी तथा मस्तकमा अर्धचन्द्र भएकी स्वरूपको उल्लेख गरिएको छ।  

कम्तीमा १०८ पटक ‘ॐ ऐं ह्रीं क्लीं कालराœयै नमः’ वा ‘ॐ देवी कालराœयै नमः’ भनेर मन्त्र जपी ललाट चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। शत्रुनाश, कृत्या (पारलौकिक शक्ति) बाधा निवृत्त गर्दै साधकले सुखशान्ति तथा मोक्ष प्राप्तिका लागि यिनको साधना गर्ने गर्दछन्। उनको श्रद्धा एवं भक्तिले कुनै पनि प्रकारबाट आतंकित या भयभीत हुनुपर्दैन भन्ने मान्यता छ। कालरात्रिलाई विशेष गरी राता तथा सबै प्रकारका सुगन्धित पुष्प चढाइन्छ।

ब्रह्माण्डसमान गोलाकार तीन नेत्र, श्वासबाट अग्नि निस्कने, दाहिनेतर्फको माथिल्लो हात वर मुद्रामा, तल्लो हात अभय मुद्रामा तथा देब्रेतर्फको माथिल्लो हातमा फलामको हतियार, तल्लो हातमा खड्ग, घना अन्धकारसमान भयानक कालो स्वरूप भएकी र गधामा सवार उनलाई वैज्ञानिक दृष्टिले प्रसारण शक्तिको स्वरूप मानिन्छ। यस दिन आठ वर्षकी कन्यालाई ‘शाम्भवी देवी’का नामले पूजा गरी विशेष रूपमा छाता र फूलमाला चढाउने परम्परा छ।  

यस दिन देवीघरमा फूलपाती भित्र्याउने चलन छ।

‘रम्भाकच्चु हरिद्रा च जयन्ती विल्वदाडिमौ

अशोकौ मानकश्चैव धान्यानि नवपत्रिका’

अर्थात् केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्तीलाई नवपत्रिका वा फूलपाती भनेर शास्त्रमा उल्लेख गरिएको छ। यो फूलपाती साइत हेरेर दसैंघरमा भित्र्याउने गरिन्छ।

आठौं दिन (महाअष्टमी)

अष्टमी तिथि वा नवरात्रको आठौं दिन माता महागौरीको पूजा गरिन्छ। भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्नका लागि महागौरीले कठोर तपस्या गरेकी थिइन्। सोही कारण उनको शरीर कालो भयो। तर तपस्यादेखि प्रसन्न भएर भगवान् शिवले उनको शरीर गंगाको पवित्र जलले धोएर कान्तिमय वा गोरो बनाइदिएको प्रसङ्ग देवीभागवतमा उल्लेख छ।

कम्तीमा १०८ पटक ‘ॐ ऐं ह्रीं क्लीं महागौर्यै नमः’ वा ‘ॐ देवी महागौर्ये नमः’ भनेर मन्त्र जपी मस्तिष्क चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। अलौकिक सिद्धि तथा असम्भव कामलाई सम्भव बनाउन यिनको आराधना गरिन्छ।

दाहिनेतर्फ तल्लो हातमा त्रिशूल, माथिल्लो हात अभय मुद्रामा तथा देब्रेतर्फ तल्लो हात वर मुद्रामा, माथिल्लो हातमा डमरु रहेकी महागौरीलाई अन्नपूर्णा, श्वेताम्बरधरा, वृषारूढा, ऐश्वर्य प्रदायिनी, चैतन्यमयीलगायत नामले पनि पुकारिन्छ। यस दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ। किनकि सतीदेवीले प्राण त्याग गरेपछि त्यही बेला रिसले चुर भएका महादेवबाट महाकालीका रूपमा भद्रकाली प्रकट भएकी थिइन्। तसर्थ, यसै दिन भद्रकाली देवीको विशेष पूजा गर्ने चलन छ।  

यस दिन पूजापछि बलि दिने चलन छ। साधकले बलि भनेको मनुष्यमा रहेका काम, क्रोध, लोभ, मोह, मद, अहंकारआदि दुर्गुणको त्याग गर्नु या भगवतीको चरणमा अर्पण गर्नु भनेको हो तर त्यसलाई पशुबलिको रूपमा चलन चलाएको पाइन्छ। खसीबोका, राँगा, कुखुरा आदिको सट्टा कुभिन्डो, घिरौंलाआदि फलफूललाई जनावरको स्वरूप बनाएर बलि दिनु उचित मानिन्छ।

रुद्रयामलमा ‘भगवतीको आस्था गरी पूजा गर्ने या सत्यको मार्गमा रहेका जुनसुकै जातजातिका मानिस ब्राह्मण हुन् र तिनले कुभिण्डो वा बेलको बलि दिनुपर्छ भनिएको छ। यस दिन नौ वर्षकी कन्यालाई ‘दुर्गादेवी’ नामले पूजा गर्ने चलन रहेको छ। त्यस्तै, देवीको वाहन सिंहलाई विधिवत् पूजा गर्ने र सकेसम्म नौ प्रकारका हातहतियारको पनि पूजा गर्ने प्रचलन रहेको छ।

नवौं दिन (महानवमी)

नवमी तिथि वा नवरात्रको नवौं दिन ‘सिद्धिदात्री’ स्वरूपा दुर्गाको पूजाआराधना गरिन्छ। नामअनुसार सिद्धिदात्री देवीका सम्पूर्ण अंगहरू दिव्य कान्तियुक्त हुन्छन् भनिएको छ। नाना प्रकारका रत्नजडित अमूल्य आभूषण धारण गरेकी, चार हात भएकी, कमल तथा सिंहको आसनमा विराजमान देवीको पूजाआराधनाबाट सर्वसिद्धि प्राप्त हुने विश्वास रहेको छ। देवीभागवतका अनुसार, भगवान् शिवजीले उनकै कृपाले सम्पूर्ण सिद्धि प्राप्त गरेका थिए र अर्धनारीश्वर रूपमा शिवजी प्रसिद्ध भएका थिए। सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारका सुगन्धित पुष्प, नरिवल र गुलिया परिकार अधिक प्रिय भएकाले चढाउने गरिन्छ।  

कम्तीमा १०८ पटक ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदाœयै नमः’ वा ‘ॐ देवी सिद्धिदाœयै नमः’ भनेर मन्त्र जपी मध्यकपालमा ध्यान गरेर यिनको साधना गरिन्छ। दाहिनेतर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रेतर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल लिएकी सिद्धिदात्रीलाई वैज्ञानिक दृष्टिले प्रकाश शक्तिको स्वरूप मानिन्छ।

यस दिन दैनिक कन्या पूजा गर्नेहरूले दस वर्षकी कन्यालाई र सुरुदेखि कन्यापूजा नगर्नेहरूले नौवटी कन्याको पूजा, विश्वकर्मा पूजा, कलकारखाना तथा मेसिनपूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ।  

यसरी यी अलगअलग देवीको साधना गर्दा ब्रह्मचर्य र सात्विक भोजनलाई विशेष प्राथमिकता दिन आवश्यक हुन्छ।

देवीभागवतमा उल्लेख छ, ‘कामदं मोक्षदं नृणां ज्ञानदं दुःख नाशनम्।’ अर्थात् यसरी विधिपूर्वक साधना गर्नाले मानिसले चिताएको पुग्ने, ज्ञान र मोक्ष प्राप्त गर्नुका साथै सम्पूर्ण दुःख नाश हुन्छ। त्यसैले पनि साधकले मनमा रहेको आसुरी भाव नष्ट गरी तत्वज्ञान प्राप्त गर्न पनि दुर्गा भवानीको पूजाआराधना गर्नुपर्ने मान्यता रहेको हो।  

विजयादशमी

त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले रावणमाथि यही आश्विन शुक्ल दशमीका दिन विजय प्राप्त गरेको तथा देवी भगवतीले महिषासुरको वध गरेको पौराणिक कथामा उल्लेख छ। श्रीरामले समुद्रकिनारमा नौ दिनसम्म अलगअलग रूपमा नवदुर्गाको पूजा गरेको र दसौं दिन रावणमाथि विजय प्राप्त गरी हर्षोल्लासका साथ विजयोत्सव मनाएकाले विजयादशमी भनी मनाउन थालिएको हो। दशमी तिथिमा शुभ साइत हेरी मान्यजनबाट दहीअक्षताको टीकाग्रहण र जमरा लगाउने चलन छ। टीकासँगै छोरीचेली, ज्वाइँ, भान्जाभान्जीलगायतलाई सगुनसहित दक्षिणा दिइन्छ।

कोजाग्रत पूर्णिमा  

बडादसैंको अन्तिम दिन आश्विन शुक्ल पूर्णिमाका दिन साँझ देवीघरमा लक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने चलन छ। वैकुण्ठबाट यस दिन महालक्ष्मी मत्र्यलोकमा सवार हुने र को जागेको छ उसैको घरमा बास बस्ने भएको मान्यताका आधारमा यो पर्व मनाइन्छ। त्यसैले यस दिन घरघरमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने चलन छ।

प्रकाशित: १५ आश्विन २०७९ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App