३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

मान्म बजारमा खानेपानीको हाहाकार

कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा खानेपानीको हाहाकार भएको छ। खाँडाचक्र नगरपालिकाको रोटेपानी देखि ताला खोर सम्म पर्ने सडक माथिबाट आएको पहिरोले खानेपानीको पाइप लागेपछि कालिकोटको सदरमुकाम मान्म बजारमा ५ दिन यता देखि खानेपानीको हाहाकार भएको हो।

रोटेपानी देखि ताला खोर सम्म पर्ने खानेपानी मुहानमा खाँडाचक्र नगरपालिकाले डोजरमार्फत जंगल फडानी गरी सडक निर्माण गर्दा यस्तो समस्या भएको हो। स्थानीय हिकमतजंग मल्लले भने, ‘चुलिमालिका लेककै नाममा दाँहाँ,पाखा र मान्म बजारबाट दुईवटा गरी चार वटा सडक निर्माण गर्न थालिएको छ। यसले परापुर्वकाल देखी संरक्षण गर्दै आएको बनजंगल फडानीका साथै कृतिम पहिरो सिर्जना गरेको छ। जसको शिकार सदरमुकाम मान्म बजारको खानेपानी पनि बनेको छ।’

मान्म बजारदेखी उक्त खानेपानीको मुहानतिर न कुनै मानव बस्ती छ। न उक्त सडक आवश्यक छ। तर डोजर मार्फत धमाधम बन फँडानी गरी सडक निर्माण गरेकै कारण पहिरो नजाने वन पनि पहिरोमा परिणत भएको छ। यसकै कारण मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै एक हजार परिवारहरुले खानेपानीको संकट खेप्नु परेको छ।

खानेपानीको अनुगमनका लागि पहिरो स्थल पुगेका खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज ताम्राकारले पहिरोले धेरै क्षति गरेको हँुदा मर्मतमा समस्या भएको बताए। ‘दृर्घकालिन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल गरिरहेका छौं। अब फँडानी गरी निर्माण गर्न थालिएको सडकको काम रोक्दै पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा गर्न नगरका छलफल गर्छु। तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर अबको दुई दिनमा मान्म बजारमा खानेपानी नियमित गराउँछु।’

सरोकारवालाहरुले मान्म बजारको खानेपानी समस्या समाधानका लागि पहिरोको दिर्घकालिन रोकथाम आबश्यक रहेको बताएका छन्। मान्म बजारमा बर्षेनी खानेपानी अभावको समस्या हुनुमा व्यवस्थापकीय समस्या पनि रहेको स्थानीय बताउँछन्।  

पहिरोले लगेको खानेपानीको पाईप लाईन तस्विर ललि तबिष्ट कालिकोट

प्रकाशित: १३ आश्विन २०७९ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App