८ वैशाख २०८१ शनिबार
समाज

चाडपर्वमा दुर्घटनाकै पिरलो

फाइल तस्बिर

मुलुकमा दसैं, तिहार, छठजस्ता चाडपर्वको समय सुरु भएको छ। हिन्दु धर्मावलम्बी बाहुल्य नेपाली समाजलाई दसैंको हर्षोल्लास र खुसियालीले छोइसकेको छ। चाडपर्व सुरुसँगै एउटा त्रास पनि सुरु भएको छ। त्यो त्रास हो– सडक दुर्घटना। नेपालमा ठुल्ठुला दर्दनाक सडक दुर्घटना चाडपर्वका बेला भएका छन्। यस्ता दुर्घटनाले चाडबाडको बहारसँगै जनमन त्रसित हुन्छ। यस वर्ष पनि चाडपर्व नजिकिएसँगै सडक दुर्घटनाको सिलसिला सुरु भइसकेको छ। यही असोज ६ गते मकवानपुर र रुकुम पूर्वमा भएका दुई सडक दुर्घटनामा १२ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै बुधबार बिहान सल्यानमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ।

असोज ६ गते काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६ मकवानपुरमा दुर्घटना हुँदा सातजनाको मृत्यु भयो। रुकुम पूर्वको भूमे गाउँपालिका–३, तिरखोलामा ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको ज्यान गयो। दुवै बसमा दसैंका लागि घर फर्कंदै गरेका यात्रु थिए। बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट फर्किरहेको रा१ज ५६३ नम्बरको जिप गन्तव्यमा पुग्नुभन्दा केही समयअघि बुधबार बिहान कपुरकोट–३ मूलपानीमा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको हो। मृत्यु हुँने सबै कपुरकोट–६ का बासिन्दा रहेको प्रहरीले जनाएको छ।

गत वर्ष पनि दसैंका बेला असोज २६ गते मुगुको छायाँनाथ रारा नगरपालिकामा बस दुर्घटना भएको थियो। दसै मनाउन नेपालगन्जबाट घर गइरहेका ३२ जना यात्रुको उक्त दुर्घटनामा मृत्यु भएको थियो। त्यसको अघिल्लो दिन कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाले ज्यान गुमाएका थिए।

चाडबाडकै बेला २०७५ साल कात्तिक पहिलो साता नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, अरूणखोलामा बस दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका थिए। २०७१ असोज २० गते दसैं मनाएर धनगढी फर्कंदै गरेका यात्रु बोकेको बस डोटीको जोरायलमा दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो। उक्त दुर्घटनाको पीडा अहिलेसम्म स्थानीयले भुल्न सकेका छैनन्। ‘दसैं आउँदा त्यो दर्दनाक घटनाको याद आइहाल्छ। तैपनि यात्रा त गर्नैपर्छ,’ जोरायल घटनामा घाइते भएका तथा आमा, हजुरआमा र छोरी गुमाएका कलाकार सौगात ओझा भन्छन्, ‘सायद त्यो दिन त्यत्रो भीड देख्दादेख्दै बस नचढेको भए...!’

चाडबाडका बेला बढी दुर्घटना

असोज, कात्तिक र मंसिरलाई दसैं, तिहार र छठका लागि आवतजावत बढी हुने महिनाका रूपमा लिइन्छ। दसैंको बहार असोजबाटै सुरू हुन्छ। दसैं सकिएपछि तिहार आउँछ। छठ पर्वको रौनक सकिन मंसिर पहिलो सातासम्म लाग्छ। यसैकारण यी तीन महिनामा चाडपर्व मनाउन आवत–जावत बढी चल्छ। यही आवतजावतका क्रममा अक्सर ठूला दुर्घटना हुने गरेका छन्। ससाना दुर्घटना पनि यही समयमा बढी भएका छन्। नेपाल प्रहरीले राखेको आकडाअनुसार अन्य बेलाभन्दा यी तीन महिनामा बढी सडक दुर्घटना भएका छन् र मृत्यु दर पनि बढी छ।

आर्थिक वर्ष २०७६/७७ मा मुलुकभरि २५ हजार सातसय ८८ सडक दुर्घटना भए। जसमध्ये ३० प्रतिशत असोज, कात्तिक र मंसिरमा भएका छन्। ती सडक दुर्घटनामा दुई हजार दुई सय ५१ जनाको ज्यान गयो। यो संख्याको ३५ प्रतिशत अर्थात् सात सय ८६ जनाले यिनै तीन महिनामा भएका दुर्घटनामा ज्यान गुमाएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०७७/७८ मा देशभर ३३ हजार एक सय ३५ दुर्घटना भए। जसमध्ये असोज, कात्तिक र मंसिरमा आठ हजार आठ सय ३२ दुर्घटना भए। उक्त आवमा सडक दुर्घटनामा दुई हजार पाँच सय जनाको मृत्यु भयो। जसमध्ये यी तीन महिनामा भएका सडक दुर्घटनामा मृत्यु हुने ६ सय ८९ जना थिए।

आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ३९ हजार तीन सय ७९ सडक दुर्घटना भए। जसमध्ये १० हजार तीन सय ६२ वटा दुर्घटना यिनै तीन महिनामा भएका थिए। उक्त आर्थिक वर्षमा दुई हजार आठ सय ८३ जनाले ज्यान गुमाए। जसको ३० प्रतिशत यी तीन महिनामा भएका दुर्घटनाबाट ज्यान गुमाउने थिए।

सरकार औपचारिकतामै सीमित

यातायात क्षेत्र व्यवस्थापनका लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ कार्यान्वयनमा छ। जसलाई २०७५ मा संशोधन गरी थप व्यवस्थित पार्ने प्रयास गरिएको थियो। यही ऐनको दफा १०४ मा लामो दुरीमा चल्ने सवारीसाधनले अनिवार्य दुई चालक राख्नुपर्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार दुई चालकले ६/६ घण्टामा फेरिएर चलाउनुपर्छ। यसबाहेक दुर्घटना न्यूनीकरण गर्न भन्दै सरकारले चाडपर्वमा ‘टाइम कार्ड’ पनि लागु गर्छ। यसबाहेक सवारी रुटमा आवश्यक सतर्कताका लागि सुरक्षा संयन्त्रलाई पनि परिचालन गरिन्छ। जुन गृह मन्त्रालयले यस वर्ष पनि गरेको छ। तर चाडपर्वमा हुने दुर्घटनामा कमी आउन सकेको छैन।

सरकारले औपचारिकताका लागि सूचना जारी गर्ने, सुरक्षाकर्मी परिचालन गर्नेबाहेक अन्य प्राविधिक र भौतिक पक्षमा ध्यान नदिएकाले दुर्घटना न्यूनीकरण हुन नसकेको जानकार बताउँछन्। सरकारले यातायातका साधनको मेसिनरी पक्ष र सडक पूर्वाधारमा ध्यान पुर्‍याउन नसक्दा दुर्घटना र जोखिम बढिरहेको महानगरीय ट्राफिक महाशाखाको नेतृत्व गरेका पूर्वप्रहरी नायब उपरीक्षक (डिआइजी) केशव अधिकारी बताउँछन्। ‘पहिलो कुरा हाम्रो सडकमा चलिरहेका भेहिकल (सवारी साधन) को अवस्था कस्तो छ, गाडी सडकमा कति वर्षदेखि चलिरहेका छ भन्नेतर्फ सरकारका निकायको ध्यान पर्याप्त पुगेको छैन,’ उनले भने, ‘दोस्रो कुरा हाम्रा सडकको अवस्था पनि नाजुक छ, जसले पनि दुर्घटना निम्त्याएको देखिन्छ।’

सरकारले आफ्नो योजनामा वर्षौ पहिले राखेको ‘भेहिकल फिटनेस सेन्टर’ कार्यान्वयनमा नल्याउँदा सवारीसाधनको अवस्था परीक्षण हुन नसकेको उनी बताउँछन्। ‘राजधानीमा यो सेन्टर पहिल्यै थियो तर दरबन्दी, प्राविधिक जनशक्तिको आपूर्ति हुन नसक्दा त्यत्तिकै रह्यो। अहिले ७ वटै प्रदेशमा स्थापना गर्ने भनिएको छ,’ उनले भने।

दक्ष सवारीचालक (ड्राइभर) विदेश पलायन हुँदा पनि सडक दुर्घटना भइरहेको पूर्वडिआइजी अधिकारीको बुझाइ छ। राम्रा चालक राम्रो आम्दानीको आशमा विदेश पलायन हुँदा यहाँ एकदमै कम अनुभवीले सवारीसाधन चलाइरहेको उनी बताउँछन्।

यस्तै नेपालमा सडक निर्माण गर्दा इन्जिनिरिङ मापदण्ड पुरा नहुनु, बिग्रिएका तथा भत्किएका सडक मर्मत नहुनु र दुर्घटनाका दृष्टिकोणले जोखिममा रहेका सडकबारे सरोकारवालाको ध्यान नपुग्नुले पनि दुर्घटनाको जोखिम बढाइरहेको डिआइजी अधिकारी बताउँछन्। उनले भने, ‘कतिसम्म भने वर्षौंअघिदेखि ब्ल्याकस्पट भनेर उल्लेख गरिएका ठाउँमा उसैगरी लगातार दुर्घटना भइरहेका छन्, मान्छे मरिरहेका छन्। बोर्ड टाँसिएकै हुन्छ तर, मर्मत हुँदैन। सरकारी निकाय गैरजिम्मेवार बन्दा दुर्घटना न्यूनीकरण हुन नसकेको अवस्था पनि छ।’

यस्तो परिस्थितिमा चाडबाडमा यात्रुको चापसँगै दुर्घटनाको जोखिम पनि बढ्नु स्वाभाविक हुन्छ। काठमाडौं उपत्यकाबाट मात्रै दसैंमा १३ देखि १४ लाख यात्रु बाहिरिने गरेका छन्। एकै दिन डेढ–दुई लाख मानिससम्म बाहिरिन्छन्। यसले जोखिमको दर पनि बढाउने जानकार बताउँछन्।

चाडबाडका बेला सरकारले औपचारिकताका लागि केही सूचना जारी गर्ने तर सडकमा ‘क्यु फ्री’ गरेर जोखिम बढाउने काम गरेको पूर्वडिआइजी अधिकारी बताउँछन्। ‘हामीकहाँ सवारीसाधनको संख्या कम छ। यही कारणलाई देखाएर क्यु फ्री गरिन्छ। क्यु फ्रीमा चल्ने गाडी न रुट परमिट हेर्छन न सडकको गुणस्तर,’ उनले भने, ‘यस्तोमा दुर्घटनाको सम्भावना अधिक हुन्छ।’ यस्ता चाडबाडमा सरकारी सवारीसाधन पनि प्रयोग गर्ने विकल्पमा सरकार जानुपर्ने उनी बताउँछन्।

प्रकाशित: १३ आश्विन २०७९ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App