८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश प्रहरीद्वारा ५२ वटा यात्रु सहायता कक्ष स्थापना

हेटौंडा बसपार्कमा रहेको यात्रु सहायता कक्षबाट आवश्यक परामर्श दिँदै प्रहरी।

चाडपर्वको समयमा सर्वसाधारण यात्रुको सहजताका लागि बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ। चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चाडपर्वको समयमा बढी भिडभाड हुने र आम नागरिकलाई यात्रामा असहज हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रदेश प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण बज्राचार्जले जानकारी दिइन्। उनका अनुसार बागमती प्रदेश अन्तर्गतका बसपार्क तथा बढी भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको छ। मकवानपुरमा ८ वटा, चितवनमा ४, धादिङमा ६, नुवाकोट र रसुवामा ६/६ वटा, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछापमा २ र सिन्धुली जिल्लामा ५ वटा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। 

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरी सहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ सै घण्टा प्रहरीको उपस्थिती रहनेछ। ‘यात्राको क्रममा वा अन्य कुनैपनि समयमा कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन यात्रु वर्गहरुमा हार्दिक अनुरोध गर्दछौं’, डीआइजी बज्राचार्यले भनिन्, ‘चाडपर्वको समयमा हुनसक्ने चोरी, ठगी लगायतका घटना हुन नदिन बागमती प्रदेशको प्रहरी टोली तयार छ। यस अभियानमा सर्वसाधारणको समेत सहयोग र समन्वयको अपेक्षा राखेका छौं ।’ प्रहरीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। कुनैपनि घटना भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: १० आश्विन २०७९ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App