१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पुल सञ्चालन गर्न आग्रह

 सीमावर्ती भारतको जोगबनी बजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतका केन्द्रीय गृहमन्त्री अमित साहलाई विराटनगरका उद्योगी व्यवसायीले माग राखेका छन्।

मन्त्री साहलाई पुल सञ्चालनका साथै भारतमा नेपालीहरूलाई विभिन्न सेवा सुविधा दिनसमेत आग्रह गरिएको छ।  

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा सदस्य गोपाल अग्रवाल, विनित सिंघानिया लगायतको टोलीले मन्त्री साहलाई भेटेर मिरगञ्ज पुल सञ्चालनलगायत अन्य विभिन्न समस्या समाधानका लागि आग्रह गरेको हो। विहारको किसानगञ्जमा आयोजना हुने जनभावना सभालाई सम्बोधन गर्न आएका साहलाई व्यापार संघका प्रतिनिधिले पुललगायत अन्य समस्या समाधानका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष राठीले जानकारी दिए।  

राठीका अनुसार छोटो भेटमा साहले ज्ञापनपत्र बुझ्दै कार्यान्वयन हुने आश्वसन दिए। ज्ञापनपत्रमा २०२२ जनबरी ६ देखि बन्दभएको मिरगञ्ज पुलको विकल्पमा बनेको मोटरेबल पुल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ। पुल सञ्चालन नहुँदा नेपालभारत आवतजावत गर्ने ३ सय सवारी तथा मालवाहक सावरीले समस्या झेल्नु परेको उल्लेख गरिएको छ।  

मिरगञ्ज पुल सञ्चालन नहुँदा १ सय १४ किलोमिटर घुमेर आइसिपी आउनुपर्ने बाध्यता हुँदा दैनिक एउटा गाडीलाई २० हजार भाडा थप लागिरहेको छ। आर्थिक समस्याका साथै ६ दिन विलम्बसमेत हुनेहुँदा उद्योगहरू समस्यामा परेकाले समाधान गरिदिन आग्रह गरिएको हो।  

उनीहरूले मन्त्री साहलाई भारत हुँदै फर्किने नेपालीका लागि भारतीय भिसा बाध्यता खारेज गर्न अनुरोध गरे। नेपाली नागरिकहरूका लागि सहज चिकित्सा सेवा उपलब्ध गराउँदै अस्पतालको शुल्क र सुविधाको सन्दर्भमा भारतीय नागरिक सरह व्यवहार गर्नुपर्ने र हाल नेपालीले १५ देखि २० प्रतिशत बढी शुल्क तिर्नु परिरहेकाले त्यो हटाउनसमेत माग गरिएको छ।  

रेल्वेमा भारतीय नागरिक बराबर नेपालीलाई सुविधा दिन र नेपाली ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई सहुलियत दरमा सिट सुविधा उपलब्ध गराइदिन पनि अनुरोध गरेका छन्। भारतबाट नेपालजस्ता मुलुकमा चामल र गहुँ निकासीमा प्रतिबन्ध लगाइँदा नेपाली जनता र उद्योगधन्दामा ठूलो असर परेकाले निर्यात गर्न अनुमति दिनसमेत ज्ञापनपत्रमार्फत अनुरोध गरेको वरिष्ठ उपाध्यक्ष राठीले बताए ।

प्रकाशित: १० आश्विन २०७९ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App