१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भ्रमणको माग गर्दै विद्यार्थीद्वारा नगरपालिकामा तोडफोड, चार सुरक्षाकर्मी घाइते

रौतहटमा एक विद्यालयका विद्यार्थीहरुले शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड गरेका छन्। तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति पुग्नुका साथै चार सुरक्षाकर्मी घाइते भएका छन्।

रौतहटको बौद्धिमाई नगरपालिकाको शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले आइतवार नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। शैक्षिक भ्रमणको माग गरिरहेको विद्यार्थीहरुको समूहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्।

आक्रोशित विद्यार्थीहरुले नगरपालिका कार्यालयमा रहेको ना १ झ १६९३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन्। तोडफोड गरिएको गाडी नगर प्रमुख प्रदीप यादवले चढ्ने गरेका छन्। यसै गरी विद्यार्थीहरुले नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइलका तथा अन्य साधनमाथि पनि आक्रमण गरेका छन्। नगरपालिका कार्यालयमा आक्रमण गरी विद्यार्थीहरुले भवनमा सामान्य क्षति पुर्‍याउनुका साथै झ्यालका सीसाहरु पनि तोडफोड गरेका छन् ।

विद्यार्थीहरुको समूहले आफूहरुले बारम्बार शैक्षिक भ्रमणको लागि बजेट छुट्याउन माग गरेको भए पनि नगर प्रमुखले विद्यार्थीको मागलाई कुनै वास्ता नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताएका छन् ।

नगरपालिकामा विद्यार्थीहरुले तोडफोड गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो। तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड अश्रु ग्याँस तथा ३ राउन्ड हवाई फायर पनि गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि सुनिल मल्लका अनुसार विद्यार्थीहरुको जथाभावी ढुंगा प्रहारबाट नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका तिन जना गरी चार सुरक्षाकर्मी घाइते भएका छन्। यसै गरी केही विद्यार्थी पनि घाइते भएको बताइएको छ। घाइते सबैको उपचार स्थानीय क्लिनिकमा गरिएको छ।  

विद्यार्थीहरुको मागको विषयमा नगर प्रमुख प्रदीप यादवसित सम्पर्क गर्दा आफूविरुद्ध षड्यन्त्र गरी विपक्षीहरुले आक्रमण गराएको आरोप लगाएका छन्। विद्यार्थीहरुले पहिलेदेखि नै शैक्षिक भ्रमणको लागि रकम छुट्याउने माग गर्दै आएको र आफूले प्रधानाध्यापकसित सम्पर्क गरी दुई लाख रुपैया छुट्याउने आश्वासन दिएको भए पनि एक्कासि आक्रमण भएको बताएका छन्।

शुक्रवार विद्यार्थीहरुसित राम्रै वातावरणका सकारात्मक कुराकानी भएको र अहिले डेंगु महाभारीको डर रहेकोले शैक्षिक भ्रमणको लागि केही समय धैर्य गर्न भनेको भए पनि विपक्षीहरुको उक्साहटमा विद्यार्थीहरुले आक्रमण गरेको बताएका छन्।

आफू र नगरपालिकामा पनि नियोजित किसिमले गरिएको आक्रमणको घोर भत्र्सना गर्दै नगर प्रमुख यादवले विद्यार्थीको तोडफोडले करिब तिन करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको बताएका छन्। विद्यार्थीहरु कडा आन्दोलनमा उत्रेपछि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र बौद्धिमाई नगरपालिकाको स्थिति सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७९ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App