५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पहिलो पटक गिडिदह पुगेर फर्कियो सरकारी टोली

जुम्लाको तातोपानी गाउँपालिकामा रहेको गिडिदह (ताल)मा सरकारी टोली पहिलो पटक पुगेर फर्किएको छ।

जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुगेको हो।

तातोपानी गाउँपालिकाबाट हिडेर आउन जान ४ दिन लाग्ने जोखिम रहेको उक्त दह क्षेत्रमा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, उपाध्यक्ष रेवति रावल नेतृत्वको जनप्रतिनिधीहरु, प्रमुम प्रशासकीय अधिकृत मिलन बुढ्थापासहित इञ्जिनियर तथा कर्मचारी टोली, स्थानीय र सरोकारवाला निकाय र नेपाल पत्रकार महासंघ जुम्लाको नेतृत्व पत्रकारहरुसहित ७५ जनाको टिम गिडिदह सम्मेलनमा सहभागी भएको थियो।

समुन्द्र सतहदेखी ३ हजार ४ सउ ८२ मिटर उचाइमा रहेको तातोपानी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा गिडिताल (दह) मा सम्मेलन सम्पन्न गरिएको हो। स्थलगत रुपमा सरकारी तहबाट कोही पनि निकाय पुग्न नसकेको उक्त तालमा चार दिनको लामो स्थलगत रुपमा अवलोकन गरेर टोली फर्किएको छ।

प्रकृतिले प्रचुर सुन्दर उक्त तालको हालसम्म लम्बाइ, चौडाइ र गहिराइ समेत नाप्न सकिएको छैन। वनजंग, झारी, खोलानाला, पाटनको लामो यात्रा रहेको सो दह क्षेत्रमा बाटो पनि नभएकाले हालसम्म कोही पनि निकाय त्यहाँ पुग्न नसकेको र पर्यटकीय पूर्वाधार तयार हुन नसकेका कारण पहिलो पटक सम्मेलनको आयोजना गरिएको वडा नम्बर ४ का अध्यक्ष अमरबहादुर रोकायाले बताए। यस्तै गिडिदह सम्मेलनले १४ बुँदे घोषणा पत्र जारी गरेको छ भने कार्यपत्र समेत प्रस्तुत गरेको छ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलगाईंले गिडिदहमा प्रस्तुत गरेको घोषणापत्रमा गिडिदह (ताल) को पर्यटन विकासका लागि विस्तृत डिपिआर वनाई डिपिआरका कार्यक्रम अगाडि बढाउने, गिडि दह पेरिफेरिका अन्य दह, धार्मिक क्षेत्र, जडिवुटि वनस्पति, पाटन, जनावर, वनस्पति, जनवार र पंक्षीको प्रचार प्रसार गर्ने, गिडिताल पर्यटन प्रवर्द्धनका लागि संघीय सरकार, प्रदेस सरकार र गैर सरकारी निकायमा पहल गर्ने, धार्मिक तथा पाटन क्षेत्रको प्रवर्द्धन गर्ने, जडिवुटि प्रवर्द्धन गर्ने, यस क्षेत्रमा रहेका जंगली जनावरको संरक्षण गर्ने, त्यहाँबाट गिडिदह घोषणापत्रमा उत्पादित पानीबाट विजुली निकाल्न पहल गर्ने, गिडिताल जान गिडिखोला गाउँ हुदै फुलचाउले पाटन, लामाचौर सम्म सड्क र डिडि दह सम्म साईकल ट्रेल निर्माण गर्ने उल्लेख छ।

सम्मेलनमा गाउँपालिका उपाध्यक्ष रेवति रावलले महिलाहरु जेखिम ठाउँमा जान सक्दैनन, जानु हुँदैन भन्ने विषय गडिदह सम्मेलनले पनि उदाहरण दिएको बताउँछिन्। सो स्थानमा उपाध्यक्ष रावलसहित ३ जना महिलाको सहभागीता रहेको थियो। उनले गिडिदह जुम्लाको आर्थिक समृद्धिको क्षेत्र हुने भएकाले पर्यटक आकर्षण हुने पूर्वाधार तयार गर्न आवश्यक रहेको बताइन्।

वडाध्यक्ष अमरबहादुर रोकायाले अहिले पनि गिडिदह गुमनाममा रहेकाले यसको लम्बाइ, चौडाइ, गहिराइसहितको तथ्यांकका लागि पहल हुने  बताए। दह क्षेत्रको हालसम्म कुनै प्रकारको तस्बिर र भिडियो पनि सार्वजनिक हुन नसकेको आवस्थामा यस पटक पत्रकार तथा सहभागी टिमबाट तस्बिर सार्वजनिक समेत हुने भएका छन्।

तालको वरिपरि ठूला पाटन, घना भण्डार वन, धार्मिक स्थलहरु उत्तिकै रहेका र बाघ, भालु, कस्तुरी मृग पाइने स्थानीय दुर्गा प्रसाद पाण्डेले बताए। क्षेत्रका पाटन र जंगलमा उत्तिकै दर्जनौं जडिवुटि छन्। गिडितालमा गएपछि भुत प्रेतले ज्यान लिने भनिने धार्मिक परम्परागत विश्वास यस पटक तोडिएको छ।

तालको वरिपरि समेत डोरेटोबाटो नहुँदा परिक्रमा गर्न मिल्दैन, चट्टान र घना जंगलको गहिरो भागमा यो ताल भएकाले गोरेटो वाटो, धर्मशाला आवश्यक भएको र यस विषयमा प्रथामिकता दिइने तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए।

प्रकाशित: ८ आश्विन २०७९ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App