१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पूर्वमा पानीको हाहाकार

विराटनगर-गर्मी बढेसँगै मुहान सुक्दा पूर्वी नेपालमा खानेपानी संकट गहिरिएको छ । मधेस–तराई क्षेत्रका चापाकल सुक्न थालेका छन् भने पहाडी क्षेत्रका कयौं बस्तीमा घरभन्दा निकै टाढाबाट खानेपानी ओसार्नेको ताँती देखिन थालेको छ । उत्तरी मोरङको टाँडी, याङशिला, भोगेटनीलगायत पहाडी बस्तीमा खानेपानी समस्या छ । गर्मीयाममा विराटनगरमै खानेपानीको समस्या हुन्छ ।

सुनसरी, धरान–२६ र बराहक्षेत्र गाविसका तीनवटा वडाका २ सय ९ घरले चारवटा मुहानको पानी एक ठाउँमा संकलन गरी १७ सय मिटर माथि डाँडामा पाइपमार्फत तानेर पुनः संकलन गर्छन् । अनि, प्रत्येकको घरमा धारामार्फत वितरण गर्छन् । तर, लोडसेडिङ्का बेला पानी तानेर वितरण गर्न नसक्दा हाहाकार हुन्छ ।

'लोडसेडिङ् नहुँदा त गाउँमा पानी सहजै पुग्ने गर्छ, जब लोडसेडिङ् हुन्छ अनि समस्या,' समितिका अगुवा टपेन्द्र राईले भने । धरान उपमहानगरपालिकामा अहिले एसियाली विकाश बैंकको एक अर्ब ४८ करोड अनुदान तथा ऋणमा खानेपानी परियोजना सञ्चालित छ । यो योजना सन् २०१७ सम्म सक्ने लक्ष्य छ । योजना पूरा भएपछि खानेपानी संकट टर्नेछ ।

इटहरी उपमहानगरपालिकामा पनि थप नयाँ परियोजना नथालिए खानेपानी संकट गहिरिने छ । यहाँ बर्सेनि एक हजारभन्दा बढी घर थपिनेक्रम छ । ती घरका लागि पनि भएकाले नयाँ योजना आवश्यक छ ।

इटहरी साना सहरी तथा खानेपानी आयोजनाले ७० हजारभन्दा बढीलाई खानेपानी सेवा विस्तार गरेको छ । आयोजनाले थप तीन डिप बोरिङमार्फत पानी थप्ने योजना बनाएर काम अघि बढाएको छ । अहिले इटहरी २, ४ र ५ मा तीनवटा ट्यांकीमार्फत दैनिक ७५ लाख लिटर पानी तानेर धारामार्फत वितरण गरिएको छ ।

सुनसरीकै चुरे पहाडका फेदीमा पर्ने भरौल, बराहक्षेत्र, धरान उपमहानगरपालिका भित्र पर्ने विष्णपादुका र पाँचकन्या क्षेत्रका मुहान सुकेका छन् । भरौलमा थुप्रै ट्युबवेलबाट पानीको आपूर्ति हुने गरेकोमा अहिले ती सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरीले जनाएको छ ।

ट्युबवेल सुक्दा सास्ती

सप्तरीका आधा दर्जन बढी गाविसमा मुहान सुक्दै गएका छन् । ट्युबवेललगायत पानीका स्रोत सुकेपछि ती क्षेत्रका सर्वसाधारण काकाकुलको नियति भोग्न बाध्य छन् ।

पशुपालनका लागि उर्वर मानिएको बकधुवा गाविसको मोहनपुर र महुली क्षेत्रका अधिकांश ट्युबवेल सुकेका छन् । ट्युबवेलमा पानी नआउँदा सास्ती भएको किसानको गुनासो छ ।

तेरहौता ५ स्थित नयाँ बस्ती र मगर टोल, कल्याणपुरको मझाउ, औरहीको वथनाहा, पातोलगायत गाविसका बस्तीमा खानेपानी समस्या भएको स्थानीय बताउँछन् । खास गरी सप्तरीको उत्तरी भेगमा पर्ने चुरे छेउका बस्तीमा यो समस्या निकै जटिल बनेको छ ।

दशकदेखि खानेपानी पीडा झेल्दै आएका औरहीको बथनाहा टोलमा यतिबेला ट्युबवेल सुक्दा हाहाकार भएको स्थानीय बताउँछन् । ट्युबवेलमा पानी नआउँदा खानेपानी समस्या जटिल बन्दै गएको राजेश मण्डलको भनाइ छ । तीन सय परिवार बस्दै आएको बथनाहामा हाल पाँचवटा ट्युबवेलमा मात्र पानी आइरहेको मण्डल बताउँछन् । २ सय फिटभन्दा तल गाडिएका ट्युबवेलमा मात्र पानी आउने गरेको उनले बताए । आर्थिक रूपमा सबल केही परिवारले ४० हजार रुपैयाँ लगानी गरी दुई सय फिटभन्दा तल ट्युबवेल जडान गरेका छन् । 'त्यत्तिकै पानी आएको होइन । ट्युबवेलमा ३५ हजार रुपैयाँ खर्च गरेको छु,' स्थानीय रामसुन्दर मण्डलले भने,' '२ सय फिटभन्दा तलबाट पानी झिक्न दुइटा हेड जोड्नुपरेको छ ।'

गहिरो ठाउँमा ४० फिट खन्दा पानी आए पनि खानलायक नरहेको स्थानीयको भनाइ छ । पानीमा आइरन मात्रा अत्यधिक भएकाले गनाउने सञ्जय मण्डल बताउँछन् । मण्डल भन्छन्, 'त्यो पानी खान गाईबस्तुसमेत अघि सर्दैनन् ।'

२०१७ सम्म लक्ष्य पूरा नहुने

सरकारले सन् २०१७ सम्म सबै नेपालीलाई खानेपानी तथा सरसफाइ पुर्याउने लक्ष्य राखे पनि इलाममा भने यो लक्ष्य पूरा नहुने देखिएको छ । दर्जनौं गाउँमा खानेपानी अभाव टार्न बर्सेनि आउने बजेटले छेवै नपुगेपछि तोकिएको समयमा तोकिएको लक्ष्य पूरा नहुने अवस्था आएको हो ।


जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअनुसार केही गाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् तर बर्सेनि खानेपानी तथा सरसफाइमा आउने बजेट ती आयोजनामा बाँड्दा 'कनिका छराइ' मात्र छ ।

कार्यालयका इन्जिनियर विनोद योञ्जनले अहिले विभिन्न गाउँमा ३२ खानेपनी आयोजना निर्माणाधीन रहेको बताए । तर कनिका छर्ने खालको बजेट आए सन् २०१७ को अन्त्यसम्म ५ देखि ७ आयोजना मात्रै पूरा हुनेछन् । डिभिजनका अनुसार ३२ वटै आयोजना निर्माण भइसक्दा पनि जिल्लामा खानेपानी अभाव भने हट्नेछैन । नयाँ आयोजनाका लागि विभागबाट सुरुमा ५ लाख रुपैयाँ मात्र आउँछ । अर्काे वर्ष 'राम्रो' बजेट आए १५ लाखसम्म हुन्छ ।

मंगलबारे, शान्तिडाँडा, चुलाचुली, महमाई, माबु, बरबोटे, दानाबारी, चमैता, जोगमाईलगायत गाउँमा आयोजना बन्दैछन् । यी आयोजाको लागत अनुमान १ अर्ब ३७ करोड रुपैयाँ छ । त्यसमध्ये साढे ६ करोड रुपैयाँ मात्रै आएको छ । डिभिजनप्रमुख पदम कुँवरले भने, 'करिब डेढ अर्ब आवश्यक ठाउँमा साढे ६ करोड रुपैयाँ मात्रै आयो । 'यही गतिमा बजेट आउने हो भने जिल्लावासीलाई खानेपानी पुर्याउन दशकभन्दा बढी लाग्छ ।'

सन् २०१५ सम्म विश्वको ५० प्रतिशत जनसंख्यालाई खानेपानी पुर्याउने अन्तर्राष्ट्रिय लक्ष्य थियो । नेपालले भने २ वर्ष थपेर ०१७ सम्म शतप्रतिशतलाई खानेपानी पुर्याउने लक्ष्य राखेको छ ।

डिभिजनअनुसार अहिले जिल्लाको ७८.४ प्रतिशत जनसंख्यालाई खानेपानीको सुविधा छ ।

दर्जनौं बस्ती संकटमा

धनकुटाका एक दर्जनभन्दा बढी गाविसमा खानेपानी संकट देखिएको छ । जिल्ला विकास समिति र खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा आएको मागका आधारमा कुरुलेतेनुपा, बोधे, फाक्सिव, बूढीमोरङ, छिन्ताङ, खोकु, आँखिसल्ला, तेलिया, मुगा, फलाटे, बेलहरा, लेगुवा, घोर्लीखर्क र आहाले गाविसमा खानेपानीको चरम संकट छ । यी गाविसका उच्च भेगका बासिन्दाले घन्टौं लगाएर पानीको जोहो गर्नुपर्ने अवस्था रहेको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए ।

प्राकृतिक कुवा सुक्न थालेका छन् । खोलाखोल्सीको जरुवा पानी पनि सुक्दै छ । खानेपानी आभावकै कारण बसाइँ सर्नुपर्ने अवस्था आएको छ । बेलहरा, लेगुवा, आहाले, कुरुलेतनुपा गाविसका दुई दर्जन भन्दा बढी प्राकृतिक कुवा सुकेको स्थानीयले बताए । खानेपानी समस्याकै कारण लेगुवा, कुरुलेतेनुपा, तेलिया गाविसबाट बसाइँसराइ बढेको छ । बसाइँसराइले कुरुलेतेनुपाका केही गाउँ शून्य हुँदै गएको गाविससचिव रामकुमार डंगोलले बताए ।

खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयको तथ्यांक अनुसार ८३.३१ प्रतिशत जनसंख्यालाई मात्रै खानेपानी पुगेको छ । १६.६९ प्रतिशत जनसंख्या अझै खानेपानीबाट वञ्चित छन् । योजना सञ्चालन भएको आधारमा तयार गरिएको यो तथ्यलाई विश्वास गर्न सकिँदैन ।

यो वर्ष मात्रै १६ वटा योजना सञ्चालन भइरहेका छन् भने सात वटाको विस्तृत सर्वेक्षण सकिएको छ । यो वर्ष खानेपानी योजनाका लागि ४ करोड ६२ लाख ९९ हजार रुपैयाँ बजेट छ । आगामी वर्षमा नौवटा योजनाका लागि ६४ करोड ९० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । अहिलेको अवस्था रहने हो भने ५ वर्षपछि मात्रै सबै जनसंख्यालाई खानेपानी पुर्याउन सकिने उक्त कार्यालयका सिनियर डिभिजन इन्जिनियर तुलसी बस्नेतले बताए ।

पहाडमा पनि समस्या चुलिँदै

पाँचथरमा पनि खानेपानी समस्या चर्को छ । स्वारुम्बा–७ को विझुवापानीमा पाँच वर्षअघि ८४ घरपरिवार बस्थे तर खानेपानी अभावसँगै बसाइँ सर्ने क्रम बढेर अहिले यहा ३७ घरपरिवार मात्र रहेको स्थानीय बताउँछन् ।

यासोक, स्वारुम्बा र रानीगाँउ गाविसलाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । खानेपानीका पुराना मुहान सुकेका छन् । दिनहुँ टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको खेम निरौलाले बताए ।

मुहान सुक्दा बर्सेनि खानेपानी समस्या चर्किंदै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथरका प्रमुख निराजन खनालले बताए । उनका अनुसार मुहान सुकेर पानीको संकट चर्किन थालेपछि वन जोगाउने, हरियाली बढाउने, मुहान संरक्षण गर्ने, थोरै पानीबाट धेरै काम लिनेतर्फ स्थानीय अग्रसर हुन थालेका छन् । लामो खडेरीले पहाडका खोलाखोल्सा पनि सुक्न थालेका छन् । पहिला खेती लगाउन पुग्ने मुहानबाट अहिले खानेपानी पुर्याउन पनि सकस छ ।

आङना, मौवा, माङ्जाबुङ, ओलने, हाङ्गुम, अमरपुर, भारपा, पञ्चमीलगायत गाविसमा पनि खानेपानी अभाव चुलिएको छ ।

खानेपानी आयोजना निर्माण नसकिँदा सदरमुकाममा पनि समस्या छ । जिल्लाका २६ प्रतिशतभन्दा बढी जनसंख्या खानेपानी समस्यामा रहेको खनाल बताउँछन् । खानेपानी समस्याले पाँचथरमा पनि बसाइँसराइ क्रम बढेको छ ।

चुरेमा पनि हाहाकार

चुरेको तीव्र दोहन र लामो खडेरीले मुहान सुक्न थालेपछि चुरे क्षेत्रअन्तर्गत पर्ने महोत्तरी जिल्लाको उत्तरवर्ती आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार छ । जथाभाबी वन फँडानी र अनियन्त्रित चुरे दोहनका कारण मुहान धमाधम सुक्न थालेपछि पानी अभाव गहिरिएको हो ।

महोत्तरीका हात्तीलेट, बर्दिबास नगरपालिका ७ को किसाननगर, माइस्थान, बिजलपुरा, पशुपतिनगर, भंगाहा, बेलगाछी, रामनगर, कुशमाडीलगायत ग्रामीण बस्तीमा खानेपानी हाहाकार भएको स्थानीयले बताए । 'गाउँका ९० प्रतिशतभन्दा बढी मुहान सुकिसकेका छन्,' पशुपतिनगरका महेन्द्र महतोले भने, 'अझै केही साता यस्तै खडेरी परे तीनचार किलोमिटर टाढाबाट पानी बोक्नुपर्ने बाध्यता आउन सक्छ ।'

करिब ५ सय घर रहेको भंगाहा–४ मा रहेका पानीका स्रोत कल, पुराना इनार पनि सुक्दै जान थालेका छन् ।

'पुराना कल र इनारजति सबै सुकिसके,' भंगाहा ३ का सत्यनारायण यादवले भने, 'पोहोर खनिएका नयाँ इनारमा मात्र पानी छ, सबैले त्यही प्रयोग गर्छन् ।' ती इनार पनि जुनसुकै बेला सुक्नसक्ने स्थानीय बताउँछन् ।

किसाननगरमा फाट्टफुट्ट इनारमा मात्र पानी छ । खडेरी लम्बिँदै गए पानी अभाव झन् चुलिने गोपाल कार्कीले बताए । पशुपतिनगरमा रहेका १ सय ३० इनारमध्ये १ सय ५ सुकिसकेको स्थानीयको भनाइ छ । बाँकी इनारबाट गाउँभरिकाले गर्जो टारिरहेका छन् ।

इनार र कलकै पानीको भरमा सिँचाइ गर्दै आएका सर्वसाधारणले लगाएको अन्नबाली इनारसँगै सुक्न थालेको छ । खडेरीले तरकारीबालीमा सबैभन्दा बढी असर परेकोे भंगाहा–४ का किसान जवाफ सेखले बताए ।

तत्कालको समस्या टार्न जिल्ला खानेपानी कार्यालयले ट्युबवेल प्रयोगलाई विकल्पको रूपमा अघि सारेको छ । कार्यालयले आफ्ना योजना सञ्चालन रहेका क्षेत्रमा बोरिङ गरिएको तर ओभर हेड नभएका ठाउँबाट पानी सप्लाई गर्ने कार्य सुरु गरेको कार्यालय प्रमुख देवेन्द्र झाले बताए ।

(अमर खड्का-इटहरी, भीम चापागार्इं-इलाम, जितेन्द्र झा-सप्तरी, गिरिराज बास्कोटा-पाँचथर, सिद्धराज राई-धनकुटा र महेश दास-महोत्तरी)

प्रकाशित: १४ वैशाख २०७३ १९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App