१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे

सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालय। तस्बिर: गोविन्द/नागरिक

जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध कारोबारीहरूको मुद्दा हदम्याद हुँदाहुँदै अनुसन्धान फितलो बनाएर मिसिल पेस गरेका कारण प्रयोगकर्ता दुईजना र बेचबिखन गर्ने मुख्य आरोपित एकजनालाई जिल्ला अदालत सुर्खेतले सामान्य धरौटीमा छाडेको हो।

लागुऔषध बरामदपछि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले अनुसन्धान हदम्याद ९० दिन हुँदाहुँदै आर्थिक चलखेलमा लागुऔषध बरामद मुद्दा फितलो बनाई अदालतमा छिटो बुझाएको आरोप लागेको छ। जसका कारण जिल्ला अदालत सुर्खेतले लागुऔषध मुद्दामा संलग्न बेचबिखन गर्ने मुख्य आरोपित सुमित्रा कामी, ललित सिजाली, जीवन मर्साङग्रीलाई सामान्य धरौटीमा छाडेको हो। अन्य दुईजना रमेश कामी र उत्तम शाही हिरासतमै छन्। लागुऔषधजस्तै संवेदनशील मुद्दामा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदमबहादुर विष्टको समेत मिलेमतोमा मुद्दा फितलो बनाइएको आंशका गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतबाट जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भई थुनछेक आदेश माग्दासमेत सामान्य धरौटीमा छाडिएको हो। एक सय ग्राम बढी परिमाणमा लागुऔषध (ब्राउनसुगर) बरामद मुद्दामा अभियुक्त छुट्नुले प्रहरीभित्रै अनुसन्धान भइरहेको छ। दुईवटा मुद्दामा ३५ हजारका दरले ७० हजार र एकवटा मुद्दामा ४० हजार गरी एक लाख १० हजार सामान्य धरौटीमा साउन ३१ गते सुर्खेतका जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्यालले छाड्ने आदेश दिएका हुन्।

‘लागुऔषधमा सबैको संलग्न छ भन्ने आधारबाट मुद्दा चलेको भए पनि जिल्ला अदालतले सबैको संलग्नता नभएको भन्दै धरौटीमा छाड्यो’, जिल्ला न्यायाधिवक्ता नवीन भट्टले भने, ‘हामीले पाँच वर्षदेखि १० वर्षसम्म कैद माग गरेका थियौं। प्रहरीबाट अनुसन्धान फितलो भएकाले सामान्य धरौटीमा आरोपत छुटे।’

जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोग र बेचबिखन गर्नेलाई सामान्य धरौटीमा छाडेपछि उच्च अदालत सुर्खेतमा थुनामा राखेर मुद्दा चलाउनुपर्ने भन्दै निवेदन पेस गरी दर्ता भएको छ। असोज पहिलो हप्ता निवेदन दर्ता भएको हो। ‘थुनामा राखेर मुद्दा चलाउनुपर्नेमा धरौटीमा छाड्नु हुँदैन भनेर निवेदन पेस गरी दर्ता भएको छ’, सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले भने, ‘उच्च अदालतमा कारबाहीको अवस्थामा रहेको छ।’

लागुऔषध मुद्दामा कमजोर मिसिल तयार परेको विषयमा कर्णाली प्रदेश प्रहरी कार्यालयको गम्भीर ध्यानार्कषण भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए। ‘मुद्दाको मिसिल झिकाई आवश्यक छानबिन भइरहेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अनुसन्धानमा कमीकमजोरी पाइएमा कडा कारबाही गरिने छ।’ मुद्दा हुर्ने प्रहरी निरीक्षक लालबहादुर सुनारलाई जिम्मेवारीबाट हटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

एक सय ग्राम बढी लागुऔषध बरामद कर्णाली प्रदेशमै ठूलो परिणाम भएको प्रहरीले जनाएको छ। लागुऔषध मुद्दामा थुनामै राखेर सजाय भोग्ने गरे पनि यति ठूलो मुद्दामा धरौटीमा छाडिँदा प्रहरीभित्र आर्थिक चलखेल भएको आंशका गरिएको छ। लागुऔषधबारे अनुसन्धान गरेर अदालतमा पेस गरेको र बाँकी अदालतबाट आदेशमा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) सुरज कार्कीले प्रतिक्रिया दिए।

प्रहरी अनुसन्धान कमजोरीका कारण लागुऔषधजस्तो मुद्दामा पुष्टि हुने प्रमाण नपुगेकाले धरौटीमा छाडिएको हुनसक्ने अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बताए। ‘प्रहरीले तयार पारेको मिसिलमा हुनुपर्ने आवश्यक कागजात अभावका कारण अदालतले धरौटीमा छाड्न सक्छ’, अधिवक्ता दुर्गाप्रसाद सापकोटाले भने, ‘कर्णालीमा एक सय ग्राम लागुऔषध धेरै मात्रामा भएकाले धरौटीमा अहिलेसम्म छाडेको देखिँदैन। त्यसैले फेरि अनुसन्धान हुन जरुरी छ।’ लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले लागुऔषधसम्बन्धी विभिन्न कसुरजन्य कार्यलाई अपराधीकरण गरी कसुर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरेको छ।

यसरी लागुऔषधसहित पक्राउ

असार २४ गते वीरेन्द्रनगरका तीन स्थानबाट प्रहरीले खोजतलास र अनुसन्धान गरी पक्राउ परेका व्यक्तिबाट लागुऔषध बरामद गरिएको थियो। वीरेन्द्रनगर नगरपालिका ८ बस्ने ललित सिजाली र ७ बस्ने जीवन मर्साङ्ग्रीले लागुऔषध सेवन गर्दागर्दै प्रहरीले पक्राउ गर्‍यो। उनीहरूबाट खानतलासी गर्दा २५० मिलाग्राम ब्राउनसुगर भेटियो। लगत्तै जीवन र ललितले लागुऔषध किनेको मान्छे ठेगाना प्रहरीलाई बताए। उनीहरूसँगै सादा पोसाकमा प्रहरी वीरेन्द्रनगर नगरपालिका ३ बस्ने उत्तम शाही भेटे। आफूहरूलाई उत्तम शाहीले बिक्री गरेको बताएपछि प्रहरीले उत्तम शाहीलाई नियन्त्रणमा लिए। शाहीलाई खानतलासी गर्दा २८० मिलिग्राम ब्राउनसुगर बरामद भयो। शाहीले आफूले अरूबाट किनेको बयानका क्रममा फेरि वीरेन्द्रनगर नगरपालिका ५ बस्ने सुमित्रा कामी र छोरा रमेश सुनारका घरमा प्रहरीले खानतलासी गर्‍यो। खानतलासी गर्दा घरबाट सय ग्राम ब्राउनसुगरसहित लागुऔषध नाप्ने डिजिटल तराजु, प्याकिङ गर्ने पोलोथिन बरामद गरेको थियो।

एकै दिन प्रहरीले ३ स्थानबाट ब्राउनसुगरसहित पाँचजनालाई पक्राउ गरेको थियो। यही घटनामा जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखसहित मुद्दा अधिकृत कारोबारीसँगको मिलेमतोमा अनुसन्धान गर्ने हदम्याद हुँदाहुँदै पनि छिटो गरी फितलो मुद्दा दायर गरी मुख्य आरोपितलाई सामान्य धरौटीमा छाड्न भूमिका खेलेको भन्दै प्रहरीभित्र आलोचनासमेत भएको छ।

प्रकाशित: ८ आश्विन २०७९ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App