coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीलाई घुँडामुनि गोली हान्न सिकाइँदै

काठमाडौं- भीड नियन्त्रण क्रममा मानवीय क्षति हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले फायरिङ तालिमको शैली संशोधन गरेका छन्। टाउको, छातीमा गोली लागेर प्रदर्शनमा मारिनेको संख्या बढेपछि दुवै संगठनले भीड नियन्त्रणमा खटिने जनशक्तिको तालिम मोडल परिवर्तन गरेका हुन्।स्थानीय प्रशासन ऐनअनुसार भीड नियन्त्रण गर्न गोली चलाउँदा घुँडामुन्तिर लाग्ने गरी हान्नुपर्ने व्यवस्था छ। तर, तालिममा टाउको, छातीलगायत संवेदनशील अंगमा गोली हान्न सिकाइने भएकाले कार्यक्षेत्रमा कानुनअनुसार जान नसकिएको निष्कर्ष उनीहरूले निकालेका छन्।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा चर्केको आन्दोलन क्रममा भीड नियन्त्रण गर्दा दुवै सुरक्षा संगठनले अपनाएको शैली अन्तर्राष्ट्रिय–राष्ट्रिय मानवअधिकार संगठनबाट समेत आलोचित थियो। मधेस आन्दोलनमा प्रहरी गोली लागेर ५० भन्दा बढीको ज्यान गएको छ।

'भीड नियन्त्रणमा गोली चल्दा मानवीय क्षति भएको गुनासो बढेपछि फायरिङ तालिमको मोडल परिवर्तनमा लागेका छौं,' नेपाल प्रहरीका प्रवक्ता माधव जोशीले भने, 'विशिष्ट व्यक्तिको सुरक्षा लगायत विशिष्ट प्रकृतिको काममा खटिने जनशक्तिबाहेकलाई छुट्टाछुट्टै प्रकृतिको फायरिङ तालिम हुनेछ।'

डिआइजी जोशीका अनुसार प्रहरीको विशेष कार्यदल, सुरक्षा महाशाखा लगायत विशिष्ट प्रकृतिको सुरक्षामा परिचालित हुने जनशक्तिका लागि अहिलेकै फायरिङ मोडलमा तालिम हुनेछ। भीड नियन्त्रणमा परिचालन हुने दंगा गण लगायतलाई भने ऐनले तोकेअनुसार घुँडामुनि गोली हान्न दक्ष बनाउने गरी तालिम लागू हुनेछ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले संगठन सदस्यलाई 'लाइन पोजिसन' मा बसेर गोली हान्ने तालिम दिने बताए। उक्त तालिमले जहाँ ताक्यो त्यहीँ गोली हान्न सक्ने सीप विकास हुने खनालको दाबी छ।

संगठन सदस्यले भीड नियन्त्रणक्रममा ऐनले तोकेअनुसार नै चरणबद्ध बल प्रयोग गर्ने गरेको दाबी गर्दै उनले केही त्रुटि देखिए तत्काल सुधार गरिँदै आएको खनालले जानकारी दिए।

'टार्गेट जे हो त्यहीँ लाग्ने गरी गोली चलाउने अभ्यास सुरु भइसकेको छ,' उनले भने, 'भीड नियन्त्रणमा खटिए घुँडामुनि र अन्य विशिष्ट प्रकृतिको सुरक्षामा खटिए आवश्यकताअनुसार गोली चलाउन सक्ने जनशक्ति तयार भइसकेका छन्।'

फोहोरा अभ्यासमै सीमित

तीन दिनअघि गृह मन्त्रालयको पहलमा आयोजित प्रहरी–सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबीच संयुक्त अभ्यासमा भीड नियन्त्रणका लागि पानीको फोहरा प्रयोग गर्ने विधि पनि सिकाइएको थियो।

स्थानीय प्रशासन ऐनले भीड नियन्त्रणमा पानीको फोहरा अनिवार्य गरे पनि एकैपटक धेरै स्थानमा प्रदर्शन हुँदा साधन अभावमा उक्त अभ्यास प्रभावहीन हुुने गरेको छ। प्रहरीसँग पानीको फोहरा हान्ने सवारीसाधन एउटा मात्र छ।

काठमाडौं, नयाँबानेश्वर क्षेत्रमा भएका प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले पानीको फोहोरा प्रयोग गरेका भए पनि मधेसलगायत स्थानमा भएका प्रदर्शनमा सिधै लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो। मधेसमा आन्दोलनरत राजनीतिक दलले काठमाडौंमा पानीको फोहोरा प्रयोग गरेको, मधेसमा भने सिधै गोली हानेको भन्दै विरोध जनाएका थिए।

अभ्यासपछि आवश्यकता अनुसार पानीको फोहोरा व्यवस्था गर्न सकिने प्रहरी प्रवक्ता जोशीले बताए। प्रदर्शनको अवस्था विश्लेषणपछि भीड नियन्त्रणमा आवश्यक साधन यकिन हुने गरेको बताउँदै उनले भने, 'सबै स्थानमा फोहोरा नै प्रयोग गर्नुपर्छ भन्ने हुन्न, जहाँ आवश्यक पर्छ त्यहाँ प्रयोग भएकै छ।'

ऐनमा के छ
भीड नियन्त्रणका लागि सुरुमा सबैले सुन्ने गरी माइकबाट चेतावनी दिने, त्यति गर्दा पनि भीड नहटे, पानीको फोहोरा प्रयोग गर्ने, फोहोराले नभए लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने। यत्तिले पनि भीड पछाडि नहटे गोली चलाउन सकिने चेतावनी दिने। त्यसपछि चेतावनीस्वरूप हवाई फायर गर्ने। त्यसलाई पनि अटेरी गरे घुँडामुनि लाग्ने गरी गोली हान्ने।

प्रकाशित: १२ वैशाख २०७३ २२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App