coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा.केसीको अवस्था गम्भिर, पेटमा अल्सर भइ रक्तश्रावको आशंका

विशिष्टकृत अस्पतालमा स्थान्तरण गर्न चिकित्सक टोलीको सल्लाह

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुदे माग राखेर धनगढीमा विगत ८ दिनदेखि २०औँ सत्याग्रहमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिभिन्न समस्या देखेर गम्भिर  बन्दै गएको छ। स्वास्थ्य अवस्था गम्भिर भएपछि बहुविशेषज्ञ र विशिष्टकृत अस्पतालमा डा.केसीलाई स्थान्तरण गर्न चिकित्सकको टोलीले सल्लाह दिएको छ।  

सोमबार डा.केसीको जाँच पछि चिकित्सक टोलीले डा.केसीको माशंपेशि सुक्दै गएको र पेटमा अल्सर भई रक्तश्रावको शंका भएको हुनाले थप जटिलता हुन सक्ने भएकाले थप उपचारका लागि विशिष्टकृत अस्पतालमा स्थान्तरण गर्न राष्टिय मानव अधिकार आयोग, समाजिक विकास मन्त्रालय, संघिय स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासनलाई जानकारी गराईएको चिकित्सक टोलीले जनाएको छ।

पेट दुख्ने, दिशा कालो भएको, धेरै कमजोरी,टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरिरको मांशपेशी दुख्ने, वाउडिने र सुक्दै गएको, मुटुको धड्कन गड्बढी, रक्तचाप घट्दै गएको श्वास्थ्य समस्या देखिएको चिकित्सक टोलीको जाँच पछि सेती प्रादेशिक अस्पतालले जारी गरेकोे मेडिकल बुलेटिनमा उल्लेख छ। यसैगरि श्वास प्रश्वास दर बढ्दै गएर २७ प्रतिमिनेट भएको, शरिरमा अक्सिजनको मात्रा कम हुदै गएको, तौल घट्दै गएको, सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम भएको र पिसावको किटोनबडी बढ्दै गएको बुलेटिनमा उल्लेख छ।  

शरिरमा अक्सिजनको मात्रा कम, माशंपेशी सुक्दै गएकाे दिशा कालो भएको हुनाले पेटमा अल्सर भैई रक्तश्राव भएको,पोषण तत्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको चिकित्सक अमृत जैशीले बताएका छन्।  

पानी र पोषण तत्वको असन्तुलनले वेहोस हुन सक्ने, शरीर कम्पन्न हुन सक्ने, रोगसँग लड्न सक्ने क्षमता कम भैई विभिन्न संक्रमण हुन सक्ने, मुटको ढड्कन, श्वासप्रश्वास र रक्तचाप गढबढ भैई शरीरका अंग तथा प्रणाली खरावी हुन सक्ने वा ज्यानलाई जोखिम पर्न सक्ने चिकित्सकले बताएका छन्।  

अवस्था गम्भिर हुँदै गएपनि मुखबाट पानी, नर्मल स्लाईन र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक अन्य कुरा प्रयोग गर्न ईन्कार गरेका छन्। पोषण तत्व र आवश्यकता अनुसार पानी लिन आग्रह गर्दा मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक अन्य कुनै पदार्थ नलिने भनेर लेखेर नै निषेध गरेका छन्।  

अघिल्लो साताको सोमबारदेखि धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा सत्याग्रहमा बसेका उनको तीन दिनमै स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार बेलुकी एम्बुलेन्सबाट उनलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। श्वास्थ्य अवस्था कमजोर भएकाले विगतको अनसनको तुलनामा यस पटक थोरै दिनमा उनको श्वास्थ्यमा जटिलता देखिएको र सत्याग्रहको ८ दिन सम्म पुग्दा स्वास्थ्य अवस्था निकै गंभिर भएको डा.जैशीले बताए।  

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर सत्याग्रहमा बसेका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सर्वसधारणले डा. केसीको जिवन रक्षा गर्न सरकार सँग माग गरेका छन्। आइतबार धनगढीको पार्कमोडमा नागरिक समाज अगुवा, सर्वसधारण र युवाले प्लेकार्ड वोकेर प्रदर्शन गरेका थिए। सोमबार पनि साँझ ५ बजे प्रदर्शन गरिने नागरिक समाजका अगुवा प्रमोद पाठकले बताए।

शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच हुनुपर्ने संविधानमै उल्लेख भए पनि माफियासँग सबै दलका नेताहरु मिलेका कारण गरिब जनताले शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनु परेकोले सत्याग्रह गरेको उनको भनाइ थियो।  गरिबले तिरेको करबाट नेताहरुले विदेशमा गई महँगो अस्पतालमा उपचार गर्ने, तर तिनै नेतालाई भोट दिने र कर तिरेर उनीहरु उपचार नपाएर मर्नु पर्ने यो अवस्थाको अन्त्य होस् भन्ने आफ्नो माग रहेको उनले यसअघि पत्रकार सम्मेलनमार्फत् बताएका थिए।

माफियाहरुसँग मिलेर निजी अस्पतालमा नेताहरुले नै लगानी गरेका कारण अहिलेसम्म सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानहरु सञ्चालन हुन नसकिरहेको उनले बताएका थिए।  गेटा मेडिकल कलेज तत्काल संचालन हुनुपर्ने लगायत ७ बुदे माग उनले अघि सारेका छन्।

प्रकाशित: ३ आश्विन २०७९ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App