१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्जुका महिला मिटरब्याजीबाट हैरानी खेप्दै

बर्जु गाउँपालिका–१ गेलाबारीका महिलाहरु मिटर ब्याजबाट पीडित भएपछि पत्रकार सम्मेलन गर्दै। तस्बिरः चुमन बस्नेत/नागरिक

आफूले लिएको कर्जाको साँवा र ब्याज बुझाउँदासमेत कर्जा वापत तिर्नु पर्ने रकम धेरै देखाउँदा त्रसित र हैरानी खेप्नु परेको सुनसरीका महिलाहरुले बताएका छन्। सुनसरीको बुर्जु गाउँपालिका–१ गेलाबारीका महिलाहरुले लिएको कर्जाको साँवा र ब्याजभन्दा धेरै रकम तिर्न बाँकी देखाउँदै असुली गर्न थालेपछि त्रसित र हैरानी खेप्न थालेका हुन्।

आइतबार विराटनगरमा गेलाबारीका ६ जना महिलाले सामूहिक रुपमा पत्रकार सम्मेलन गर्दै आफू र आफ्नो परिवार मिटरब्याजीबाट त्रसित हुँदै दुःख खेप्नु परेको बताएका छन्। उनीहरुले अहिले ६ जना मात्रै आएको तर गाउँमा अझै धेरैको संख्यामा मिटरब्याज असुल्नेबाट पीडित भएको गुनासो गरे।  

पत्रकार सम्मेलन गर्न आएका अधिकांश महिलाहरुको एउटै कुरा छ। थोरै कर्जा लिई कागज धेरैको बनाएको र लिएको कर्जाको साँवा ब्याज तिर्दासमेत त्यसको ३ गुणाभन्दा बढीको कागज देखाउँदा पीडित भएको बताए। मिटर ब्याजको कारोबार गर्ने बर्जु–१ शुक्रबारका झमला सरदार (मुरहरिवाला), उनको छोरा सन्दीप (शिल्पा), छोरी सीताको समूहबाट आफूहरु पीडित भएको बताएका हुन्।

रविना टण्डन चौधरी गुरुङ, शिवकुमारी सरदार (शिवो), उर्मिला गुरुङ, उर्मिला सुरदार, सावो सरदार र प्रमिलादेवी सरदारले झमलाको परिवारबाट दुःखकष्ट खेप्नु परेको दुखेसो पोखे। झमलाले १५ वर्षदेखि चर्को ब्याज लिँदै आएको र सो क्रममा कर्जा बुझाउन नसक्ने धेरै जना घरबारविहीन हुनु परेको महिलाको समूहले भने। पीडित महिलाका अनुसार कारोबारी झमलाले मासिक १० प्रतिशतभन्दा बढी ब्याज र हरेक ३ र ६ महिनामा ब्याज र साँवालाई मूल धन बनाई चार्को ब्याज लिँदै आएका छन्।  

‘मेरो श्रीमान इन्द्रबहादुर गुरुङ (नटिया)ले २ वर्ष अघि ३४ हजार रुपैयाँ कर्जा लिएका थिए,’ पीडित रविनाले भनिन्, ‘कर्जा लिएको २ वर्षपछि साँवा ब्याज गरी ६० हजार रुपैयाँ समाजका विभिन्न व्यक्तिहरुको रोहबारमा झमलालाई फिर्ता ग¥यौं। उनीहरुको अगाडि झमलाले अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिने भने पनि मुद्दा फिर्ता नलिएपछि अन्तिम फैसलाबाट भदौ २९ गते श्रीमान जेलमा परे।’  

अर्की पीडित महिला शिवदेवी सरदारको पनि पीडा उस्तै नै छ। ‘आफूले लिएको कर्जा वापत रकमको भरपाई वा कपाली तमसुक लिन जाँदै झन् पीडित हुनु पर्‍यो,’ शिवदेवीले भनिन्, ‘तमसुक दिनु या भरपाई कागज बनाइ दिनुभन्दा झमला र उनकी छोरी मिलेर मेरा दाहिने हातको बुढी औंलामा हसिया काटेर घाइते बनाइ दिए। सामान्य औषधि उपचार गरेर नजिक रहेको प्रहरी चौकी र वडा कार्यालयमा जाँदासमेत कसैले पनि मेरो कुराको सुनुवाइ गरिदिएनन्।’

आफूले सुरुमा ३० हजार रुपैयाँ कर्जा लिएको रकम डेढ वर्षपछि १ लाख ३० हजार रुपैयाँ बुझाई सक्दासमेत अझै कर्जा बाँकी रहेको छ भन्दै झमलाले माग्दै आएको बताएकी शिवदेवीले भनिन्, ‘मैले बुझाएको रकमको भरपाई र तमसुक कागजसमेत माग्न जाँदा भदौ ३० गते साँझमा बुवा छोरी मिलेर मेरा बुढी औंला काटिदिए।’ सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पीडितहरुले निवेदन दिए तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउने छु।

 शिवदेवी सरदार काटिएको आफ्नो औंला देखाउँदै। तस्बिरः चुमन बस्नेत/नागरिक  

प्रकाशित: २ आश्विन २०७९ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App