१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

सेटिङमा तस्करी: नाकाबन्दी खुल्यो तस्करी रोकिएन

सिरहा–नेपालको संविधान ०७२ मा मधेसको माग नसमेटिएको भन्दै मधेसी मोर्चाले साउन महिनाबाट आन्दोलन सुरु गरे। भदौ ३० गते संविधान जारी भएपछि मोर्चाले आन्दोलनलाई कडा रुपमा अगाडि बढाए। यही आन्दोलनको आडमा तराईका सीमानाकाबाट सेटिङमा तस्करहरु मालसामान भित्र्याउने क्रम बढाए।बन्द कार्यक्रम रोकिएको तीन महिना भएपनि तस्करी रोकिएको छैन। मधेस आन्दोलनको आडमा तस्करीले बढावा पाएको मधेसका जिल्ला मध्ये सिरहा पनि एक हो। जहाँ सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने क्रमलाई अझै जारी राखेका छन्। भन्सार र सुरक्षाकर्मीसँगको सेटिङमा तस्करहरु कपडा, मोटरपाटस्, सानो साइजका प्रतिबन्धित ग्यास सिलिण्डर, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा र कस्मेटिक्स समान तस्करीलाई फैलाउँदै छन्।

जिल्ला भन्सार कार्यालय अन्तर्गतको तीनवटा भन्सार कार्यालय संचालनमा छन्। ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर। यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ। सँगै जनपद प्रहरी पनि। सिरहाको तीनवटा नाकामा भन्सार कर्मचारी भएको कार्यालय संचालनमा भएपनि अरु नाकामा सशस्त्र र जनपद प्रहरीको उपस्थित छ।

सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीको पोष्ट छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको समान वारि छिराउन बिना सेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन्।

ठाढी भन्सार कार्यालयको पछाडि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) छ। जहाँ जनपद प्रहरीको सइको कमाण्डमा प्रहरीकोसमेत उपस्थिति छ। पारि नजिकको बजार लौकाहा र यहाँबाट करिब ७ किलोमिटर अगाडिको बजार खुटौना। लौकाहा बजार सप्तरीको केही भाग र लहान क्षेत्रका उपभोक्ता दैनिक उपभोग्य खुद्रा सामान खरिद गर्न जाने गर्छन्। जसले यो बजार त्यति चल्तीको बजारको रुपमा कहलिँदैनथ्यो। एकताका तेस्रो मुलुकको सुपारी तस्करी हुने मुख्य नाकाको रुपमा चम्किएको ठाढी नाका पछिल्लो समय सुस्ताएको थियो।

तर अहिले यो नाका पुनः चम्किदै छ । यो नाकाबाट पराग खुटखा र चाइना एपल पारि जाने र पारिबाट दैनिक उपभोग्य वस्तुसँगै सुर्ती र सुर्तीजन्य पदार्थ वारि तस्करी बढेको छ। भन्सारमा नायव सुबा हाकिम हुने गरी कार्यालय सहयोगी छन्। पारिबाट समान लिएर आउने समान्य उपभोक्ता मात्र भन्सार कार्यालय छिर्छन्। तस्करका समान भन्सार कार्यलय छिर्दैनन्। उनीहरुको समान सीमा पार गरेपछि पश्चिमको बाटो हुँदै बसपार्क पुग्छ। बस पार्कमा बस र अन्य सवारी साधनमा समान लोड भएर त्यो समान लहानलगायतका बजार पुर्याइन्छ।

एक भन्सार कर्मचारीसँग जिज्ञासा राख्दा उनले भने,' हामी कार्यालय बाहिर गएर समान पक्राउ गर्ने अवस्थामा छैनौं। तस्करहरु संगठित छन्,' ती कर्मचारीले भने, 'हामीकहाँ आएजतिलाई भन्सार काटेरै पठाउँछौं। तस्करका सामान हामीकहाँ छिर्दैन।'

तस्करीका लागि अर्को चम्केको नाका हो–बरियारपट्टी। यहाँ भन्सार कार्यालयसँगै सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) छ। अगाडि जनपद प्रहरीको चौकी। पारि लदनिया बजार छ। यो बजारबाट दैनिक उपभोग्य समानसँगै सुर्ती तस्करी बढेको एक स्थानीयले बताए। यो नाका क्षेत्रबाट तस्करी हुने मालसामान सुखिपुर, गोलबजार पुग्ने गरेको स्रोतले बतायो।

यहाँको मुख्य भन्सार माडर । यहाँ भन्सार कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीको बिओपी छ। जहाँ इन्सपेक्टरको कमाण्डमा सशस्त्र प्रहरी चोरी निकासी पैठारी नियन्त्रणका लागि उपस्थित छ। तर, यो नाका क्षेत्रबाट तस्करी रोकिएको छैन्। दैनिक उपभोग्य बस्तुदेखि चाँदीका तयारी गहनासम्म तस्करी हुने चिनिएको छ यो नाका। लत्ताकपडा, मोटरपार्टस्, खाद्य समान तस्करले सेटिंगमा भित्रयाउँछन् यो नाकाबाट ।

पोहोर तस्करको संजाल खुम्चिएको थियो यहाँ। तर यो आर्थिक वर्षको सुरुवातदेखि मधेसमा आन्दोलनको क्रम सुरु भयो। जसको फाइदा उठाउँदै तस्करले सेटिङमा तस्करी धन्दा सुरु गरे। 'साउन महिना हल्काफुल्का देखिएपनि भदौबाट तस्करकै रजार्इं भयो,' मार्डर नाकाका एक स्थानीयले बताए।

यहाँबाट सुनचाँदीदेखि दैनिक उपभोग्य समान सबै वारपार हुने उनले बताए। 'सबै मिलेको छ हजुर हामी काम गरेर खानेको नाम बाहिर आए गाँस खोसिन्छ,' उनले नाम बाहिर नल्याइदिन आग्रह गरे। हामीतपाई एक लिटर तेल लिएर आउँदा दश पटक जाँच हुन्छ, तर तस्कर बेरोक लग्छन्,' उनले भने,'काही रोकावट हुदैन्।'

जिल्ला भन्सार प्रमुख भुपेन्द्र कार्कीले राजस्व असुली दर सन्तोषजनक नभएको स्वीकारे । उनका अनुसार मुल भन्सार नाकाबाट मालसामान भन्सार छलेर गएको छैन। 'तस्करी नभएको दाबी गर्दिन,' उनले भने, 'भन्सार छलीको सामान हाम्रो आँखा अगाडिबाट गएको छैन। कतिपय शीर्षकमा भन्सार असुली शून्य छ तर सामान बजारमा छ्याप छ्याप ।'

असुलीको दृष्य

राजस्व चुहावट नियन्त्रण समितिकोे संयोजक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नियमित बस्ने गरेको भन्सार अधिकृत बताउँछन्। तर राजस्व चुहावट नियन्त्रण समितिले राजस्व असुली बढाउनेतर्फ काम भएको तथ्यांकले देखाउँदैन। भन्सारको असुली तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन महिनाको राजस्व असुली प्रतिशत ५०, भदौ महिनामा ५ प्रतिशत, असोज महिनामा शून्य प्रतिशत, कातिक महिनामा २ प्रतिशत, मंसिर महिनामा १५ प्रतिशत, पुषमा ३७ प्रतिशत, माघमा ३४ प्रतिशत, फागुनमा ६२ र चैतको २१ गतेसम्मको भन्सार राजस्व असुली ३८ प्रतिशत देखाउँछ ।

मधेस बन्दका बेलासमेत यहाँका नाकाबाट भित्रिने मालसामान सुरक्षा स्कर्टिङमा लहान, गोलबजार, मिर्चैया, सिरहा पुर्याइन्थ्यो। र यी स्थानबाट पुनः पहाडी जिल्लामा मालसामान पुगथ्यो । स्रोतका अनुसार बन्दका बेला अभावको नाममा भन्सार प्रज्ञापन बेगर मालसामान भित्रिनथ्यो जसका कारण असुलीको दर ओरालो लाग्यो । यो क्रम अहिलेसम्म जारी छ ।

यो वर्ष भन्सार असुली लक्ष्य २५ करोड ७९ लाख ८८ हजार छ । तर असुली ५ करोड २३ लाख ७० हजार मात्र भएको तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्ष अन्त हुन तीन महिना बाँकी रहँदा राजस्व असुली लक्ष्य भन्दा साढे बीस करोड पछाडि छ। लक्ष्य अनुसारको असुली कुनैपनि हालतमा सम्भव नभएको भन्सार प्रमुख कार्की बताउँछन् ।

गत वर्ष भन्सारको राजस्व असुली तथ्यांक लक्ष्य २२ करोड ९९ लाख ४० हजार थियो । असुली भने २३ करोड ७ लाख ३९ हजार भएको भन्सार तथ्यांक छ । गत वर्ष लक्ष्य भन्दा बढी राजस्व असुली भएको यस वर्षको हालसम्मको असुली लक्ष्यको १९ प्रतिशत मात्र छ।

भन्सार छली गरी समान भित्रिने क्रम बढेकोले भन्सार राजस्व असुलीमा भारी कमी आएको बताउने धेरै छन। बजारमा पहिलाको भन्दा सामानको आपूर्ति र खपत बढेको छ । समानको आपूर्ति र खपत बढ्दा भन्सार राजस्व पनि बढ्नु पर्ने भन्सार प्रमुख कार्की स्वीकार्छन्।

सुर्ती र सना साईजका ग्यास सिलिण्डर तस्करी बढी

भारतबाट भित्रिने सुर्तीमा भन्सार राजस्व अरु समानको तलनामा धेरै बढी छ । जसकारण सुर्ती भन्सार राजस्व छली गरेर भित्र्याउन उद्दत हुन्छन् व्यपारी। जसको माध्यम बन्छन् तस्कर। सिरहाको नाका प्रयोग गरी भित्र्याइएको भारी परिमाणको सुर्ती दुई साता अगाडि उदयपुरका कटारी प्रहरीले पक्राउ गरी जिल्ला भन्सार कार्यालय मार्डरमा बुझायो। प्रहरीले बुझाएको १ यस ६८ बोरा सुर्ती कारबाहीका लागि भन्सारमा छ।

सिरहाको नाकाबाट भित्रिने सुर्ती यहाँका सुर्ती उद्योगलाई बिक्री गरिन्छ । सुर्तीजन्य पदार्थको उद्योगलाई बिक्री गर्न यहाँका तस्करहरु भारतबाट सुर्ती भित्र्याउँछन् । भारतबाट सुर्ती भित्र्याउन मोटरसाइकल, साइकल र ट्रयाक्टर प्रयोग गर्छन तस्कर। सेटिंग मिलेको नाकाबाट भित्रयाउँदा पक्राउ खाने जोखिम कम हुन्छ।

यसैगरी साना साईजका ग्यास सिलिण्डर । जुन भन्सार नाकाबाट भन्सार बुझाएर भित्र्याउन पाइँदैन । यसको भन्सार प्रज्ञापन काटिँदैन। कम तौलका यो सिलिण्डरको प्रयोगलाई नेपालमा वैद्यता छैन। तर, स्थानीय ग्यास डिलर तस्करमार्फत यो सिलिण्डर भित्र्याएर यहाँका बजारमा खुलेआम बिक्री गरिरहेका छन्।

लहान, सिरहालगायतका बजारमा यो सिलिण्डर खुलेआम बिक्री भैरहेको छ । सडककै छेउमा रहेका ग्यास डिलर, भाडा पसलमा यो सिलिण्डर अरु वैध समान जस्तै खुलमखुला बिक्री भैरहेको छ। तस्करीका सामान खुलेआम बिक्री भैरहँदा पनि नियन्त्रणकारी निकाय चुपचाप छन्।

प्रकाशित: २९ चैत्र २०७२ २३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App