१६ चैत्र २०८० शुक्रबार
समाज

जय नेपालमा चलिरहेछ डोजर: अब टुकुचा लुकेर होइन खुलेर बग्छ

जय नेपाल हल परिसरमा उत्खननपछि भेटिएको टुकुचा खोला। तस्बिर: बालेन साह समर्थक फेसबुक

काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल बन्द भएको दुई वर्षभन्दा बढी भइसक्यो। तर बिहीबार यहाँको माहोल भने कुनै सुपरहिट सिनेमाको आगमनभन्दा कम थिएन। काठमाडौं महानगरपालिकाको टोलीले हल ‘कम्पाउन्ड’ भित्रै डोजर चलाउँदा वर्षौंदेखि लुकेको टुकुचा पहिलो पटक ‘प्रदर्शित’ भएको छ।

‘पचासौं वर्षदेखि पुरिएको टुकुचा खोलाको उत्खनन गर्न सफल भएका छौं,’ काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘अब टुकुचा लुकेर होइन खुलेर बग्नेछ।’ झन्डै एक घन्टा लगाएर १५ फिटको हाराहारीमा खनेपछि दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको टुकुचा खोला फेला परेको पाण्डेले जानकारी दिए।

प्रावधिक टोलीले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हलपरिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ। नारायणहिटी दरबार क्षेत्रको दक्षिण भागबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो।

हलभित्र डोजर चलेसँगै वरपरका छिमेकी र सर्वसाधारणको बाक्लो भिडले हल ‘हाउसफुल’ बनेको थियो। चलिरहेको डोजर कतिपयले ‘नायक’जस्तै ठानेर रमाउँदै हेरिरहेका थिए भने पीडितका लागि यही डोजर कुनै ‘खलनायक’भन्दा कम्ता थिएन। ‘अहिलेसम्म मेरो घरजग्गामा खोला पर्छ भन्ने पक्का भएको छैन,’ जय नेपाल हलभन्दा केही परका योगेश मिश्रले भने, ‘कतै भेटियो भने अनाहकमा हामी पीडित बन्नेछौं ।’ वर्षौंदेखि भोगचलन गरेको ठाउँमा एक्कासि उत्खनन गर्दा आफूहरू समस्यामा पर्ने उनले सुनाए।

तर,महानगरले साउन १२ गते नै सार्वजनिक सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि गायब भएको र अतिक्रमित क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको महानगरले जनाएको छ। बुढानीलकण्ठदेखि बग्दै आएको टुकुचा खोला थापाथलीनजिक वाग्मती नदीमा गएर मिसिन्छ। मध्य सहरी क्षेत्रमा टुकुचाको दोहन सुरु हुन्छ। प्रधानमन्त्री निवासनजिकैको बालुवाटार क्षेत्रदेखि कमलादीसम्म टुकुचा खोला मिच्ने र छोप्ने काम धेरै भएको छ।

नारायणहिटी दरबारको उत्तरगेटमा रहेको बाँसझ्याङबाट छिरेको टुकुचा खोला दरबारभित्र पनि खुला रूपले बगिरहेको छ। तर दरबारको दक्षिण गेटको सेन्ट्री पोस्टबाट निकास लिएको टुकुचा त्यसपछि भने कमलादीमा मात्रै भेटिन्छ। दरबारबाट बाहिर निस्केको टुकुचा जय नेपाल हलको ठिक मुनिबाट, गल्फ ट्राभलछेउ हुँदै लक्ष्मी बैंक, शाखा हाउस, सिद्धार्थ बैंक रहेको भवन आदिबाट भूमिगत रूपमा बगेको स्थानीय बताउँछन्।

खोलाको जमिन पनि कसरी किनबेच भयो भन्ने कतिपयले प्रश्न समेत गर्ने गरेका छन्। ‘हाम्रा बाबुबाजेले त्यति बेलाको सरकारी नियमअनुसार नै यस क्षेत्रको जमिन नियमसंगत किनेका हुन्,’ मिश्र भन्छन्, ‘तर अहिले आएर कानुन मिचेको भन्न मिल्दैन।’ कतिपय भने तत्कालीन गोश्वारा नापी कार्यालयले नापीमा गल्ती गर्दा हात्तीसार क्षेत्रमा टुकुचा खोला नै न देखाइएको सुनाउँछन्। ‘त्यसपछि मालपोत कार्यालयले पनि सहज रूपमा लालपुर्जा दियो,’ रामेश्वर दंगाल भन्छन्, ‘त्यसपछि काठमाडौं महानगरपालिका तथा उपत्यका विकास प्राधिकरणले पनि सिधै नक्सा पास गरिदियो।’

यो क्षेत्र तत्कालीन अवस्थामा राणाशासकको लालदरबार रहेको थियो। उनीहरू पहुँचमा हुँदा उक्त क्षेत्रमा पर्खाल लगाउनुको साथै खोलासमेत भूमिगत बाटोबाट बगाएको मानिन्छ। तर, २०२१ सालकै भूमिसम्बन्धी ऐनको पहिलो संशोधनले नै खोला छोप्न वा मिच्न नपाउने उल्लेख छ। यदि कसैले छोपेको वा मिचेको भए पूर्ववत् अवस्थामा फर्काउनु पर्नेछ भन्ने स्पष्ट किटान गरेको छ। तर, लामो समयदेखि तै चुप मै चुप रहँदा खोलाको उत्खनन हुन सकेको थिएन।

‘हामी ऐननियम अनुसारै अगाडि बढेका छौं,’ महानगरका नगर प्रहरी प्रमुख पाण्डे भन्छन्, ‘पहिलो पटक लुकेको खोला भेटिएकोमा हामीलाई निकै खुसी लागेको छ।’

फुटपाथ व्यवसायीद्वारा महानगर घेराउ

फुटपाथ व्यवसायीले काठमाडौं महानगर घेराउ गरेका छन्। बिहीबार र्‍यालीसहित आएका व्यवसायीले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिका कार्यालय घेराउ गरेका हुन्। महानगरले विधि र कानुन प्रक्रियाविपरीत निर्माण भएको संरचना हटाउने अभियान सञ्चालन गरिरहेको र त्यही क्रममा निम्न वर्गीय श्रमिकहरूको सामान कब्जा गर्ने, श्रमिकहरूलाई हातपात गर्ने तथा गिरफ्तार गर्नेजस्ता अमानवीय व्यवहार गरेकाले घेराउ गरिएको उनीहरूले बताएका छन्।

विकल्पको व्यवस्था नै नगरी श्रमिकहरूलाई बेरोजगार बनाएको उनीहरूले बताएका छन्। पछिल्लो समय काठमाडौं महानगरले अनधिकृत रूपमा बनाइएका संरचनाहरू हटाउने, कर नतिर्नेलाई करको दायरामा ल्याउने, फुटपाथ खाली गर्ने लगायत अभियान चलाइरहेको छ। 

प्रकाशित: ३१ भाद्र २०७९ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App