१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

महाअभियोग सिफारिस समितिको बैठकः जबरालाई पूरक प्रश्नका लागि शुक्रबार बोलाउने निर्णय

महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरुसँग बयान लिएको छ। बिहीबार समितिले वरिष्ठ अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो।

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरुसँग आज बयान लिएको हो। बैठकमा आएर अधिवक्ताहरु प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताए।

उनले शुक्रबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको पनि बताए। उनले अहिले समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा भोलिको बैठकले निर्णय गर्ने बताए।

उनले भने, ‘आजको बैठकमा हामीले वरिष्ठ अधिवक्ता ज्यूहरुले आएर यो विषयमा आफ्नो धारणा राखिसक्नुभएको छ। अर्को बैठक भोलि बिहान ९ बजे बस्ने र त्यसमा सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको छ। प्रतिवेदन लेख्ने काम भइरहेको छ। प्रतिवेदनको बारेमा भोलि निर्णय हुन्छ।’

बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले चोलेन्द्र समशेर जबराविरुद्ध यो महाअभियोगको प्रक्रियाको थालनीको लागि बारले खेलेको भूमिकाका बारेमा कसरी त्यस्तो परिस्थिति सिर्जना भयो भन्ने कुरा राखेको बताए। उनले यो बयानले महाअभियोगको प्रक्रियालाई अझै बल पुगेको महशुस भएको बताए।

उनले समितिले आफूहरुसँग अझै प्रमाण भए त्यो पनि पेस गर्न भनेको बताए। उनले सके यही संसदबाट टुंगो लाग्नुपर्ने र प्रक्रिया नसके महाअभियोगको मुद्दा अर्को संसदले जिम्मेवारी लिनेगरी व्यवस्था गर्नुपर्ने बताए। उनले प्रधानन्यायाधीश जबराले महाअभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर आफूमाथि आरोप लगाएको बताए।

वरिष्ठ अधिवक्ता शाक्यले आफूमाथि लागेका आरोप निराधार रहेको उल्लेख गर्दे तत्कालीन समयमा न्यायका लागि संघर्षमा उत्रिएका कानून व्यवसायीहरुलाई विवादमा तान्न प्रधान्यायाधीश जबराले आफूहरुको नाम लिएको बताए। महाअभियोग सिफारिस समितिको अर्को बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ।

प्रकाशित: ३० भाद्र २०७९ १४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App