१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

म्याराथन तथा महोत्सवलाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षरोपण

पाथीभरा क्षेत्रमा संकलन भएको फोहोर बोकेर काफ्लेपाटीतर्फ झार्दै भीमकाली गुल्मको टोली। साथमा सरोकारवालाको सहभागितामा पाथीभरा क्षेत्रमा वृक्षरोपण गरिंदैं। तस्बिरः खगेन्द्र अधिकारी /नागरिक

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ लाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षरोपण गर्न थालिएको छ।

पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वर्द्धन समितिको समन्वयमा नेपाली सेनाको यहाँ स्थित भीमकाली गुल्मले ३१ गते सम्मका लागि सफाई कार्यक्रम तय गरेको हो।  

काफ्लेपाटीबाट पाथीभरा मन्दिर सम्म सफाई अभियान सञ्चालन भईरहेको भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले जानकारी दिए। सेनाले ठूलो फेदीबाट मन्दिर सम्मको सफाईका क्रममा करिव ४ सय बोरा फोहोर संकलन गरेको जनाएको छ। गुल्मपति श्रेष्ठका अनुसार संकलित फोहोरमध्ये कम हिलो भएको र तत्काल बोक्न मिल्नेलाई काफ्लेपाटी सम्म झारिदैं छ।

हिलो भएको, धेरै भिजेको र तत्काल बोकेर तल सम्म ल्याउन नसकिने प्रकृतिको फाहोरलाई निश्चित ठाउँमा राखेर केहि समयपछि काफ्लेपाटी सम्म बोकेर त्यसपछि फुङलिङ नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र सम्म पुर्‍याउने योजना बनेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले काफ्लेपाटी सम्म आइपुगेको फोहोरलाई व्यवस्थापन गर्ने बारे फुङलिङ नगरपालिकासंग समन्वय भइरहेको जानकारी दिए। शिकारीडाँडास्थित नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रसम्म पुर्‍याएर फोहोर व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ। सफाई अभियान,फोहोर ढुवानी र वृक्षरोपण सहितका कार्यको स्थलगत समन्वयका लागि भीमकाली गुल्मले उपसेनानी निरञ्जन चौहानको नेतृत्वमा एउटा टोली पाथीभरा मन्दिर क्षेत्रमा खटाएको छ। यो टोलीले सफाई अभियानसंगै तत्काल बोक्न मिल्ने संकलित फोहोर काफ्लेपाटी सम्म ल्याउने छ। उपसेनानी चौहानका अनुसार संकलित फोहोरमध्ये करिव डेढसय बोरा फोहोर तत्कालै काफ्लेपाटी सम्म झार्न सकिन्छ। यसपछि बाँकी रहेको फोहोर र काफ्लेपाटीसम्म आइ पुगेको फोहोर व्यवस्थापनका कार्य सुरुहुने भीमकाली गुल्मले जनाएको छ।  

सफाई अभियानसंगै सेनाको टोलीले आसन्न म्याराथन तथा महोत्सवमा सक्रिय सहभागिता र यसको सफलताका लागि स्थानीय समुदायलाई सचेतीकरण गर्ने कार्य समेत गरिरहेको छ। पाथीभरा क्षेत्रका स्थानीय र दर्शन गर्न आउने भक्तजनलाई महोत्सवका बारेमा जानकारी गराई सहभागिताका लागि आमन्त्रण गर्ने कार्य समेत भइरहेको गुल्मले जनाएको छ।

पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वर्द्धन समिति र भीमकाली गल्म आउँदो असोज ११ गते देखि १३ गते सम्म हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका संयुक्त आयोजक हुन्। यसैबीच पाथीभरा क्षेत्र विकास समिति र संरक्षण समिति,डिभिजन वन कार्यालय,स्थानीय सामुदायिक वन उपभोक्ता समूह,पाथीभरा क्षेत्रका बासिन्दा र व्यवसायी तथा माथिल्लो फेदीमा रहेको प्रहरी चौकी समेतको सहभागितामा सो क्षेत्रका दुईवटा सामुुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ। मयाम पातल सामुदायिक वन उपभोक्ता समूह र सिम्बु सामुदायिक वन उपभोक्ता समूह समेतको सहभागितामा यि दुई वनक्षेत्रको खाली जग्गामा वृक्षरोपण गरिएको छ। 

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललितकुमार यादवले ति सामुदायिक वन क्षेत्रको माटो सुहाउँदो बिरुवा बितरण भएको बताए। लामो समय सम्म सामुदायिक वन क्षेत्रमा बिताएका जिल्ला समन्वय समिकिता उपप्रमुख कृष्णप्रसाद लिङ्खिम वृक्षरोपण पछि अबको दायित्व बिरुवाको संरक्षण र जर्गेनामा ध्यान दिनुपर्ने बताउँछन्। बिरुवा रोपण भएको क्षेत्रलाई बस्तुभाउबाट टाढै राख्ने,घेराबारा र हेरचाहमामा ध्यान दिने हो भने संरक्षणका लागि योगदान पुग्ने उनले बताए। पाथीभरा क्षेत्रमा हिउँको असरले समेत बिरुवा हुर्कनमा असर गर्ने गरेको बताइन्छ।

प्रकाशित: २९ भाद्र २०७९ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App