२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बालविवाह रोक्दै किशोरी समूह

विगत वर्षमा भन्दा कालिकोट जिल्लामा बालविवाह रोकिएको पाइएको छ। बालविवाह, छिटो विवाह, जबरजस्ती विवाह, यौन तथा प्रजनन स्वास्थ्य अधिकार जस्ता विभिन्न हिंसा न्यूनीकरण गर्न कालिकोटका गैरसरकारी संस्थाहरूले अभियान थालेपछि बालविवाह रोकिँदै गएको हो।  

आइतबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा बालविवाह रोकिँदै गएको तथ्यांक प्रस्तुत गरिएको थियो।  प्लान इन्टरनेनल नेपालको आर्थिक सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाललगायतका गैरसरकारी संस्थाहरूले कालिकोटमा बालविवाह तथा विभिन्न परम्परा्गत हानिकारक अभ्यास रोक्न गाउँगाउँमा किशोर किशोरी समूह, बालक्लब, युवाक्लब गठन गरेर जनचेतना फैलाउँदै स्थानीय सरकार र अन्य सम्बन्धित सरोकारवालासँग समन्वय गरेर काम गरिरहेका छन्।

हुरेन्डेक नेपालमार्फत बालविवाह बढी हुने क्षेत्रका रूपमा चिनिएका नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा हाल बालविवाह तथा परम्परागत हानिकारक अभ्यासविरुद्ध अभियानलाई तीव्रता दिन किशोर किशोरीहरू सक्रियरूपमा लागेका छन्।

‘हामी जसरी पनि बालविवाह रोक्नुपर्छ भनेर लागेका छौं,‘ रास्कोट नगरपालिका–२ सिओसी कक्षाका सहभागी तथा वडा युवा क्लबकी कोषाध्यक्ष दर्पना लुवारले बताइन्। उनले भनिन्, ‘कतिपय हाम्रै साथीको विवाहको कुरा चलिरहेको थाहा पाएपश्चात हामीले रोकेका छौं। रोक्छौं पनि।’ उनले आफूहरूको अभियानमा वडा कार्यालय र प्रहरीले पनि सहयोग गरिरहेको बताइन्। अब वडा युवाक्लबमार्फत पनि सशक्त रूपमा यस्ता खाले सामाजिक विसंगतिविरुद्ध अभियान सञ्चालन गर्ने उनको भनाइ छ।

सिओसी कक्षाका सहभागीले बालविवाह रोक्नका लागि चालेको कदमलाई आफूले पूर्ण सहयोग गरिरहेको रास्कोट नगरपालिका–२ का वडाध्यक्ष धुव्रराज सिंखडा बताउँछन्। ‘भाइबहिनीहरूले कसको घरमा बालविवाह हुन गइरहेको छ भन्ने पत्ता लगाउँछन्,’ उनले भने, ‘त्यसैको आधारमा हामी प्रहरीसहित गएर कानुनी कुराको साथै बालविवाहले पार्ने सामाजिक आर्थिक, मानसिक लगायतका असरबारेमा कुरा गर्छौं।’  

कालिकोटमा रणनीतिक योजनाको आधारमा बालविवाहविरुद्ध विभिन्न क्रियाकलाप गरिँदै आएका छन्। ‘बालविवाह रोक्नका लागि सबैभन्दा ठूलो कुरा जनचेतना हो,’ रास्कोट नगरपालिकका प्रमुख धर्मराज शाहीले भने, ‘हामी अहिले व्यापक रूपमा सचेतना फैलाउने काममा लागेका छौं,’ उनले कानुनी प्रावधान बारे जानकारी हुँदाहुँदै पनि कुनै व्यक्तिले अटेरी गरे कारबाहीको दायरामा ल्याउने समेत बताए।

प्रकाशित: २७ भाद्र २०७९ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App