१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दार्चुला बाढी अपडेट: एकै घरका चार जना बेपत्ता, एकको मृत्यु ११ घर पुरिए

डुङ्ग्री गाउँमा पसेको लस्कु नदीको बाढी। तस्बिरः नागरिक

शुक्रबार रातिबाट परेको अविरल वर्षा कारण लस्कु नदीमा आएको बाढीमा परी दार्चुलामा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।

नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोमा परेर स्थानीय ३० वर्षीया जानकी ठगुन्नाको मृत्यु भएको छ। यस्तै महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाउनुका साथै एकै घरका चार जना बेपत्ता भएका छन्।  

प्रहरीले दिएको प्रारम्भिक सूचना अनुसार महाकालीमा आएको उच्च बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर बग्नुका साथै एकै घरका चार जना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक जगत गाहामगरले दिएको जानकारी अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमा समेत क्षति पुगेको छ।  

अहिलेसम्म लस्कु नदीले गाउँको एक विद्यालय, ११ वटा घर, दुई पुलका साथै केही सवारी साधन समेत बगाएको प्रहरीले बताएको छ। रातिको अविरल वर्षाकै कारण जिल्लाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ।  

प्रहरी चौकीदेखि करिब ३ घण्टाको पैदल दूरीमा सल्ला गाउँ रहेकाले के कति क्षति पुगेको छ थप विवरण नआइसके पनि स्थानीयका अनुसार गाउँमा ठूलै क्षति पुगेको बताइएको प्रहरीले जनाएको छ। ‘सल्ला गाउँ प्रहरी चौकीबाट टाढा रहेकाले एकिन विवरण आइ सकेको छैन,’ प्रहरी निरीक्षक गाहामगरले भने,‘उद्धार तथा विवरण संकलनका लागि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ।’

प्रकाशित: २५ भाद्र २०७९ ०३:५३ शनिबार

दार्चुला बाढी