१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा महानगरले हटायो पुराना संरचना

पोखराको महेन्द्रपुलका संरचनामा डोजर लगाउनुअघि आफ्ना सामान हटाउँदै व्यवसायी। तस्बिरः उमेश पुन/नागरिक

पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित आर्टग्यालरी र सार्वजनिक पुस्तकालय भएका भवन भत्काएको छ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित ती संरचना आफ्नो स्वामित्वमा रहेको महानगरले बताएको छ। आर्टग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका भवनका सटरमा डोजर चलाइएको छ। ती भवन जिर्ण रहेको महानगरको भनाइ छ।  

भवन तथा सटरमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीलाई ३५ दिनअघि सूचना दिएर खालि गर्न महानगरले भनेको थियो। ती मध्ये केहीले हटाएका थिए भने कतिपयले अटेर गरेका थिए। तर, महानगरपालिकाले ३६ औं दिनमा डोजर चलाएको हो।

महानगरका मेयर धनराज आचार्यका अनुसार अधिकांश व्यवसायीले सटर खालि गरिसकेका थिए। आर्ट ग्यालरी र पुस्तकालयको व्यवस्थापन महानगरपालिका आफैले गर्ने आचार्यले बताए। उनका अनुसार पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ।  

‘पृथ्वीचोकको भवनमा भुइँ तलामा सूचना केन्द्र हुन्छ, बीचको तलामा पुस्तकालय रहनेछ। त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ। त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौं,’ उनले भने।  

अहिले भवन भत्काएको ठाउँमा पार्किङ र बगैँचासहितको खुलापार्क निमार्ण गरिने उनले बताए। ‘हरेक वडामा एउटा खुला ठाउँ निर्माण गर्नुपर्छ भनेर हामीले अभियान सुरु गरेका छौं,’ उनले भने, ‘त्यही अनुसार नै आफ्नै स्वामित्वमा रहेको भवनबाट सुरु गरिएको छ। सेतीनदिको किनारमा संरचना बनाउन नदिने भनेर भनिरहेका छौं।’

भत्काइएका सरचना सेतीनदिको किनारमै पर्छन्। मेयर आचार्यका अनुसार महानगर आफैले बनाएका ती संरचना जोखिममा थिए। निकै नै पुराना ती संरचना जिर्ण भइसकेका थिए। ‘दुर्घटना पनि नहोस् र खुला ठाउँपनि होस् भनेर अहिले हामीले काम सुरु गरेका हौं,’ उनले भने।

वर्षौदेखि महानगरपालिकाको ती सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई एक वर्षको भाडा समेत छुट दिएर बाँकी बुझाउन पटकपटक ताकेता गरे पनि अटेर गरिएको उनले बताए। सटर हटाए पनि उठ्न बाँकी रकम नियमानुसार असुलउपर गरिने प्रमुख आचार्यले बताए। ती सटरबाट अहिलेसम्म १ करोड ८७ लाख रुपैयाँ बढी भाडा असुल गर्न बाँकी छ।

महानगरपालिकाले ताकेता गरेपछि केही व्यवसायीले झन्डै १० लाख रुपैयाँ बुझाएका छन्। तर, अरु रकम अझै बाँकी छ। पोखरा महानगरपालिकाभित्रका अवैध र कमजोर संरचना हटाउने अभियानको सुरुवात भएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए।

गैरकानुनी रुपमा बनेका संरचना हटाउन महानगर आफैले आफ्नो स्वामित्वमा रहेको भवनबाट सुरु गरेको उनले बताए। २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र आर्ट ग्यालरी पुरानो र जीर्ण अवस्थामा थियो। यो संरचना हटाउने भनेर अघिल्ला मेयर मानबहादुर जिसीकै पालामा निर्णय भएको थियो।  

प्रकाशित: २३ भाद्र २०७९ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App