८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बर्षाले सडक बिग्रिएपछि बारीमै थन्किए बाजुराका स्याउ

जुकोटमा फलेका स्याउ।

आवतजावतका लागि होस् की, सामान ढुवानीका लागि होस्, अथवा आर्थिक उपार्जनका गतिविधि सञ्चालन गर्न होस्, बाजुराका लागि प्रमुख समस्या नै सडक हो। दैनिक जीवन गुजाराका गतिविधि सञ्चालनको बाधक पनि सडक नै हो। न साँफे मार्तडी सडक सहज सञ्चालनमा छ, न त मार्तडी कोल्टी सडकको अवस्था सुधार हुने संकेत देखिन्छ। कर्णाली करिडोरको हालत समेत उस्तै देखिन्छ।

जुन समस्याले यहाँको जनजीवन अस्तव्यस्त छ। यहाँका स्थानीय महँगी र अभाव मात्र भोग्न बाध्य छैनन्, बारीमा उत्पादन गरेको तरकारी देखि फलफूल र अन्नपात समेत बजारसम्म पुर्याएर सहज बिक्री गर्न पाउँदैनन्। हरेक वर्षातमा करोड मूल्यको स्याउ बारीमै कुहिएको कथा, बाजुराका किसानसँग छ।

सधैंको सास्ती र समस्या नै सडक बनेको छ। सडक अभावकै कारण बारीमा फलेको स्याउ बारीमै थन्काउनु परेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन्। ज्ञान केन्द्रले अनुदान ढुवानी दिएर बजार पुर्याउने वातावरण निर्माण गर्दा समेत सडक अभावले सहज स्थिति बनिदिएको छैन, जैशीले भने।

कोल्टी सडक बर्षातका कारण अवरुद्ध छ। कर्णाली करिडोर नियमित छैन। ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै कुहिने चिन्ता किसानलाई छ। स्वामिकात्र्तिक, जगन्नाथ गाउँपालिकाबाट पीलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ।

ज्ञान केन्द्रले ३० रुपैँया प्रतिकेजी ढुवानी अनुदान दिने र धनगढी सम्म पुर्याउने गरि ढुवानी कर्ता खोजेको छ, तर त्यो सडक अभावले तत्काल संभव देखिदैन। एक हप्ता भित्र सडक सुचारु हुने अवस्था नआए आधा बढी स्याउ बारीमै कुहिसक्ने अवस्था रहेको स्याउ किसानको दुखेसो छ।

बाजुरामा १०५० मेट्रिक टन स्याउ उत्पादन हुने तथ्यांक छ। बारीमै १५ रुपैँया केजीमा बिक्री गर्दा पनि किसानको हातमा पौने २ करोड पर्नु पर्ने हो, तर किसानहरुले सडक समस्या कै कारण वर्षेनी नोक्सानी बेहोर्न बाध्य छन्। ४३ किलोमिटर मार्तडी कोल्टी सडकका लागि ३५ करोड बढी खर्च गरि सकिएको छ। भने थप कालो पत्रेका लागि अर्व बढी बढेको काम भइरहेको छ। तर बाटो सहज र सुचारु हुने अवस्था नै छैन।

सडक समस्याकै प्रत्यक्ष मार यहाँका गरिब तथा विपन्न समुदाय र गरि खाने किसान वर्गमाथि परेको छ।  कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष स्याउ उत्पादन बढेको छ। जिल्लामै रहेका साना बजार तथा व्यापारी केन्द्रमा समेत स्याउ पुर्याउन सकिएको अवस्था छैन्।  

करोडको स्याउ बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर पनि डेढ करोडको स्याउ उत्पादन हुने गरेको छ। तर पनि किसानले त्यसको २० प्रतिशत पनि मूल्य उठाउन पाउँदैनन्। बारीमा फलेर मात्र केही हुदैन्, न बजार छ न ढुवानीका लागि सडक नै, जुकोटका स्याउ किसानको साझा गुनासो हो।  

स्वामिकात्र्तिक खापर गाउँपालिका त्यसैमा जुकोटमा अत्याधिक स्याउ फल्ने गरेका छन्। जिल्लाको २ सय ३० हेक्टर बढी जमिनमा स्याउ खेती गरिएको छ। खेती गरिएको जमिनमा ७० हजारको संख्यामा स्याउका बोटहरु रोपिएका छन्। ती मध्ये ६० प्रतिशत बोटहरुमा स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुरासँग तथ्याकं छ।  

जिल्लाका स्वामिकात्र्तिक खापर र जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको छ। साविक जुकोट, वाई, पाण्डुसैन, जगन्नाथ, गोत्री, साप्पाटामा अधिकांशले स्याउ खेती नै गरेका छन्। अघिल्लो वर्षदेखि गौमुल गाउँपालिकामा समेत स्याउ उत्पादन हुन थालेका छन्।  

४८५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। त्यो मध्ये १७० हेक्टरमा स्याउ उत्पादन नै हुने गरेको छ। तीन वर्षको अवधिमा १ लाख ५० हजार बढी नयाँ स्याउका बोटहरु रोपिएका छन्। ती बोटहरुले फल दिन सुरु गरे उत्पादन दोब्बरले वृद्धि हुने अवस्था छ।  

स्थानीय तहसँग गरिबी हटाउने योजना नै भएनन्  

स्थानीय तहले गाउँ गाउँमा डोजर लगाएर सडक खनेका छन्। तर आवश्यकतालाई मध्येनजर गरिएको छैन। स्याउबाटै समृद्धी हुने अवस्था छ, तर त्यसमा कुनै स्थानीय तह र जनप्रतिनिधीको ध्यान छैन। मार्तडी कोल्टी सडक सुचार गरेपछि मात्र करोडको मूल्यको स्याउ जोगिने अवस्था छ।  

स्याउ बारी मै कुहीएका छन्। गाई भैसीलाई दिन पर्ने अवस्था छ। तर पनि सरोकारवाला मौन देखिन्छन्। कृषि ज्ञान केन्द्रले किसानलाई राहत स्वरुप तीन वर्ष देखि ढुवानी अनुदान दिने गरेको छ। पहिलो वर्ष ५ सय, दोस्रो वर्ष २ सय र यो वर्ष ३ सय क्वीन्टल स्याउ अनुदान दिने भनिएको छ।

तर पनि सडकको अवस्था सहज छैन। अन्तिममा खच्चडबाट ढुवानी गर्नु पर्ने बाध्यता भए, त्यो पनि थप चुनौतीको विषय हो। हामीले धनगढी पुरयाउने गरि अनुदान दिन लागिएको हो, तर बारीबाटै स्याउ किसानले बजारसम्म पुर्याउनै मुस्कील छ, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताएका छन्।

ज्ञान केन्द्रले ३० रुपैँया प्रति केजीका दरले करिब १० लाख बराबरको ढुवानी सुविधा दिने गरि सूचना जारी गरेको छ। २ हजार पीस कार्टुन भदौ २२ गते भित्र प्याकिङका लागि ढुवानी ठेक्का पाएकाहरुले संकलन गरेर स्याउ ढुवानी सुरु गर्ने सर्त राखिएको छ। तर सडक खुल्ने र सुचारु हुने कुनै अत्तोपत्तो छैन।

कोल्ड स्टोर बने, तर काम लागेनन्  

तीन वर्ष पहिलादेखि नै स्वामिकात्र्तिक खापर गाउँपालिकामा कोल्ड स्टोर निर्माण थालिएको हो। ३५ लाख बराबरको बजेट खर्च गरेर २ वटा स्वामिकात्र्तिक खापर गाउँपालिकामा स्याउ प्रसोधन केन्द्र भवन निर्माण समेत भएका छन्। तर प्रयोगमा नहुँदा थप समस्या देखिएको छ।

कोल्ड स्टोर सञ्चालनका लागि थ्री फेजको विद्युत लाइन चाहिन्छ, तर त्यो सुविधा गाउँपालिकामा छैन। भवन निर्माण भएपनि उदेश्य अनुरुप सञ्चालन गर्न नसकिएको कृषि ज्ञान केन्द्रले बताएको छ। मार्तडीमा पनि निर्माण भइरहेको छ। यसै असारमा सक्नुपर्नेमा हालसम्म पनि अधुरै छ।  

स्याउ बिक्री हुन नसक्नु पहिलो समस्या सडक भएपनि दोस्रो समस्या कोल्ड स्टोरको अभाव हो। भएका पनि सञ्चालन गर्न सकिएको छैन भन्नु अर्को जिल्लाका लागि दुर्दशा नै हो। कर्णाली नदीमा पुल नहुँदा स्वामिकात्र्तिक गाउँपालिकाले सिधै कोल्टी मार्तडी पठाउने वा अन्यत्र निर्यात गर्ने अवस्था छैन। बोकेरै भएपनि पीलुचौर पुर्याइएका स्याउ मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक नखुले त्यही थन्किने अवस्था छ।

किसानले बर्षेनी आर्थिक नोक्सानी बेहोर्दापनि राज्य जवाफदेही देखिएको छैन। सडक कै समस्याका कारण बाजुराका बजारमा पनि भारत र चीनबाट आएको स्याउ नै पाईने गरेको छ। बजारमा केहिले कहिँ आएपनि एकै दानाको २० रुपैँया बढी तिर्नुपर्ने उपभोक्तालाई बाध्यता छ। स्याउ किसानको वर्षेनी सुनिने गुनासो कसैले सुनेका छैनन्।

बारीमा प्रति केजी ४० देखि ५० बजारमा २ सय  

स्याउ किसानले ए ग्रेसकै स्याउ ५० रुपैँया प्रति केजी बिक्री गरिरहेका छन्। बि ४० र सि ३० रुपैँयासम्म पनि बिक्री गर्ने गरिएको छ। तर त्यही स्याउ बजार पुग्दा छुन नसक्ने मूल्यको छ। सडक समस्याकै कारण बारीमा ५ रुपैँया दाना पर्ने स्याउ बजारमा २५ रुपँैया तिर्नुपर्ने बाध्यता छ।  

कृषि ज्ञान केन्द्रले पनि धनगढी पुर्याउन खरिद गरेर ढुवानी अनुदान दिने स्याउ ए र बि ग्रेडको मात्र खरिद गरेको छ। ज्ञान केन्द्रले ३० रुपैँया अनुदान ढुवानी उपलब्ध गराउने छ। भने किसानले ए लाई ५० र बि लाई ४० रुपैँया प्रतिकेजी स्याउको मूल्य पाउने छन्। यसो गर्दा मात्र १५ लाख बढी मूल्यको स्याउ किसानले जिल्ला बाहिर पठाउने छन्।  

सडक सहज हुन सके यहाँका स्थानीय किसानले बारीमै करिब १ करोड बढीको स्याउ बिक्री गर्ने अवस्था छ। यहाँका आधा बढीको आर्थिक हैसियत स्याउकै कारण माथि उठ्ने देखिन्छ। तर त्यसका लागि निर्णायक पहल हुन अझै समय कुर्नुपर्ने छ।

प्रकाशित: १२ भाद्र २०७९ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App