१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

थारु समुदायमा ‘अट्वारी’ पर्वको रौनक

थारु समुदायको प्रमुख चाड मध्यको ‘अट्वारी’ पर्वको अवसरमा पश्चिम नेपालका थारु समुदायमा रौनक छाएको छ।  

यो पर्व थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी पछिको दोस्रो ठूलो पर्व हो। पाँच पाण्डव मध्यका एक पात्र 'भीम' को पुजाआजा गर्दै थारु समुदायले यो पर्व मनाउने गर्दछन्। यो पर्व आईतवारका दिन मनाईने भएकाले यसलाई थारु समुदायले अट्वारी भन्ने गर्दछन्। पाँच पाण्डव मध्यका भीम जस्तै ‘बलवान हुन पाउँ’ भन्ने कामना सहित यो पर्वमा थारु समुदायका पुरुषहरु व्रत बस्ने गर्दछन्।

थारु जानकारहरुका अनुसार यो पर्वलाई असत्यमाथि सत्यको बिजय प्राप्तिका प्रतिकको रुपमा थारु समुदायमा मनाईने गरिन्छ। ‘यो पर्व मुलतः असत्यमाथि सत्यको बिजय भएको उत्सवका रुपमा मनाईन्छ, 'थारु प्रजातान्त्रीक संघ दाङका अध्यक्ष लक्ष्मीमान चौधरीले भने 'मुलतः पाँच पाण्डव मध्यका भीमले लडाई जितेको उत्सवको खुशियालीमा अट्वारी पर्व मनाईने गरिएको हो।'

थारु जानकारहरुका अनुसार द्धापर युगमा पाँच पाण्डव मध्यका भीमले रोटी पकाईरहेका बेला पाँच पाण्डवको दानवहरुसंग युद्ध चल्यो। भीम तावामा पाक्दै गरेको रोटी छोडेर युद्धमा होमिए। भीमको बाहुबलकै कारण पाण्डवहरुले युद्ध जिते। 'भीमको बाहुबलका कारण त्यो बेलाको लडाईँमा पाँच पाण्डवको जीत भयो, लक्ष्मीमान भन्छन् 'यो जीतको खुशीयाली नै अट्वारीको उत्सव हो।' लडाई जितेपछि थाकेर फर्केका भीमले आँफूले तावामै छोडेको (एकोहोरो मात्रै पाकेको) रोटी खाएको थारु किंवदन्तीमा उल्लेख छ।  

भोकाएका भीमले एकोहोरो मात्रै पोकेका रोटी खाएको त्यो किंवदन्तीलाई थारु समुदायले अहिले पनि अनुशरण गर्ने गरेका छन्। उनिहरुले यो पर्वमा एकोहोरो मात्रै पाकेको रोटी प्रसादका रुपमा चढाउने गर्दछन्। 'युद्ध जितेपछि भोकाएका भीमले एकोहोरो मात्रै पाकेको रोटी खाएको मान्यतालाई थारु समुदायले अंगिकार गरेको छ,' शिक्षक समेत रहेको लक्ष्मीमानले भने 'भीमले एकोहोरो पाकेको रोटी खाएकै मान्यलाई अनुशरण गर्दै अहिले थारु समुदायले अट्वारीमा एकोहोरो मात्रै पाकेको रोटीलाई ठूलो प्रसादका रुपमा भीमलाई चढाउने गर्दछन्।'

रोटी खाईसकेपछि भीम खोलामा माछा मार्न गएको थारु किंवदन्तीमा उल्लेख छ। फलतः अहिले पनि थारु समुदायले अट्वारी पर्वमा खोलामा माछा मार्न जाने प्रचलन रहेको छ। अट्वारीको अघिल्लो दिन ब्रत बस्ने थारु समुदायका पुरुषहरुले अट्वारी पर्वमा चाहिने सबै चिजको जोहो गर्ने गर्दछन्। खोलामा गएर माछा मार्ने, घोँगी (थारु समुदायमा प्रचलित मासुजन्य जीव) को खोजी अघिल्लो दिन हुने गर्दछ। खानपान सहित पुजा सामाग्री अघिल्लो दिन जोहो भैसकेपछि आईतवार बिहान भाले बास्नु अघि उनिहरुले दर खाने प्रचलन रहेको छ।  

आईतवार निराहार ब्रत बस्नु पर्ने भएकाले थारु समुदायका नागरिकहरुले भाले बास्नु अघि दर खाने प्रचलन रहेको लक्ष्मीमानले बताए। आईतवार ब्रत बस्ने थारु समुदायका पुरुषहरुले बेलुका पख खोलामा गएर नुहाउने गर्दछन। त्यसपछि घरको बैठक कोठा लिपपोत गरि आगो बाल्न थाल्छन्। यो आगो काठमा काठ रगटेर निकाल्ने गरिन्छ। 'गन्यारी नामको काठ रगटेर आगो निकालिन्छ,’लक्ष्मीमानले भने ‘त्यहि आगोमा रोटी पकाईन्छ।’ यहि आगोमा एकोहोरो मात्रै रोटी पकाउने गरिन्छ। अनि भीमको पुजा गर्ने गरिन्छ। घरमा बनेको खानाको हरेक परिकार मध्य एक गास भीमलाई चढाउने गरिन्छ।

भीमको पुजाआजा पश्चात ब्रतालु पुरुषहरुले आफ्ना चेलीबेटीहरुलाई अग्रासन (पाहुर) दिने प्रचलन समेत रहेको छ। यसर्थ यसलाई उनिहरुले सद्भावको पर्व समेत मान्ने गरेका छन्। 'आफ्ना चेलीबेटीहरुलाई ब्रतालु पुरुषहरुले अग्रासन दिने प्रचलन रहेको छ' उनले भने 'घर भन्दा टाढा रहेको चेलीबेटीहरुलाई घरसम्मै पुगेर अग्रासन दिने गरिन्छ।

थारु समुदायले दोस्रो ठूलो पर्वका रुपमा मनाउने अट्वारी पर्वका अवसरमा दाङमा बिदा दिईएको छ। यहाँका स्थानीय तहहरुले यो पर्वमा बिदा दिने निर्णय गरेका हुन्। 

प्रकाशित: १२ भाद्र २०७९ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App