१६ चैत्र २०८० शुक्रबार
समाज

वीपीमा पूर्वरजिष्ट्रारले आवास छाडेन, नवनियुक्त रजिष्ट्रार टेन्ट टाँगेर बस्ने तयारीमा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले आवास (क्वार्टर) नपाएपछि टेन्ट टाँगेर बस्ने तयारी गरेका छन्।

करिब १० महिनाअघि पदबाट राजिनामा दिएका पूर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले रजिष्ट्रार बस्ने आवास नछोडेपछि नवनियुक्त रजिष्ट्रार डा.संगौला प्रतिष्ठान परिसरमा टेण्ट टागेर बस्ने तयारी गरेका हुन्। उनले प्रतिष्ठान परिसरमा रहेको वीपी कोइरालाको शालिक राखिएको क्षेत्रमा टेन्ट टाँगेर आवासको रुपमा प्रयोग गर्ने बताएका छन्। यसको लागि प्रशासनलाई निर्देशन दिइसकेका छन् भने अस्पताल प्रशासनले सम्बन्धित शाखालाई तयारी गर्न निर्देशन दिइएको जनाएको छ।

रजिष्ट्रार संग्रौलाले आज बेलुकी ५ बजेदेखि टेन्ट टागेर आवासकोरुपमा प्रयोग गर्न शुरुवात गर्ने बताएका छन्। यद्यपी, त्यो भन्दा अघि नै उपकुलपति डा.ज्ञानेन्द्र गिरीबाट आवश्यक केही पहल भएर आवास पाउने सुनिश्चितता भए उक्त कार्य रोकिनसक्ने पनि रजिष्ट्रार संग्रौलाको भनाई छ। ‘यो बिषयमा आज बिहान मात्र रेक्टर, डाइरेक्टर, शाखा प्रमुखहरुसँग संवाद गरेको छु, उहाँहरुले सुझाव पनि दिनुभएको छ। मैले पनि भिसि सरले कुनै ठोस कदम चाल्नु भयो भने रोकिन्छु, नत्र अघि बढ्छु भनेको छु’, रजिष्ट्रार डा.संग्रौलाले भने।  

रजिष्ट्रार डा.संगौलाले गत साउन १७ गते पदभार ग्रहण गरेका थिए। त्यसयता उनले आवास नपाएर लामो समय प्रतिष्ठानकै गेष्ट हाउसमा बसेका थिए। रजिष्ट्रारको हैसियतमा उनले पाउने आवासमा अहिलेसम्म पूर्वरजिष्ट्रारकै परिवार बस्दै आएको छ। लामो समय पदाधिकारी गेष्ट हाउसमा बस्दा गलत सन्देश जाने भएकोले अहिले आफू गेष्ट हाउसमा बस्न छोडेर विराटनगरस्थित घरबाट नै दैनिक रुपमा आउजाउ गरिरहेको रजिष्ट्रार डा.संग्रौलाले बताए। ‘भिसि सरले पूर्वरजिष्ट्रारलाई आवास खाली गर्न चिठी लेख्नुभएको छ, तर आवास खाली भएन। पदाधिकारी गेष्ट हाउसमा बसेर काम गर्न राम्रो सन्देश पनि जादैँन, त्यसैले अहिले ३ दिनदेखि घरबाट नै धाइरहेको छु’, संग्रौलाले भने।

यसअघि उपकुलपतिले पूर्वरजिष्ट्रार डा.रेग्मीलाई आवास खाली गरिदिन भनेर ७ दिनको म्यादसहित पत्राचार गरेका थिए। प्रतिष्ठान स्रोतका अनुसार पूर्वरजिष्ट्रार डा.रेग्मी त्यसविरुद्ध उच्च अदालत पुगे। अदालतबाट पनि उनको माग वमोजिम स्टे अर्डर नआएको र पुनः उपकुलपतिले ३ दिनको समय दिएर पूर्वरजिष्ट्रारलाई पत्राचार गरेका छन्। उक्त पत्रको जवाफ भने पूर्वरजिष्ट्रार डा.रेग्मीले नवनियुक्त रजिष्ट्रार डा.संग्रौलाको नाममा पठाएका छन्। पत्रमा आफू विदेश जाने, परीक्षा आएको, आफूलाई ए टाइप वा पूर्वउपकुलपति डा.आरके रौनियार बसेको आवास उपलब्ध हुनुपर्ने बिषय उल्लेख गरेको रजिष्ट्रार संग्रौलाले जानकारी दिए। ‘मैले आवासको कुनै विकल्प देखिन। जुनै टाइप भएपनि हुन्छ, टहरो भएपनि हुन्छ भनेको छु। त्यसैले भरै ५ बजेदेखि टेन्टमा नै बस्छु’, रजिष्ट्रार डा.संग्रौलाले भने।

 प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनालले समन्वय भइरहेकोले रजिष्ट्रार डा.संग्रौला टेण्ट टागेर बस्नुपर्ने स्थिति नबन्नेमा आफु आशावादी भएको बताए। ‘लामो समय क्वार्टर खाली नहुदा समस्या भएको हो। यो बिषय भिसि सरलाई पनि जानकारी छ, र समन्वय भइरहेको छ, ’रेक्टर डा.खनालले भने,‘पक्कै केही निकास निस्कन्छ।’

प्रकाशित: १२ भाद्र २०७९ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App