१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीको भजनीमा बसपार्क नहुँदा पार्किङको समस्या

कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क। जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन। कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन। बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालकहरू छन्।

बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ गर्नुपरिरहेको बसचालक कृष्ण चौधरी बताउछन्। 'बिहानै धनगढीका लागि भजनीबाट पालो पर्छ। राति भजनीमा बस्नुपर्छ।'उनले भने, 'रातभर बस सडकमा पार्किङ गर्नुपर्छ। रातको समयमा बसमा कसैले आक्रमण गर्ने हो कि भन्ने डर मनमा भइरहन्छ।' खुला सडकमा बस पार्किङ गर्नुपर्दा व्यवसायी निकै डराउने गरेका छन्'। उनले कैयौं सवारीधनी भजनी रुटबाट सवारी चलाउनै नमान्ने गरेको बताए।  

रातिका समयमा कतै आफ्नो सवारीसाधन तोडफोड हुने हो कि भन्ने त्रास रातभर हुने गरेको सन्तोष कठरिया बताउछन्। 'बिहानै भजनीबाट पालो परेको दिन साँझ भजनी गएर रात बस्नुपर्छ। आफ्नो बसाइ सुरक्षित भए पनि बस सडकमा पार्किङ गर्दा ध्यान रातभर सडकमै हुन्छ' उनले भने, 'बसपार्क भजनीका लागि निकै आवश्यक छ। आज बसपार्क नभएकै कारण बस व्यवसायी भजनी आउन नै मान्ने अवस्था छैन।' अहिले भजनीबाट छोटो दूरीमा धनगढी, नेपालगञ्ज र लामो दूरीका लागि काठमाडौँसम्मका लागि बस छुट्ने गरेको छ। छोटो दूरीमा २० देखि आधा घण्टाको फरकमा बस छुट्ने गरेको छ।

पूर्व–पश्चिम राजमार्गको सुखडबाट करिब २० किलोमिटरभित्र रहेको भजनी पुग्ने सडकको अवस्था पनि निकै नाजुक छ। एकपटक कालोपत्र भइसकेको सडकको अहिले पुनः मर्मतसम्भार भइरहेको छ। एकातिर सडकको समस्या र अर्को पार्किङको समस्याले भजनी बजारले विकासमा फड्को मार्न नसकेको स्थानीय भोजराम चौधरीले बताए।

बसपार्क नभएकै कारण बजार क्षेत्रमा पार्किङको समस्या भएपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। दैनिक सवारी चाप बढ्दै गएको छ। भजनी बजारमा व्यवसाय गर्दै आएका हरि देवकोटाको पसलको अगाडि प्रायः सवारीसाधन पार्किङ हुने गरेका छन्। पसलको अगाडि सवारीसाधन पार्किङ हुँदा व्यवसायमा समेत असर परेको उनले बताए। 'व्यवसायमा त असर परेकै छ, कैयौँ दुर्घटना आँखा अगाडि भएका पनि छन्', उनले भने, 'विकल्प छैन, सवारी चालक पनि रहरले नभई बाध्यताले पार्किङ गर्दै आएका छन्। ट्राफिक प्रहरी पनि निरीह बन्नुपरेको छ।'उनले बसपार्क नभएकै कारण भजनी क्षेत्रबाट सार्वजनिक सवारीसाधनको आवागमनमा कमी आएको भन्दै त्यसलाई स्थानीय सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए।

नगरपालिकाले बसपार्कका लागि महुल्याल सामुदायिक वनको खाली जग्गा प्रयोग गर्ने निर्णय गरेको थियो। सो निर्णय अहिलेको जनप्रतिनिधिले खोज्दा नभेट्टाएको नगरप्रमुख केवल चौधरीले जानकारी दिए। उनले भजनीको सबैभन्दा ठूलो समस्यामध्ये बसपार्क निर्माण नै भएको बताए। 'हामीसँग जग्गा भएको भए पनि सहजै काम अगाडि बढाउन सकिने अवस्था थियो। जग्गा छैन, कहाँ, काम कसरी अगाडि बढाउने ? ' उनले  भने, 'अहिले जग्गाको खोजी गरिरहेका छौँ। सम्भवतः जग्गा पाएलगत्तै बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँछौँ।'

उनले बसपार्क निर्माणका लागि धेरै बजेट चाहिने र नगरपालिकाको बजेटले निर्माण सम्भव नभएको जनाउँदै यसका लागि सङ्घीय सरकारसँग समन्वय पनि भइसकेको जानकारी दिए। 'हामीले सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ, उनले जग्गा यकिन भए बजेटमा समस्या नहुने प्रतिक्रिया दिए ' नगरप्रमुख चौधरीले भने, 'बसपार्कको विषयमा हामी निकै गम्भीर छौँ, लागिरहेका छौँ। आशा गरौँ बसपार्क निर्माण हाम्रै पालामा हुन्छ।'

प्रकाशित: १२ भाद्र २०७९ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App