७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

लागुपदार्थ ओसारपसारमा महिला

फाइल तस्बिर

कैलालीको पूर्वीक्षेत्रमा लागुपदार्थ ओसारपसारमा महिला संलग्नता बढ्न थालेको छ। प्रहरीका अनुसार यस कार्यमा भारतीय सीमा क्षेत्रबाट ल्याउनेदेखि बिक्री वितरणमा समेत महिला संलग्न रहने गरेका छन्।

भारतीय सीमा बजार तिकुनियाँमा घरायसी सामान ल्याउन भन्दै गएका केही महिलाले लागुपदार्थ ओसार्ने गरेको पाइएको छ। उनीहरूले लागुपदार्थ ओसारेवापत रकम पाउने गरेका छन्। प्रहरीका अनुसार महिलाले नै लागुपदार्थ बिक्री गरेवापतको रकम असुल्ने र भारतीय नागरिकलाई बुझाउने गरेका छन्।

यस्तै कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले टीकापुर नगरपालिका ७ दिव्यपुरकी २९ वर्षीया सुवासनी चौधरीलाई साउन २० गते पक्राउ गरेको छ। उनी विगत ५ महिनादेखि यस कार्यमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ। चौधरीले समेत आफू यस कार्यमा संलग्न रहेको स्विकारेकी छन्।

उनले भारतीय नागरिक प्रदिप सरदारबाट लागुपदार्थ खैरो हिरोइन ल्याउने गरेको बताएकी छन्। उनले सो सामान टीकापुर र लम्की क्षेत्रका केही व्यक्तिलाई बेच्ने गरेको बताइन्। उनले लम्कीकी एक महिलाले पटकपटक आफूसँग खैरो हिरोइन खरिद गरेर लगेको बताइन्। उनले टीकापुरमा समेत थुप्रै व्यक्तिलाई बेचेको बताइन्।

उनले प्रहरीसँगको बयानका क्रममा ती कुनै पनि व्यक्तिलाई आफूले नचिन्ने बताएकी छन्। ‘मोबाइलमार्फत कुरा हुन्थ्यो। आउँथे। पैसा बुझाएर सामान लैजान्थे’, उनले प्रहरीसँगको बयानमा भनिन्, ‘त्योभन्दा धेरै चिनजान भएन।’

उनले धेरैजसो समय भारतीय नागरिकले लागुपदार्थ सीमा क्षेत्रसम्म पुर्‍याउने गरेको बताइन्। पक्राउ परेको दिन भने उनले भारतीय सीमा बजार तिकुनियाँनजिकैको बन्दीपुरबाट लागुपदार्थ ल्याएको बताइन्। उनले सो दिन ३० ग्राम खैरो हिरोइन लिएर आएको बताइन्।

उनका अनुसार सो दिन भारतीय नागरिक सरदारले बन्दीपुरमै बोलाएका थिए। उनले लागुपदार्थ खुर्सानीको पोकाभित्र लुकाएर ल्याएकी थिइन्। उनलाई लम्कीबाट एक व्यक्तिले सामान लिएर टीकापुर आउन भनेका थिए। उनी १० ग्राम खैरो हिरोइन बोकेर टीकापुर पुगिन्।

उनले सो सामान हाट बजारनजिकै ती व्यक्तिलाई दिइन् र ४० हजार रूपैयाँ बुझिन्। लागुपदार्थ खैरो हिरोइन बिक्रीवितरण भइरहेको खबर इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी पायो। स्थानीय एक युवकले प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। ती युवक पूर्वदुव्र्यसनी हुन्। प्रहरीका अनुसार उनी केही समयदेखि चौधरीको सम्पर्कमा थिए।

प्रहरीले चौधरीलाई हाट बजार नजिकैबाट पक्राउ गर्‍यो। उनको साथबाट प्रहरीले ४० हजार रूपैयाँ मात्रै बरामद गर्‍यो। उनले प्रहरीसँग बाँकी लागुपदार्थ बाटोमा फालेको बताइन्। प्रहरीले लागुपदार्थ भेट्टाउन सकेन।  

पक्राउ परेकी चौधरीसँग लागुपदार्थ बरामद नभएपछि प्रहरीले तारेखमा छाडेको छ। उनले बयानका क्रममा लागुपदार्थ ओसारपसारमा संलग्न रहेको स्विकारे पनि प्रमाण नपुगेकाले छाड्नुपरेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। ‘उनले बयानका क्रममा सबै कुरा प्रस्ट भनेकी छन्। उनले भनेअनुसार अनुसन्धान गर्दा सबै कुरा छर्लङ्ग पनि भएको छ’, उनले भने, ‘चौधरीमाथि मुद्दा चलाउने आधार नै भएन।’

लागुपदार्थ ओसारपसार गरेवापत महिलाले प्रतिग्राम चार सयका दरले ज्याला बुझ्ने गरेका छन्। चौधरीले ३० ग्रामको १२ हजार रूपैयाँ आफूले बुझ्ने र बाँकी रकम भारतीय नागरिक सरदारलाई दिने सहमति भएको बताइन्। ‘आफ्नो ज्याला राखेर बाँकी रकम उसलाई बुझाउने सहमति भएको थियो’, उनले भनिन्, ‘यसअघिको सामान पनि यसैगरी बिक्री गर्थे।’

उनले लागुपदार्थ ओसारपसार गरेर कमाएको रकमले गाउँमा घर निर्माण गरेको बताएकी छन्। उनका पति ज्यालादारी काम गर्छन्। उनी प्रायः घरबाहिर बस्छन्। उनका ११ र ९ वर्षका गरी दुई छोरा छन्।

प्रहरीका अनुसार भारतीय नागरिकले लागुपदार्थ ओसारपसारमा यस्ता अन्य धेरै महिलालाई प्रयोग गर्ने गरेका छन्। उनीहरूले लागुपदार्थ लुकाएर ओसारपसार गर्न सहज र इमानदार हुने भएकाले महिला प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

गत वर्ष लम्की चोकमा फलफूल व्यापार गर्दै आएकी शाही थरकी एक महिला खैरो हिरोइनसहित पक्राउ परिन्। प्रहरीले अनुसन्धानका क्रममा उनको पूरै परिवार यस कार्यमा संलग्न रहेको पायो। अहिले पनि उनकी बुहारी लागुपदार्थ बिक्री वितरण गरेको आरोपमा जेलमा रहेको बताइएको छ।

यस्तै टीकापुर नगरपालिका १ ब्लक नं ६ की एक महिला लागुपदार्थ ओसारपसार गर्दागर्दै आफैं दुव्र्यसनमा फसिन्। उनी खैरो हिरोइनसहित पक्राउ परिन्।

टीकापुरमै कस्मेटिक पसल चलाएर बसेकी अर्की एक महिला पनि लागुपदार्थसहित पक्राउ परिन्। प्रहरीले उनी मात्रै नभई उनका पतिसमेत दुव्र्यसनमा रहेको पत्ता लगायो। उनीहरू केही समय जेल बसेर रिहा भइसकेको प्रहरीले जानकारी दिएको छ।

लागुपदार्थ दुव्र्यसन प्रहरीका लागि टाउको दुखाइ बनेको छ। धेरै युवायुवती लागुपदार्थ दुव्र्यसनको सिकार भइरहेका छन्। प्रहरीका अनुसार जसका कारण समाजमा आपराधिक क्रियाकलाप बढेको छ। प्रहरीलाई लागुपदार्थ दुव्र्यसन रोक्नु चुनौतीपूर्ण भइरहेको प्रहरी नायब उपरीक्षक शाही बताउँछन्।

उनले अभिभावकको लापरबाहीले समेत समाजमा लागुपदार्थ दुव्र्यसनको जालो फैलिएको बताए। ‘अभिभावक नै यसबारेमा गम्भीर छैनन्’, उनले भने, ‘प्रहरीको एक्लो प्रयासले लागुपदार्थ दुव्र्यसन रोक्न गाह्रो छ।’

प्रहरीको अनुसन्धानअनुसार कैलालीको पूर्वीक्षेत्र लागुपदार्थ दुव्र्यसनको अखडा बन्दै गएको छ। खुला सीमा क्षेत्रका कारण सहजै लागुपदार्थ ओसारपसार हुने गरेको छ। सीमा क्षेत्रमा बस्ने केही भारतीय नागरिकले नेपालतर्फ व्यापक मात्रामा लागुपदार्थ कारोबार गर्ने गरेका छन्। प्रहरीले कुन व्यक्तिले यस्तो काम गरिरहेको छ भन्ने जान्दाजान्दै पनि पक्राउ गर्न सकेको छैन।

प्रकाशित: ११ भाद्र २०७९ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App