ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाभरीका प्रत्येक वडाका नागरिकहरूको घर–घरमा पुगी स्वास्थ्य परीक्षण तथा उपचारको प्रबन्ध गर्न ‘नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम’ सुरु गरेको छ।
सुगर,प्रेसर लगायतका थाहै नपाई लाग्ने रोगहरूको असरबाट नागरिकलाई बचाउन वडा नं २ को औंसीडाँडाबाट आइतबार कार्यक्रम सुरु गरिएको पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए। उनका अनुसार प्रत्येक वडाका घर–घरमा स्वास्थ्यकर्मीहरू पुगेर नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने तथा अत्यावश्यक औषधि समेत वितरण गर्ने कार्यक्रम सुरु भएको छ।
अध्यक्ष सुब्बाले यस पहिले पालिकाले सञ्चालनमा ल्याएको ज्येष्ठ नागरिक स्वास्थ्य शिविरका क्रममा अधिकांश मानिसहरूमा सुगर,प्रेसर लगायतका स्वास्थ्य समस्या भएको थाह पाएपछि पालिका भरीका नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारका लागि नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम अघि सारिएको जानकारी दिए।
नागरिकहरूमा थाहै नपाई देखा पर्ने स्वास्थ्य समस्याको विकराल अवस्था अन्त्यका लागि पालिकाका ६ वटै वडाका नागरिकहरूका घर–घरमा पुगी स्वास्थ्य परीक्षण तथा उपचारको प्रबन्ध गरिएको पालिकाले जनाएको छ। पालिकाले वडा तहको कार्यक्रम सञ्चालन तालिका बनाई स्वास्थ्यकर्मी बिहान देखि साँझ सम्म स्वास्थ्य परीक्षण तथा उपचारमा खटिने जानकारी दिए।
कार्यक्रम शुभारम्भ कार्यक्रममा पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरे, वडा नं २ का वडाध्यक्ष बलुराम मेन्याङ्वो लिम्बू सहितको उपस्थिति रहेको थियो।
प्रकाशित: १० मंसिर २०८१ १६:४९ सोमबार