१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालेन्द्र भन्छन्– मैले के बिराएँ?

‘उहाँले आफ्नै नक्सा मसँग माग्नु भयो,’ नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएपछि मेयर बालेन्द्र साहले बिहीबार अपराह्न सामाजिक सन्जालमा लेखेका छन्, ‘मैले कार्यालय गएर नक्सा र डोजर लिएर गए। मैले के बिराएँ।’

महानगरका अनधिकृत संरचना भत्काउनेक्रममा बिहिबार मेयर बालेन्द्र साह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगे। पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको भन्दै साहले अल्फासबिटा समूहका सञ्चालक द्विराज शर्मासंग नक्सा देखाउन आग्रह गर्दै नभए संरचना हटाउन माग गरे। तर शर्माले भवन निर्माणको नक्सा आफूसँग नभएको बरु महानगरले ल्याउनुपर्ने बताएपछि मेयर साह र शर्मावीच चर्काचर्की समेत भयो।

‘तपाईको नक्सा मैले ल्याउनु पर्ने ?,’ भन्दै साह झर्किँए। अनि शर्माले पनि ‘किन डन जस्तै व्यहवार गरेको,’ भन्दै साहसँग रिसाए। त्यहाँबाट फर्केका मेयर साह कार्यलय आए नक्सा बोके र फेरि अल्फाबिटा पुगे। तर यसपटक उनले नक्सा मात्र हैन सँगै डोजर पनि लिएर गए। अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि नक्सा र डोजर लिएर आएका मेयरले तत्कालै ती अवैध संरचना भत्काए।

संरचना भत्काएलगत्तै साहले अब उपरान्त यस्तो गर्न नपरोस् भन्दै सबैले आफैं बुझेर अवैधानिकरूपमा बनाइएका संरचना हटाइदिन सामाजिक सन्जालमार्फत अनुरोध गरे। ‘नक्सा जसरी पास भएको छ,’ उनले लेखेका छन्, ‘त्यही अनुसार बनाइ दिनु होला।’ सोमबारबाट सुरु भएको अवैध संरचना भत्काउने महानगरको अभियान बिहीबारसम्म आइपुग्दा निकै चर्चामा छ।

काठमाडौं महानगरपालिकाले ‘पार्किङका लागि बनाइएका संरचना पार्किङका लागि नै प्रयोग गर्न’ गरेको आग्रह अटेर गरेको भन्दै त्यस्ता संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ। अण्डरग्राउण्डमा रहेका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न निकालिएको ३५ दिने सूचना कार्यान्वयन नभएपछि सोमबारबाट कारबाही सुरु गरेको महागनरले बिहीबार अभियानलाई थप तीव्रता दिएको छ।

अल्फाबिटाका सञ्न्चालकले दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि नक्सा र डोजर लिएर आएका मेयरले तत्कालै अवैध संरचना भत्काइदिए।

बुधबार बिहानसुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा रहेका अनधिकृत संरचना भत्काएको महानगरले सोही साझ दरबारमार्गमा पुगी त्यहाँ रहेको मात्सुरी टोक्यो क्याफे र लन्डन पबको सामान हटाउन निर्देशन दिएको थियो। काठमाडौं महानगरपालिकाले पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गर्न बारम्बार आग्रह गरेको छ।

सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुने र सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुने महानगरले विश्वास छ। ‘यो अभियानले पक्कैपनि सडक व्यवस्थापनमा सहजता ल्याउने छ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘अहिले केहीलाई अप्ठेरो देखिएपनि सग्रमा नगरबासीको जीवनमा सहजता ल्याउने छ।’ कपितय व्यवसायीले दशैसम्मको लागि रोकिदिन आग्रह गरे पनि महानगर एक्सनमा उत्रिसकेकोले अव यो नरोकिने मानन्धरले बताए।

मेयर साहले पनि जानकारी दिएरै काम अगाडि बढाएको बताएका छन्। ‘हामीले एक्कासि अनधिकृत संरचनाहरू भत्काउन सुरु गरेका होइनौं, ३५ दिने सूचना जारी गरेका थियौँ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ।’

अनधिकृत संरचनाहरूप्रतिको महानगरको अनुगमन लगायतका गतिविधि सँधै रहने बताउँदै उनले अनधिकृत संरचनाहरू नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरू आफैंले भत्काउन आग्रह गरेका छन्। उनले अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेका छन्। साथै, त्यस्ता संरचना भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्‍याएबापत् हुनसक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने साहले बताएका छन्।

काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रमूख डिआइजी मिरा चौधरीले अनधिकृत संरचना हट्दा यसले ट्राफिक व्यवस्थापनमा निकै सहजता ल्याउने बतार्इंन्। ‘उदाहरणको लागि, दरबारमार्गमा पार्किङ गरिएका सवारी त्यसैक्षेत्रमा रहेका भवनका अन्डरग्राउन्ड पार्किङमा रहने छन्,’ उनले भनिन्, ‘यसैगरी, न्युरोड, बानेश्वर सबैतिरको समस्या समाधान हुन्छ।’ ‘पार्किङका लागि बनाइएका संरचना अन्य प्रयोजनमा लगाईएका कारण अहिलेका कारबाही आवश्यक रहेको उनले सुनाइन्।

चौधरीले भनेजस्तै यातायात विज्ञ आशिष गजुरेलले सहरमा रहेका सबै व्यापारिक भवनले अन्य प्रयोजनमा आएका आफ्ना पार्किङ खालिगरेर पार्किङकै लागि प्रयोग गरेमा यो समस्या केही हल हुने बताउँछन्। ‘अनधिकृत संरचना भत्काएसँगै पार्किङको समस्या पनि समाधान हुने आशा छ,’ उनले भने, ‘तर निरन्तर अनुमगन भने जरुरी रहन्छ।’

बुधबारजस्तै बिहीबार पनि मेयर साह पसल पसल पुगेर व्यवासायीलाई संझाउँदै पसल खाली गराउँदै हिँडे। उनले गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति नै दोषी भएको बताउँदै व्यवसायीलाई सम्झाउने गरेका छन्। ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ,’ उनले हरेकजसो पसलमा पुग्दै भन्ने गरेका छन्, ‘यो तपाईहरूको हैन, अनधिकृत उपयोग गर्ने घरधनीले निम्ताएको समस्या हो।’

प्रकाशित: १० भाद्र २०७९ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App