१२ आश्विन २०७९ बुधबार
समाज

निहारिकाको मुद्दामा उच्च अदालतको आदेशः पीडितबाट जन्मेको छोरा र प्रतिवादीको डिएनए परीक्षण गराउ

डिएनए परीक्षणको माग राख्दै जनकपुरदेखि काडमाडौँसम्म अनसन गर्दै आएकी सोनलीकुमारी सिंह (निहारिका राजपुत) को मुद्दामा उच्च अदालत जनकपुरले डिएनए परीक्षण गर्न आदेश गरेको छ।

न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार पीडिताबाट जन्मिएको बचाको र प्रतिवादीको डिएनए परीक्षण गर्न राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटार पठाउन आदेश गरेको छ।

जिल्ला अदालत धनुषाका तत्कालीन न्यायाधिश परशुराम भट्टराईको एकल इजलासले गत माघ २४ गते शिवराजलाई सफाइ दिएको थियो। आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिका उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्। प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई एक साताअघि नै जनकपुरधामबाट पक्राउ गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ। डिएनए परीक्षणसहित पाँच बुँदे माग राख्दै निहारिकाले साउन २० गतेदेखि काठमाडौँमा गरेको अनसन गत सोमबार सरकारसँग सहमतिपछि तोडेकी थिइन्।

निहारिकाको लडाइँ

महोत्तरीको जलेश्वर नगरपालिका–८ की १९ वर्षीय सोनालीकुमारी सिंह (निहारिका राजपुत) सानैदेखि जनकपुरस्थित मोनास्टिक स्कुलमा पढिन्। पछि उनी मोनास्टिक छोडेर हिमालय स्कुलमा पढ्न थालिन्। एसइईपछि उनी जनकपुरधामस्थित राजश्री कलेजमा कक्षा ११ मा नामांकन गराइन् र पढ्न थालिन्। कक्षा ११ पढ्दा स्कुलदेखिसँगै पढेकी धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरकी साथीको घरमा उनको आउजाउ बाक्लिन थाल्यो।

निहारिकाको साथीको दाई शिवराज श्रेष्ठसँग पनि उनको चिनजान गाढा हुन थाल्यो। शिवराज निहारिकालाई मन पराउन थाल्यो। शिवराजले निहारिकालाई मन पराएको कुरा तीन चार महिनापछि निहारिकालाई प्रेम प्रस्तावमार्फत व्यक्त गरे। मधेसी समुदायको प्रतिष्ठित परिवारककी निहारिका शिवराजको प्रेम प्रस्तावबाट लजाइन्। उनी जवाफ नफर्काइ जनकपुरधाम फर्किन्। तर उनको घरमा आउजाउ चलिरह्यो।

साथीसँग घर गएको बेला शिवराजले निहारिकाको खानेकुरामा नशालु पदार्थ हालिदिएछ। त्यो खाएर उनी अर्धचेत भइन्। अर्धचेत भएपछि शिवराजले आफूलाई बलात्कार गरी भिडियो बनायो। यो कुरा उनले आफ्नी साथीसँग साझा गरिन्। तर साथीले आफ्नो दाई शिवराजकै साथ दिइन्। र उनीसँग टाढिन पुगिन्। पछि त्यही भिडियो सार्वजनिक गरिदिने डर देखाएर शिबवराजले निहारिकालाई बलात्कार गरिरहे।

२०७६ कात्तिक ६ गते साँझ धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका २२ वर्षीय शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ चैत २ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराइन्। ‘मलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्‍यो,’ उनी भन्छिन्, ‘त्यतिबेला उसले विभिन्न फोटो खिचेको रहेछ। कसैलाई बताए सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्ने धम्की दिएको थियो उनले भनिन्,‘ त्यसैले १४ दिनसम्म चुपचाप बसेँ।’

सम्पन्न राजपुत परिवारकी कान्छी छोरी निहारिकाले १४ दिनपछि हिम्मत जुटाएर परिवारका सदस्यलाई आफू साथीको दाईबाट बलात्कृत भएको बताइन्। तर, परिवारले घटना बाहिर ल्याउन मानेन र उनी पुनः चुप बसिन्। ‘महिनावारी रोकिएपछि समाजमा इज्जत जाने डरले परिवारले गर्भपतन गराउन भनेको थियो,’ उनले भनिन्, ‘मैले मानिनँ।’ परिवारले भनेको नमानेपछि उनी बहिस्कृत भइन्। उनी भन्छिन्, ‘परिवारबाट बहिस्कृत भएरै ०७७ भदौ ५ छोरालाई जन्म दिएँ।’

निहारिकालाई उनका परिवारले इज्जत जाने डरले मलाई घटना भएको करिब पाँच महिनासम्म घरमै चुप लगाएर राखे। पछि निहारिका गर्भवत्ती भएको थाहा पाएपछि परिवारले गर्भ फाल्न कर गरे। समाजिक प्रतिष्ठा सखाप हुन्छ भन्दै परिवारले निहारिकालाई घटना बाहिर नलग्न निकै दाबाव दिए। तर उनी न्यायका लागि लड्ने जिद्ध छाडिनन्। घटना बाहिर ल्याए परिवारसँग नाता टुट्ने डर देखाउँदा पनि निहारिका मानिन्। दोषीउपर कारबाही गराउन अघि बढेरै छोड्छु भनेर उनी अघि बढिन्।

न्यायका लागि बाहिर निस्किदा निहारिका घरबाट सदाका लागि बाहिरिन पुगिन्। दोषीलाई कारबाहीका लागि अघि बढ्दा उनको परिवार पछि छुट्यो। उनी घर र परिवारबाट अलग्गीन पुगिन्। न्याय माग्दै प्रहरीमा पुग्दा परिवारबाट दूर हुन पुगेकी निहारिका समाजबाट पनि बहिस्कृत भइन्। बलात्कृत महिलालाई मधेसी समाजले हेर्ने दृष्टिकोण विभेदकारी रहेको निहारिका बताउँछिन्। दोषजती महिलामाथि थोपरेर पुरुषलाई चोख्याउने समाजबाट मैले साथ पाइन, उनले भनिन्।

प्रतिष्ठा बचाउन भन्दै छोरीलाई एक्लै लडाइँमा छोड्नु अुनचित भएको समाजिक विश्लेषक प्राध्यापक रजनिकान्त झा बताउँछन्। मधेसी समाजमा देखिएको यो निर्दयी घटना हो उनले भने,‘ कथित समाजिक इज्जतको नाममा आफ्नै सन्तानसँग नाता तोड्नु असमाजिक कार्य हो। दुःखका बेला साथ दिनुपर्ने परिवारले साथ छोड्दाको क्षण कति पीडादायी हुन्छ त्यो निहारिकाले मात्र अनुभूत गर्दै होलिन्। परिवारले साथ नदिएपछि समाजले पनि चासो नलिने मधेसी समाजको दुर्गुन हो, उनले भने। निहारिकाको घटनाले मधेसको परिवार, समाज र सरकारको यथार्थ  चित्र छताछुल्ल पारिदिएको उनले बताए। यो समाज कति निर्दयी हुँदै गएको छ भने जीवित उदाहरण निहारिका हुन।’

एक्ली योद्धा

घर, परिवार र समाजले साथ छोडेपछि एक्लै न्यायका लागि लड्न थालेको झण्डै तीन वर्ष भयो। तर निहारिका थाकेकी छैनन्। न्याय माग्दा सरकारले समेत साथ नदिएपछि पनि उनी हरेस खाएकी छैनन्। बरु अझ जब्बर भएर न्यायका लागि डेग (पाइला) अघि बढाइरहेकि छिन्। उनी दुई वर्षे छोरालाई काँखी च्यापेर जनकपुरदेखि संघीय राजधानी काठमाडौँसम्म न्यायका लागि संघर्ष अघि बढाएकी छिन्। सरकारदेखि राष्ट्र प्रमुखको महल अगाडि चित्याएर उनी निसाफ मागिरहेकी छिन्।

‘मेरो मुद्दालाई अदालतले ढिलाइ मात्रै गरिरहेको छ,’ उनले भनिन्, ‘अदालतको फैसला कुरेर कहिलेसम्म बस्ने?’ न्यायका लागि भएजती सबैको ढोका ढकढक्याएँ। कतैबाट न्याय पाउने आशा नपलाएपछि राष्ट्रप्रमुखको महल अगाडि आत्मदाह गर्ने निर्णयमा पुग्न बाध्य भएँ, शिक्षण अस्पतालमा उपचाररत्त निहारिकाले नागरिकसँग भनिन्, ‘न्याय पाउन म मर्नु पर्ने हो भने मर्न तयार छु? म हारेर जिउनु भन्दा मर्न तयार छु।’ अदालतको आदेशपछि न्याय पाउने आशा पलाएको निहारिकाले नागरिकसँग भनिन्, 'अब म र मेरो छोराले न्याय पाउने भरोसा जागेको छ।,'

प्रकाशित: ८ भाद्र २०७९ १९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App