१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

चुरोट खाँदा सय जरिवाना

काठमाडौं- सार्वजनिक थलोमा चुरोट खाँदा होश गर्नुस् है, नत्र सय रुपैयाँसम्म जरिवाना तिराइमा पर्नु होला! बिहीबारदेखि प्रहरीले सार्वजनिक थलोमा चुरोट सेवन गर्नेलाई कारबाही थालेको छ। बिहीबारै मात्र ५ सय जनालाई प्रहरीले कारबाही गरेको हो। प्रहरीले विद्यालय, सार्वजनिक सवारी लगायतका सार्वजनिक क्षेत्रमा चुरोट सेवन गर्नेलाई ठाउँका ठाउँ कारबाही गरेको हो।महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी विक्रम थापाका अनुसार काठमाडौंका १३ वटा वृत्तलगायत अन्य प्रहरी कार्यालयबाट टोली खटाएर कारबाही थालिएको हो। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार उनीहरूलाई स्थलगत रुपमै एक सय रुपैयाँ तिराएर कारबाही थालिएको हो।

'लागु पदार्थ सेवन गर्ने पहिले खुड्किलो भनेकै सुर्तीजन्य पदार्थको सेवन गर्नु हो,' थापाले भने, 'त्यसैले यसलाई रोक्न युवाहरूलाई अहिलेदेखि नै चेतनाको खाँचो छ।'

उनका अनुसार तीन महिनादेखि सम्झाउँदै आएकामा विहीबारदेखि कारबाही थालिएको हो। अहिलेसम्म ५० वटा विद्यालयमा सुर्तीजन्य पदार्थ सेवन नियन्त्रणको कार्यक्रम प्रहरीले आयोजना गरिसकेको छ।

सार्वजनिक स्थानबाहेक होटल तथा रेस्टुराँमा पनि जहाँ पायो त्यहीँ सेवन गर्नेलाई कारवाही थालिने उनले बताए। 'रेस्टुराँमा पनि सर्वसाधारणहरु हुन्छन्, त्यसैले कुनै एकले सेवन गर्दा अन्यलाई असर गर्छ,' उनले भने, 'यसकारण रेस्टुराँवालाहरूलाई पनि सेवनका लागि छुट्टै क्षेत्रको व्यवस्था गर्न लगाइसकेका छौं।' केही दिनपछि रेष्टुराँहरूमा पनि अनुगमन गरिने उनले जानकारी दिए।

परिसर अन्तर्गतको न्युरोडस्थित जनसेवा वृत्तले पनि कारबाही सुरु गरिसकेको छ। वृत्त प्रमुख डिएसपी विनोद घिमिरेले हनुमानढोका दरबार क्षेत्र, झोछेँ टोल र भोटेबहालमा कारबाही गरिएको जानकारी दिए। ती क्षेत्रबाट विहीबार मात्र ३७ जनालाई कारबाही गरिएको उनले बताए।

'हामीले विद्यालय र कलेजहरूमा पनि जनचेतना कार्यक्रम गरिरहेका छौं,' घिमिरेले भने, 'अहिले ४ वटा विद्यालयमा चेतना अभिवृद्धिको काम गरिसकेका छौं।'

त्यसैगरी नयाँ बानेश्वर वृत्तका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरियाले आफ्नो क्षेत्रमा ३० जनालाई कारबाही गरिएको नागरिकलाई जानकारी दिए।

प्रकाशित: १३ फाल्गुन २०७२ २१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App