१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि त्रास

फाइल तस्बिर

कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।  

रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो। कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जंगली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताइन्।  

ती हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएको। सो क्षेत्रमा हरेक वर्षको हिउँद महिनामा जंगली हात्ती देखापर्ने गरेका छन्। तर यस वर्ष चाँडै नै हात्ती गाउँमा प्रवेश गरेको उनको भनाइ छ।

यसअघि पनि जंगली हात्ती मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, अन्नपात खाने, नष्ट गर्ने गरेको जनाउँदै हात्ती देखिए प्रहरीलाई खबर गर्न र संयमित रही सुरक्षित भएर बस्न नगरउपप्रमुख देवकोटाले आग्रह गरिन।  

राति जंगली हात्ती निस्किएको र भर्खरै थाहा भएकाले त्यस क्षेत्रमा बुझ्न प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मानवीय क्षति नभएको र अन्य क्षतिको अवस्था भने प्रहरी पुगेपछि मात्र भन्न सकिने कार्यालयले जनाएको छ।  

दिउँसोमा जंगली हात्ती नदेखिने र रातको समयमा हात्ती देखिँदा स्थानीयमा त्रास वर्षौँदेखि रहँदै आएको छ। हात्तीका कारण मानव बस्ती असुरक्षित भएको जनाउँदै समस्याको समाधान गर्न स्थानीयले वर्षौँदेखि माग गर्दै आएका छन्। विगत केही वर्षयता जंगली हात्ती मानव बस्तीमा प्रवेश गरी भौतिक संरचना तथा अन्नपात गरी २२ लाख ७२ हजार तीन सय ९५ क्षति गरेको छ। पशु, बाली, अन्न, घरगोठलगायतमा हात्तीले क्षति गरेको छ।रासस

प्रकाशित: ७ भाद्र २०७९ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App